‘कोरोना भाइरस सङ्क्रमण उपचार कोष’

रासस

नेपालगञ्ज

कोरोना भाइरस(कोभिड—१९)विरुद्धको अभियानलाई प्रभावकारी बनाउन बाँकेको नरैनापुर गाउँपालिकाले ‘कोरोना भाइरस सङ्क्रमण उपचार कोष’ खडा गरेको छ। 

गाउँपालिकाले रु १५ लाखको कोष खडा गरेर आजदेखि खाता सञ्चालन गरेको प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिए। 

कोषमा व्यक्तिगत रुपमा रु २५ हजार जम्मा गरेका सो गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सहयोगीबाट सक्दो रकम जम्मा गरेर कोरोना विरुद्धका अभियान सफल पार्न आग्रह गरे। 

उनले गाउँपालिकाको नरैनापुरस्थित सनराइज बैंकको खाता नम्बर ०७४०४८८०८७७०१००५ मा रकम जम्मा गरी सहयोग गरिदिन हुन सबैमा आग्रह गरे। 

'गाउँपालिकामा कोरोनाको सङ्क्रमण रोक्न तथा विपन्न वर्गको राहतका लागि खडा गरिएको कोषमा रकमको अभाव हुन नदिन आजदेखि खाता सञ्चालन गरेका छौं' लेखापाल प्रकाश अधिकारीले भने। उनका अनुसार, गाउँपालिकाले खोदवाँ, भोजपुर र नेपालगञ्जमा क्वारेन्टाइन पनि सञ्चालन गरेको छ। ती क्वारेन्टाइनमा हाल १२९ जना रहेका छन्।  

भारतमा मजदुरी गर्न गएका स्थानीयवासी चोर बाटो हुँदै आउने क्रम नरोकिएपछि व्यवस्थापनमा चुनौती थपिएको बताउँदै उनले सक्दो प्रयास गरेर क्वारेन्टाइनलाई प्रभावकारी बनाउन लागि परेका छौं भने। 

प्रकाशित मिति: : 2020-04-02 17:47:13

प्रतिकृया दिनुहोस्