आलेख

कैलालीमा यस्ता समस्या, पिसिआर रिपोर्ट नै सात दिन कुर्नुपर्छ

फाइल तस्वीर
फाइल तस्वीर

कैलालीको टीकापुर नगरपालिका–१ की २५ वर्षीया एक महिलामा वैशाख १७ गते कोरोनाको लक्षण देखाप-यो। उनी टीकापुरमा एक सरकारी कार्यालयमा काम गर्छिन्। त्यसपछि उनी काम गर्ने कार्यालयले वैशाख १८ गतेदेखि बिदा दियो।

उनले कोरोना परीक्षणका लागि टीकापुर नगरपालिकाको कार्यालयमा सम्पर्क गरिन्। उनलाई नगर विकास समितिको कार्यालयमा रहेको स्वाब केन्द्रमा जान सल्लाह दिइयो। उनले वैशाख २१ गते स्वाब सङ्कलन केन्द्रमा पिसिआर परीक्षणका लागि स्वाब दिइन्।

उनी रिपोर्टको प्रतीक्षामा थिइन्। एकदुई दिन गर्दै एक सातापछि उनको पिसिआर रिपोर्ट पोजेटिभ आयो। एक सातासम्म पिसिआर रिपोर्टको प्रतीक्षामा रहँदाको मानसिक तनाव उनले यसरी पोखिन्, 'स्वाब दिनुको तीन दिनअघिदेखि नै मलाई स्वास्थ्य समस्या शुरु भइसकेको थियो। स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाएको एक साता हुन लागिसकेको थियो।  मलाई छटपटी भइरहेको थियो। मेरो स्याहरसुसारमा खटेकी बहिनी पनि सङ्क्रमित भइन्।'

यता मैले पिसिआर रिपोर्ट नआएका कारण उपचार पनि शुरु गर्न सकिनँ। उनले ज्वरो निको पार्न सिटामोल सेवन गरेको बताइन्।भनिन्, 'ममा कोरोनाको जस्तै लक्षण देखिएको थियो, तर रिपोर्ट नआएका कारण औषधोपचार पनि गर्न सकिनँ। नियमित रुपमा सिटामोल खाएँ। बहिनीले पनि त्यही गरिन्। बल्ल एक सातापछि रिपोर्ट आयो।'

पिसिआरको रिपार्ट चाँडै नआउँदा आफूले मानसिक तनाव भोग्नुपरेको उनले बताइन्। 'एक सातासम्म म निकै मानसिक तनावमा रहेँ। त्यसैमा मेरो स्याहारसुसारमा रहेकी बहिनीसमेत बिरामी परेपछि थप समस्या भयो', उनी सम्झन्छिन्, 'कोरोना परीक्षणका लागि स्वाब दिएको जानकारी दिएपछि छरछिमेकीले पनि फर्केर हेरेनन्। घरबाट यसो आँगनमा निस्के पनि गाली गर्छन्।'

टीकापुर नगरपालिका–२ की एक ४० वर्षीया महिलाको पीडा पनि उस्तै छ। उनमा कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिएको १५ दिन पुगेको छ। शुरुमा सामान्य रुघाखोकी लागेपछि शङ्का लागेर घरमै बस्न थालेको र पछिका दिनमा निकै गाह्रो भएको उनले बताइन्।

केही दिनपछि उनकी छोरीलाई समेत त्यस्तै खालको लक्षण देखिन थाल्यो। अनि आमा र छोरीले वैशाख २१ गते पिसिआर परीक्षणका लागि स्वाब दिए। उनी र छोरीको पिसिआर रिपोर्ट पनि आइतबार (वैशाख २६ गते) मात्रै आयो।

'स्वाब दिएको पाँच दिन हुन लागिसकेको थियो। मलाई रुघाखोकी, ज्वरो, छाती दुख्ने, हातखुट्टाका जोर्नी दुख्ने, ढाड दुख्ने समस्याले ग्रस्त बनाएको थियो', उनले भनिन्, 'पाँच दिनसम्म ओछ्यानबाट उठ्नै सकेनौँ।'

हाल टीकापुर नगरपालिका–११ ब्लकमा बस्ने छिमेकी जानकी गाउँपालिकाका एक ४० वर्षीय पुरुषको समस्या पनि यस्तै छ। करीब एक साताअघि उनका श्रीमान् श्रीमतीमा कोरोनासँग मिल्दा लक्षण देखिए। उनीहरू दुवैले पिसिआर परीक्षणका लागि स्वाब दिएको चार दिन भइसकेको छ, तर अझै रिपोर्ट आएको छैन।

उनी आफ्नो पीडा यसरी सुनाउँछन्, 'शुरुमा मेरी श्रीमतीलाई स्वास्थ्य समस्या देखिन थाल्यो। श्रीमतीलाई कोरोनाका सबै लक्षण देखिएपछि म पनि थला परेँ। हामीहरू दुवै जना टीकापुर अस्पताल गयौँ। डाक्टरले कोरोना परीक्षण गर्न सुझाव दिए। हामीले स्वाब परीक्षण गर्न दिएका छौँ तर अहिलेसम्म रिपोर्ट आएको छैन। अहिले घरमै सुरक्षित बसिरहेका छौँ। रुघाखोकी लागेको छ। छाती धेरै दुख्छ।'

पछिल्ला करीब दुई सातायता कैलालीको पूर्वी क्षेत्रमा रहेको टीकापुर नगरपालिकामा कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा फैलिँदै गएको छ।

टीकापुर नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले दिएको जानकारीअनुसार कोरोना महामारीको दोस्रो भेरियन्ट फैलिएयता वैशाखको शुरुदेखि सोमबारसम्म नगरपालिकामा ४३५ जनाको स्वाब सङ्कलन भएको छ। तीमध्ये सोमबारसम्म ३२२ जनाको मात्रै स्वाब परीक्षणको नतिजा आएको छ। अझै ११३ जनाको परीक्षणको नतिजा आउन बाँकी छ।   

टीकापुर नगरपालिका–६ का एक २८ वर्षीया महिलालाई हरेक दिन सामाजिक सञ्जालमा ‘एक साताभन्दा बढी समयसम्म कोरोना परीक्षणको रिपोर्ट आएनन्’ भन्ने पोष्ट हेर्दा र पढ्दा वाक्क लाग्छ। उनलाई पनि कोरोनाको लक्षण देखिएको सात दिन भइसकेको छ तर अहिलेसम्म उनले परीक्षण गर्ने जाँगर देखाएकी छैनन्।

'कोरोना परीक्षण गरे पनि समयमा रिपोर्र्ट आउने हो कि होइन भनेर अहिलेसम्म परीक्षण गरेकी छैन', उनले भनिन् 'घरमै औषधि खाएर बसेकी छु।' उनले कोरोना परीक्षण गरेको भोलिपल्टै रिपोर्ट आउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिन्।

टीकापुर नगरपालिका अहिले कोरोनाको लक्षण देखिएका सङ्क्रमितहरूको हालत यस्तै छ। कोरोनाका लक्षण देखिएका सबै परीक्षणमा जान रुचाइरहेका छैनन्। टीकापुर नगरपालिकामा कोरोना सङ्क्रमणको शङ्का लागेकाहरूको स्वाब सङ्कलन भइरहेको छ।

कैलालीमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा मात्रै टीकापुर नगरपालिकासहित सबै स्थानीय तह तथा स्थानमा सङ्कलन भएका स्वाबको परीक्षण हुने गरेको छ।

टीकापुर नगरपालिकाको जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक रावलका अनुसार स्थानीय तहहरूले सङ्कलन गरी पठाएका स्वाबहरूको पालैपालो परीक्षण गर्नुपर्ने भएकाले रिपोर्ट आउन कम्तीमा एक साता लाग्ने गरेको बताए। उनले टीकापुर अस्पतालमा आउने बिरामीको स्वाब परीक्षणका नेपालगञ्जस्थित भेरी अस्पतालमा पनि पठाउने प्रबन्ध गरेको छ।

टीकापुर इलाका प्रशासन कार्यालयको पहलमा भेरी अस्पतालले टीकापुर अस्पतालका बिरामीको स्वाब परीक्षणमा सघाएको चिकित्सक रमेश उपाध्यायले बताए।

'टीकापुर अस्पतालमा उपचारमा आउने बिरामीको स्वाब सङ्कलन गरेर कहिले धनगढी, त कहिले नेपालगञ्ज पठाउने गरेका छौँ', उनले भने, 'भेरी अस्पतालमा पनि निकै चाप छ। पिसिआरको रिपोर्ट आउन पाँच छ दिन कुर्नु परिरहेको छ।'

टीकापुर अस्पतालले एक दुई दिनको फरकमा दैनिक २० देखि ३० जनासम्मको स्वाब सङ्कलन परीक्षणका लागि पठाउने गरेको छ। टीकापुर अस्पतालका चिकित्सकहरू स्वाब परीक्षणको रिपोर्ट नआउँदा बिरामीको उपचारमा समेत समस्या हुने गरेको बताउँछन्।

चिकित्सकहरूले कोरोनाको लक्षण देखिएका, तर जटिल समस्या नभएकालाई होम आइसोलेशनमा बस्न सल्लाह दिने गरेका छन्। अस्पतालमा श्वासप्रश्वासको समस्या भएका र अक्सिजनको मात्रा कम भएका बिरामीलाई मात्र भर्ना लिने गरिएको छ।

'समयमा रिपोर्ट नआउँदा बिरामीले घरका अरू सदस्यलाई तथा समुदायमा समेत सङ्क्रमण फैलाउने जोखिम हुन्छ', चिकित्सक उपाध्याय भन्छन्, 'समयमा रिपोर्ट नआउँदा लक्षण देखिएका, तर सङ्क्रमित नभएका व्यक्तिहरूले पनि परिवारभित्रबाट तथा छरछिमेकबाट पनि अवहेलना भोग्नु परिरहेको छ।'

मनोसामाजिक परामर्शकर्ता धनराज विक कुनै पनि रोगबाट ग्रस्त हुँदा बिरामीको मनोविज्ञान कमजोर हुने भएकाले यस्तो बेला तनाव लिन नहुने बताउँछन्।

'अहिले कोरोना सङ्क्रमण भनेपछि समाजमा नकारात्मक दृष्टिले हेर्ने गरिन्छ। त्यसैमाथि एक सातासम्म रिपोर्ट नआउँदा मानिस रोगभन्दा बढी तनावले झ्न थला पर्ने गरेका छन्', मनोसामाजिक परामर्शकर्ता विक भन्छन्, 'लक्षण देखिएका व्यक्तिले लामो समयसम्म रिपोर्ट कुनुपर्ने समस्या अन्त्यका लागि पहल आवश्यक छ।'

टीकापुरमा गत बुधबारसम्म स्वाब सङ्कलन गरिएका व्यक्तिहरूको सोमबारसम्म रिपोर्ट आएको छैन। नगरपालिकाले हरेक साताको सोमबार र बिहीबार दुई दिन स्वाब सङ्कलन गरी परीक्षणका लागि सेती अस्पताल धनगढी पठाउने गरेको छ।

सेती अस्पतालले अहिले दुई हजार नमूना स्वाब परीक्षणको लाइनमा रहेकाले अब स्वाब नपठाउन निर्देशन दिएकाले आफूहरू तनावमा रहेको टीकापुर नगरपालिका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक रावलले बताए। उनले भने, 'हामीसँग एन्टिजेन किट छैन। भिटिएम त छ, तर सेती प्रादेशिक अस्पतालले अहिले स्वाब परीक्षण गर्न सकिँदैन भनेको छ।'

संयोजक रावलले टीकापुर अस्पताललाई बलियो र पूर्वाधारसहितको अस्पताल बनाउन बारम्बार आग्रह गरिए पनि नेतृत्वले टीकापुर अस्पताललाई प्राथमिकतामा नराखेको गुनासो गरे। उनले भने, 'अहिले टीकापुरमै ल्याब भएको भए धेरै सहज हुने थियो। त्यसतर्फ समयमा ध्यान नदिएका कारण अहिले हामी सबैले दुर्दशा भोगिरहेका छौँ।'

टीकापुर नगरपालिकामा मात्रै नभएर छिमेकी पालिकाहरूमा पनि कोरोना सङ्क्रमण दर दिनहुँ बढिरहेको छ। छिमेकी जानकी गाउँपालिकामा सोमबारसम्म कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या ८५ पुगेको छ। अझै ५८ जनाको पिसिआर परीक्षणको नतिजा आउन बाँकी छ। जानकी गाउँपालिकाले पनि हरेक साताको दुई दिन स्वाब सङ्कलन गरी सेती प्रादेशिक अस्पतालमा पठाउने गरेको छ।

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक जीतबहादुर चौधरीले पनि सेती प्रादेशिक अस्पतालले अब केही दिन स्वाब सङ्कलन नगर्न अनुरोध गरेकाले केही दिन स्वाब सङ्कलन कार्य रोकिने बताए।

उनले भने, 'गत सोमबार परीक्षण गरेकाहरूको अझै रिपोर्ट आएको छैन। स्वाब दिएकाहरूले दैनिक जसो रिपोर्ट कहिले आउँछ? भनेर फोन गरेर हैरान पारिरहेका छन्। छिटो रिपोर्ट पठाउने व्यवस्थाको सुनिश्चितता सरकारले गर्नुपर्ने हो, हामी कर्मचारीले के गर्न सक्छौ ?'

टीकापुर अस्पताल व्यवस्थापन समितिले कोरोना परीक्षण व्यवस्थाका लागि पहल गरिएको भए पनि सरकारले ध्यान नदिएको गुनासो गरेको छ। 'टीकापुर अस्पतालले गत वर्षदेखि नै ल्याब सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्ति माग गरेको हो।

कैलाली जिल्लामा धनगढीमा छँदैछ भनेर टीकापुरलाई ध्यान दिइएन', अस्पताल विकास समितिका अध्यक्ष दीपकबहादुर रावल भन्छन्, 'अस्पताल आफैँले ल्याब सञ्चालन गर्ने अवस्था छैन। यहाँ सुविधा नहुँदाको पीडा नागरिकले भोग्नु परेको छ।'

कोरोना परीक्षणका लागि टीकापुरमै ल्याब स्थापना गर्न तथा टीकापुर अस्पताललाई स्रोतसाधनयुक्त अस्पताल बनाउनेतर्फ स्थानीय सरकारले पनि ध्यान दिन सकेको छैन।

नागरिक अगुवाहरू टीकापुर अस्पतालमा अत्यावश्यक पूर्वाधार तयार गर्न स्थानीय सरकारले लगानी गरेको भए अहिले यो विकराल अवस्था सिर्जना हुन नपाउने बताउँछन्। समाजसेवी भुवनेश्वर अधिकारी स्थानीय जनप्रतिनिधिहरूमा दीर्घकालीन सोच नभएका कारण अहिले टीकापुरका नागरिकहरूले सहज रुपमा स्वास्थ्य सेवा पाउन नसकेको बताउँछन्।

'कोरोना महामारी फैलिएको एक वर्षभन्दा बढी भइसक्यो। सबै स्थानीय सरकारहरू मिलेर गर्न चाहेको भए टीकापुर अस्पतालमै ल्याब सहितको सबै सुविधा उपलब्ध हुन्थ्यो होला', समाजसेवी अधिकारीले भने, 'टीकापुर नगरपालिकाले अहिले विशेषज्ञ डाक्टरको व्यवस्था त गरेको छ, तर यति मात्रै गरेर पुग्दैन। टीकापुर अस्पताललाई सबै पक्षमा बलियो बनाउनेतर्फ समयमै ध्यान दिइएन।'

टीकापुर अस्पतालले छिमेकी पालिकाहरूका कोरोना सङ्क्रमितको उपचारको समेत भार बेहोर्नु परिराखेको छ। नजिकैको लम्कीचुहा नगरपालिकाले धेरै अघिदेखि १५ श्ययाकोे अस्पताल बनाउने घोषणा गरे पनि त्यहाँका सबै बिरामी टीकापुर अस्पतालले धान्नु परिरहेको छ।

समाजसेवी अधिकारीले भने, 'पहिलेदेखि नै सबै पालिका मिलेर टीकापुर अस्पतालमा लगानी गरेको भए अहिले यस क्षेत्रका सबैले ढुक्कले राम्रो उपचार सेवा पाउँथे। सबै स्थानीय सरकारहरू मिलेर टीकापुर अस्पताललाई सुविधायुक्त अस्पताल बनाएको भए प्रदेश र केन्द्र सरकारमाथि लगानी गर्न दबाब पर्दथ्यो।'रासस

प्रकाशित मिति: : 2021-05-11 14:46:00

प्रतिकृया दिनुहोस्