युवाको सहयोग : मजदुरलाई राहत 

रासस

चन्द्रौटा

शिवराज नगरपालिका बनकट्टीकी शान्ति परियारले मजदूरी गरेर जिविकोपार्जन गर्दै आएका थिए। मुलुकमा लकडाउन भएपछि उनलाई जिविकोपार्जनमा समस्या भएको छ। 

ज्यालादारीमा काम गरेर घरखर्च चलाउँदै आएको उनको परिवारलाई अहिले साँझबिहान के खाने भन्ने चिन्ता छ। तर चन्द्रौटाका युवाले अति आवश्यक सामग्री सहयोग गरेपछि उनलाई केही राहत मिलेको छ। चामल पिठो, दाल, तेल, मसला, आलु, साबुन लगायतका दैनिक उपभोग्य सामग्री पाएपछि केही दिनका लागि भोकै बस्नु नपर्ने परियारले बताइन्।

उनी मात्र होइन, शिवराज नगरपालिका—५ कुदरवेटवाका कुल्लु चमारलाई पनि कोरोना भाइरसको सङ्क्रमण लागेर मर्नुभन्दा जिविकोपार्जनको चिन्ता बढी छ। 

'रोग आयो भन्ने हल्ला सुनेको छु, तर मलाई यही रोगका कारण काम गर्न नपाउँदा परिवार पाल्न समस्या छ', उनले दुखेसो पोखे, 'दाल चामल सहयोग आएको थियो, त्यसैले धानेको छु, काम गरेर खाने मान्छेलाई अहिले सारै समस्या प¥यो।' युवाको राहत सामग्री पाएपछि उनलाई पनि केही राहत मिलेको छ। 

शिवराज नगरपालिका—८ का खेतुलाल रानालाई पनि छाक टार्न मुस्कील छ । काम गर्न गएका छोराछोरीहरु पनि अलपत्र परेको गुनासो गर्दै उहाँले स्थानीय सरकारले केही राहत दिए सहज हुने बताए। वडा अध्यक्ष मार्फत नगरपालिकासँग भोक भोकै मर्न नपरोस भनेर राहत माग गरेको उनको भनाइ छ। तत्कालका लागि भने चन्द्रौटाका युवाले दिएको खाद्यान्नले गुजारा चलेको रानाको भनाइ छ। 

शिवराज नगरपालिका— ५ चन्द्रौटाका युवा बिजय जयसवाल र विष्णु हमालले ३२ परिवारलाई राहत सामग्री वितरण गरेका हुन्।  राहत सामग्री वितरणले मजदूरहरुलाई केही दिनका लागि छाक टार्न सहज भएको छ। गाउँमा बस्ने मजदूरहरुलाई बजार आउन समस्या र आतिआवश्यक सामग्री खरिदका लागि रकम नहुँदा उनीहरुको दैनिकी चलाउन समस्या भइरहेको छ। 

त्यस्तै युवा मेनाज खानको नेतृत्वमा नगरका सौनी, डिहवा, बरगदवा, कुदवेटवा, गडगौडा, प्रसिया, बनकट्टी लगायतका ठाउँमा रहेका अतिविपन्न ३२ परिवारलाई राहत वितरण गरिएको छ। राहत पाएपछि मजदूरहरु खुशी भएपनि लकडाउनको समयअवधि थपिएको अवस्थामा परिवार पाल्न समस्या हुने उनीहरुको गनासो छ। दैनिक काम गरेर खाने परिवारहरुको अहिले अवस्था नाजुक देखिएकाले विभिन्न व्यक्तिसँग सहयोग मागेर राहत वितरण गरिएको खानले बताए। 
 

प्रकाशित मिति: : 2020-04-02 17:28:14

प्रतिकृया दिनुहोस्