डोल्पो यात्रा संस्मरण– ८

विश्वकै अग्लो स्थानमा मानव बस्ती रहेकाे धोमा धौधौ

असोज १५ गते बिहानको नित्यकर्म सकेर चिया तातो पानी खायौं। बाटोमा खाना खाने ठाउँ कतै नभएकोले चिनियाँ म्याद गुज्रेको चाउचाउ/थुक्पा (जस्तो, भित्र मसला/साग, गुन्द्रुक) लियाैँ। त्यतातिर जे किने पनि प्राय: सबैको म्याद गुज्रेको हुने तर के गर्नु नखाई सुखै छैन। दनादन खायौं। हजम नहुने कुरै थिएन।

त्यो चाउचाउ कागजको डिब्बामा आउने रहेछ। ठ्याक्कै एक जनाको लागि मिल प्याक। चुल्होमा दिउँसको लागि आलु उसिनिदै थियो। आठ बजेतिर टोली धो को लागि रमाना भयो।

तिञ्जेलबाट तिब्बतको सिमाना/नाकामा गएर एकैदिनमा सामान ल्याएर यता पुगिने रहेछ। नेपालबाट गएको भन्दा उताको सामान साह्रै सस्तो पर्ने रहेछ। नेपाली रु. १७० मा चिनियाँ क्यान बियर आउने ३.३ प्रतिशत अल्कोहल भएको। सबैको म्याद गुज्रेको। 

हामी बिस्तारै अगाडि बढ्दै गयौं। त्यहाँ बाटो छेउको खोलामा झुलुंगे पुल थियो। सुरज भाइ पुल तरेर पारीबाट नै गएका थिए। हामी वारीपट्टीको सडकै हिड्यौं। अगाडि पुगिसकेपछि खोला तर्नुपर्ने भयो। खोलाको पानि घुंडासम्म पुग्थेन। करण र मोहन भाइ ब्याक भएर पुल तरेर आए, चिसो पानी छुने आँट गरेनन्।

बिहानको त्यस्तो चिसो पानीमा विचरा सुरज भाइले मलाई र बिपना बहिनीलाई पालै पालो पिठ्युमा बोकेर खोला तारे जबकी उनी अगाडिदेखि नै पुलबाट पारी पुगिसकेका थिए। अरुहरु जुत्ता खोलेर आफै खोला तरे। पातलो सुरज भाइले कतै खोलामा लडाउने हो कि भन्ने चिन्ताले खोला नतारुन्जेल डराए तर भाइले सकुशल बोकेर तारे।

भाइलाई धेरै–धेरै धन्यवाद!

त्यही खोलामा ब्रस गरी अगाडि बढ्यौं। हामी हिँडेको हिँड्यै, हिँडेको हिँड्यै थियौं। कोही पनि रमाइलो गर्ने मनस्थितिमा थिएनन्। गन्तब्य पच्छ्याउदै सबैजना चुपचाप एकसुर हिँडिरहेका थियौं। क्यामेरा, मोबाइल सबैको ब्याट्री सकिसकेको थियो। भोको पेटले खुट्टा उचाल्ने मानसिक आदेशमा अवरोध पुर्‍याउथ्यो।

दिउँसो करिब एक बजेतिर धो बाट आइरहेका खच्चडवाला दाइसँग म्याद गुज्रेका रारा चाउचाउ किन्यौं। अलि पर हावा कम चल्ने स्थानमा पुगेर बिहान बोकेको आलु र चाउचाउ आ–आफ्नै तरिकाले खायौं। कसैले चटपटे शैलीमा, कसैले सुख्खा, कसैले चाउचाउमा तातो पानी हालेर सुप।

त्यहाँबाट करिब दुई घण्टा हिँडेपछि लेकको (५००० मिटर माथि) उकालो यात्रा सुरु भयो। यसपटक उकालोमा कतै नरोकिकन सिधै लेकमा पुगे। त्यो लेकमा मान्छे नै उडाउला जसरी हावा चलिरहेको थियो।

कोही–कोही मान्छेहरु मोटरसाइकलमा तिन्जे धो, धो तिन्जे गरिरहेकै थिए। क्या आनन्द पाँच हजार मिटरमाथि मोटरसाइकलमा सरर... गाना घन्काउदै शानका साथ हिड्न सांग्रिलाका राजकुमारहरु।

सातआठ दिनको हिँडाइले सबै थाकिसकेका थियौं। सुन्दर भुदृश्य केवल नयनमा कैद गर्‍यौं। लेकबाट डेढ घन्टाको हिडाईमा ताक्सी पुगियो तर गन्तब्य धो पुग्न अझै एक डेढ घण्टा हिड्नु पर्ने थियो।

त्यो दिनपनि राति हुने निश्चित थियो। त्यसैले म, सुरज र उत्तम भाइ अलि अगाडि गएर होटेल माउन्टेन भ्यूमा खानेबस्ने बन्दोबस्त गर्नुपर्ने थियो। त्यो होटेल किन भनेको भन्दा सिर्जना बहिनीको साथी कुनै समय त्यहाँ वर्ल्ड लिंकको वाईफाई जोड्न पुगेका रहेछन् र बहिनीले बीच बाटोबाट साथीलाई फोन गरी त्यो होटेलमा हामी आउँदैछु भनेर भनिदिनु भनेकी रहिछिन्।

सोही अनुरुप सोध्दै हामी तिन जना अगाडि बढ्यौं। ताक्सी मै रात परिसकेको थियो। पुग्नु थियो धो अर्थात् विश्वकै अग्लो स्थानमा रहेको मानव बस्ती भनेर प्रचार गरिएको ठाउँ। कतिपय पत्रपत्रिका र सरकारी वेबसाइटमै लेखे पनि त्यसको आधिकारिकता कतै भेट्न सकिएन।

साँझ धो मा मैले पनि मोटरसाइकल चढ्ने ऐतिहासिक अवसर पाएँ। मोटरसाइकलमा आउँदै गरेका एक दाइलाई उक्त होटेलको बारेमा सोधेको, म पनि उतै जाने हो एक जना बस्नुहोस् भन्नुभयो। जेष्ठताका आधारमा मैले चढ्नुपर्ने भयो। उत्तम र सुरज भाइ हिँड्दै आए।

चालकले भौतिक विज्ञानलाई चुनौती दिने हिसाबले मोटरसाइकल चलाइरहनुभएको थियो। मैले केही बोलिन। त्यो दाइले लिनुभयो होटेल क्याराभान। यो दाइलाई पनि थाहा रहेनछ।

उहाँले भित्रको साहुलाई सोधिदिनु भयो साथै मैले होटेल माउन्टेन भ्यूमा अर्डर भइसकेको कुरा बताए। साहुले माउन्टेन भ्यू हैन स्टार माउन्टेन भन्ने होटेल छ भन्नु भयो। मैले नि त्यै हो भने। कन्फर्म गर्न वाईफाई भएको होटेल भने किनकि धो मा त्यहाँ मात्र वाईफाई थियो, वर्ल्डलिंकको। होटल नजिकै रहेछ, त्यहाँ पुगेर सोध्दा खासमा अर्डर भएकै रहेनछ। तर, उहाँहरुले खान बस्न राम्रै छ भन्नुभयो र त्यही बस्ने निर्णय भयो।

हामी खुट्टा धोएर धुलो झार्दै भित्र पस्यौं। रातको आठ बजिसकेको थियो। बाँकी टोलीले आउन थप ४५ मिनेट लगायो। यात्राको क्रममा धोमा पहिलो पटक टिभी देखियो। वर्ल्डस्टारमा एन्ट म्यान फिल्म आइरहेको थियो। तातोपानी खाँदै मोबाइल चार्जमा लगाए।

परिचय गर्दै जाँदा होटेलको दाइले सोध्नुभयो ’चेतन रावललाई चिन्नु हुन्छ?’ मैले  ’उहाँ मेरो काका हो’ भने। होटेलको सानो मालिक अर्थात् छेवाङ्ग गुरुङ भाइ र चेतन काकाको कान्छो छोरा तोरण सँगै ललितपुरको एलएमा पढ्ने, काठमाडौंमा सँगै बस्ने रहेछन्।

लकडाउन भएर घर आएका रहेछन्, छेवाङ्ग। होटेलमा खानबस्न अझ महत्वपूर्ण कुरा वाईफाई समेत थियो। शेर दाइले सल्दाङ्ग आउँदै गर्दा बाटोमा रोटी आलु खाएको फोटो, ’हामी ज्युदै छौं। यात्रा जारी छ।’ अंग्रेजी क्याप्सन सहित फेसबुकमा अपलोड गर्नुभयो।

मेरा साथीहरुलाई उतिबेला थाहा भयो म उपल्लो डोल्पाको यात्रामा छु। त्यो रातको अर्को काण्ड बन्यो; आखिर किन निस्के तेजेन्द्र दाइ तेल बोकेर? करण भाइले किन राखे ढुङ्गाको एरो ? काम नलाग्ने समानको उपयोग एरोमा किन गरिएन ?

करिब आधा घण्टा यति हाँसियो कि हिँडाइका सबै दुःख बिर्सियौं। मेरा दुबै पैतालामा फोका निस्किसकेका थिए। बाँकीको यात्रा कष्टकर हुने निश्चितप्राय थियो।

२०७३ सालमा भक्तपुरमा भएको मोटरसाइकल दुर्घटनामा भाँचिएको दायाँ खुट्टाले असहजता प्रकट गरिरहेको थियो। खुट्टा अप्रेसन गर्दा फोहोर रगत निकाल्न छेडिएको घुँडा छेउको नशा दुख्न सुरु भइसकेको थियो। हाम्रो योजना धो बाट छार्काभोट हुँदै जोमसोम निस्कने थियो।

(लेखक कर्णाली प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अधिकृत हुन्। बिएल नेपाली सेवामा उनको डोल्पा यात्रा संस्मरण शृङ्खलाबद्ध रुपमा प्रकाशन भइरहेको छ।)

डोल्पो यात्रा संस्मरण- १

बाइकमा सरर डाेल्पा जाने धुन


 

डोल्पो यात्रा संस्मरण -२

हामी पनि हुइक्यौं बुइनी दुनै बजार...


 

डोल्पो यात्रा संस्मरण–३

‘हामीलाई जसरी पनि एकै दिनमा रिग्मो पुग्नु थियो’


 

डाेल्पाे यात्रा संस्मरण- ४

घ्यामघार अर्थात् ‘मिलियन स्टार’को बसाइँ


 

डाेल्पाे यात्रा संस्मरण- ५

सकसपूर्ण यात्रापछि चाैरी गाेठमा ओच्छ्यान !


 

डाेल्पाे यात्रा संस्मरण: ६

निन्द्रासँग ओच्छ्यानको कुनै साइनो नहुने प्रमाणित भयो

वाह ! समाजवादी व्यवस्था यो भन्दा अर्को के होला ?

प्रकाशित मिति: : 2022-06-03 12:11:00

प्रतिकृया दिनुहोस्