किसानलाई गहुँ थे्रसिङ गर्न सास्ती 

रासस

कञ्चनपुर

कञ्चनपुरका किसान यतिवेला गहुँ काटनमा व्यस्त छन्। गहुँ काटन शुरु गरेपनि गहुँ थे्रसिङ गर्नका लागि थ्रेसरको अभाव भएपछि उनीहरु सास्ती खेप्न बाध्य भएका छन्। 

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले मुलुकभर लागू गरिएको लकडाउनका कारण केही ट्रयाक्टर सञ्चालकले मात्रै गहुँ थे्रसिङ गर्दै आएका छन्। वाह्य क्षेत्रबाट गहुँ थे्रसिङका लागि ट्रयाक्टर ल्याउन निषेध गरिन थालेपछि गहुँ थे्रसिङ गर्न किसानले सास्ती खेप्नु परेको हो। खेतमा गहुँ पाकीसकेको छ। 

'गहुँ काटन थालेका छौ', कृष्णपुरका किसान जीवन चौधरीले भने, 'गहुँ थे्रसिङ गर्नका लागि निकै समस्या भएको छ। वाह्य क्षेत्रबाट थे्रसिङका लागि ट्रयाक्टर ल्याउन नदिँदा समस्या भएको छ।' वाह्य क्षेत्रबाट थे्रसिङका लागि ट्रयाक्टर ल्याउँदा त्योसंगै मजदूरहरु पनि आउने भएकाले कोराना भाइरसको सङ्क्रमण हुन सक्ने आशङ्कामा वाह्य क्षेत्रका ट्रयाक्टर निषेध गरिन थालेको बताइएको छ। 

थे्रसिङको अभाव भएपछि धेरै किसानले लकडाउन खुल्ने आशामा गहुँ काटेका छैनन्। 'मुलुक लकडाउन भएका बेला गहुँ थे्रसिङ गर्न ट्रयाक्टर अभाव भएपछि गहुँ काटेका छैनौं', स्थानीय किसान वीरबहादुर राजवंशीले भने, 'लकडाउन खुलेपछि गहुँ काटने योजना बनाएका छौं।'

ट्रयाक्टर खोज्न नसक्दा काटेका गहुँ पनि खेतमै थन्क्याउन बाध्य भएका छन्, यहाँका किसान। किसानहरुले स्थानीय तहसंग सहज रुपमा गहुँ थे्रसिङको व्यवस्था मिलाई दिन र ट्रयाक्टरका लागि इन्धनको व्यवस्था गर्न आग्रह समेत गरेका छन्।

प्रकाशित मिति: : 2020-04-02 17:57:34

प्रतिकृया दिनुहोस्