सरकारले घोषणा गरेको ‘लकडाउन’ को पूर्णपालना गर्न आग्रह

रासस

 काठमाडौँ 

काठमाडौँ महानगरपालिकाले असहाय, अतिविपन्न तथा मजदूरलाई मात्रै राहत लिन आग्रह गर्दै सरकारले घोषणा गरेको ‘लकडाउन’ को पूर्णपालना गर्न अनुरोध गरेको छ। 

राहत वितरणका क्रममा असहाय र अतिविपन्नले मात्र नभई दैनिक सहजरुपमा जीवन निर्वाह गरेकाले पनि राहत सामग्री लिएको पाइएपछि महानगर प्रमुख विद्यासुन्दर शाक्यले यस्तो धारणा राखेका हुन्। महानगरले बुधबारदेखि राहत वितरण कार्य शुरु गरेको छ।  

नेपाल सरकारले घोषणा गरेको दुईहप्ते ‘लकडाउन’लाई उल्लङ्घन गर्ने छिटफुट गतिविधि हुन थालेका भन्दै त्यसलाई जिम्मेवार ढङ्गले पूरा गर्न प्रमुख शाक्यले आग्रह गरेका छन्। उनले अभिभावक नभएका, आयस्रोत तथा जायजेथा नभएका, वृद्धाश्रम, संरक्षणगृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित, आम्दानीको स्थायी स्रोत नभएका, दैनिक गुजारा गर्न धौधौ पर्ने महानगरवासीलाई राहत वितरण शुरु गरेको जानकारी दिएका छन्।  

महानगरपालिकाले सङ्कटमा परेका असहाय, अतिविपन्न र दैनिक ज्याला मजदूरी गर्दै आएका कामदार तथा मजदूरलाई मात्रै राहत उपलब्ध गराउने भएकाले अन्य व्यक्ति एवं परिवारले राहत सामग्री नलिइदिनुहुन हार्दिक अनुरोध गरेको छ। प्रमुख शाक्यले आज एक अपिल जारी गर्दै  यस्तो आग्रह गरेका हुन्। 

'कोरोना सङ्क्रमणलाई सामान्यरूपमा लिनु ठूलो गल्ती हुनसक्ने भएकाले लकडाउन घोषणालाई पूर्ण पालना गरी घरैमा बसेर कोरोना सङ्क्रमणविरुद्धको राष्ट्रिय अभियानलाई सहयोग पु¥याइदिनुहुन सम्पूर्ण महानगरवासीमा पुनः एकपटक हार्दिक अपिल गर्दछु',  प्रमुख शाक्यले भनेका छन्।

उनले अमेरिकालगायत युरोपका केही ठूला र विकसित देशमा अहिले महामारीका रूपमा सङ्क्रमण फैलिनुको एकमात्र कारण सरकारद्वारा घोषित ‘लकडाउन’ को बेवास्ता गर्नुले नै हो भन्ने कुरालाई हेक्का राख्दै आम नेपाली अझ बढी सचेत र सर्तक हुनु आवश्यक रहेको पनि उल्लेख गरेका छन्।

'नेपाल सरकारले लकडाउन अवधिभर सम्पूर्ण असहाय, अतिविपन्न र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई राहत प्रदान गर्ने निर्णय गरेको र त्यसका लागि स्थानीय निकायले लगत सङ्कलन कार्य अघि बढाइएको छ' उनले जारी गरेको अपिलमा भनिएको छ, 'यसै सन्दर्भमा काठमाडौँ महानगरपालिकाले पनि महानगरभित्र तत्काल राहत वितरण कार्यलाई सहज र व्यवस्थित गर्न ‘कोभिड– १९ सम्बन्धी राहत वितरण मापदण्ड, २०७६’ पारित गरिसकेको छ।'

प्रकाशित मिति: : 2020-04-02 19:41:35

प्रतिकृया दिनुहोस्