लकडाउनमा महत्वपूर्ण अनलाइन शिक्षा प्रणाली

हाल विश्वभर फैलिरहेको महामारी कोरोना (कोभिड १९) भाइरसले गर्दा धेरै मानिसको मृत्यु भइरहेको छ। यसको प्रभावले विश्वका धेरै देशले अतिआवश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गरेर लकडाउन लागु गरेका छन्। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड १९) को नेपाल पनि उच्च जोखिममा परेको भएकाले सम्भावित जोखिम नियन्त्रणका लागि नेपाल सरकारले संघ, प्रदेश, स्थानीय तह, सार्वजनिक, सामुदायिक तथा नीजि सेवा प्रदायक संस्थाबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसार अतिआवश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने एवं विश्वविद्यालय चैत्र मसान्तसम्म बन्द  गर्ने निर्णय गरिएको छ।

अहिले कोरोना भाइरसकाे जोखिम न्युनिकरणका लागि चैत्र २५ गते राती १२ बजेसम्मका लागि देश पुरै लकडाउन गरिएको छ । लकडाउन लम्बिन पनि सक्छ । यसको असर विश्वविद्यालय तथा शिक्षण संस्थाको पठन पाठनमा पनि परेको छ ।

नेपालमा जो नियमित विद्यालय जान पाउँदैनन् । उनीहरुका लागि घरमै वा जो जहाँ छ,त्यही बसेर डिग्री हाँसिल गर्न सकिने गरी नेपाल खुला विश्वविद्यालय खोलिएको हो । अहिले विश्वभरी अनलाइन शिक्षणमा जाने विश्वविद्यालय थुप्रै छन्। यस्ता विश्वविद्यालयमा अनलाइनबाट कक्षा सञ्चालन हुने गर्दछन्। नेपालमा पनि काम गर्दागर्दै अथवा कलेज नगइकन धरमै बसेर उच्च शिक्षा तथा डिग्री लिन सकिने नेपाल खुला विश्वविद्यालय हो। जहाँ अनलाइनमै कोर्ष तथा सिलेवस हुन्छ।

यसका देशैभर विद्यार्थी छन्। अनलाइनबाट बेलुका ६ बजेदेखी ९ बजेसम्म बिभिन्न प्रोग्रामका कक्षा सञ्चालन हुने गर्दछन्। शिक्षकको गाइड अनुसार विद्यार्थीले अनलाइनबाट पढ्ने गर्दछन् । तर कोरना भाइरसका कारण नेपाल खुला विश्वविद्यालयको अनलाइन शिक्षण बन्द गरिएको छ । यो एउटा डिस्टेन्ट लर्निङ हो । जहाँ भेटघाट पनि हुने होइन। प्राध्यापक र विद्यार्थीको इन्टरनेट, ल्यापटप कोठामा हुन्छ । प्राध्यापक र विद्यार्थी जहाँ छन्, त्यही बसेर अनलाइनबाट पढाउने र पढ्ने हो।जहाँ कक्षा कोठामा बसेर पढेको जस्तो अनुभव हुन्छ ।

यस्तो अवस्थामा इन्टरनेटबाट हुने पढाई रोक्नुको करण के हो? यदी लकडाउन अझै लम्बियो भने के गर्ने? अनलाइनबाट पढाई हुने विश्वविद्यालयले यस्तो अवस्थामा झन् शिक्षण पद्धति गर्नु उदाहरण बन्नुको सट्टा बन्द गर्नु हुँदैन। यो अवस्था विश्वविद्यालयको लागि एउटा अवसर हो । नेपाल खुला विश्व विद्यालयले आफ्नो सेवा प्रवाहका लागि अनलाइन विधिको प्रयोग गरिरहेको सन्दर्भमा लामो समयसम्म पठनपाठन बन्द गर्नुपर्ने स्थितीमा अन्य विश्वविद्यालय तथा शिक्षण संस्थासँग अनुभव साझेदारी तथा सहकार्य गर्न सक्छ।

अहिलेको परिस्थितिमा अरु विश्वविद्यालयले पनि अनलाइन शिक्षा अभ्यास गर्नु उपयुक्त देखिन्छ। अझ परीक्षा पनि घरबाट दिने सिस्टम बनाउनु आवश्यक छ। देशका लागि चाहिने आवश्यक जनशक्ती समयमा नै विश्व विद्यालयबाट उत्पादन गराउन सकेन भने देशलाई घाटा हुन्छ । यस्तो परिस्थितिमा पठनपाठन नरोकिकन अनलाइनबाट पठनपाठन गराउनु विश्वविद्यालयको आवश्यकता हो । त्यसैले कलेज जान बन्द भएनी पठनपाठन बन्द गर्नु हुन्न। भर्चुअल कक्षा सञ्चालन गर्नु पर्दछ। अहिलेको परिस्थितिमा खुला विश्वविद्यालयले थुप्रै सरकारी तथा अन्य सेवा प्रवाहका कामकाज सिकाउनु पर्ने हो । यो विश्वविद्यालयले अहिलेको परिस्थितिमा एउटा उदाहरण भएर काम गर्नु पर्दछ। यसको कक्षा रोकिनु हुदैन। नियमित पठनपाठन सञ्चालन गर्नु पर्दछ। 

अहिल कोरोना भाइरसका कारण  शिक्षण संस्था बन्द भएका छन् । जसको असरले विद्यालयबाट नियमित ज्ञान लिने विद्यार्थी भाईबहिनी ज्ञान सिक्ने कुराबाट बन्चित छन् । वार्षिक परीक्षा सकिएर विद्यालय चैत्र मसान्तसम्म बन्द छन् । लकडाउनका कारण विद्यार्थीहरु घरमै बिदा मनाउन वाध्य छन् । यदि कोरना भाइरसका कारण लकडाउन अझै लम्बिने हो भने के गर्ने? विद्यार्थी भाईबहिनीलाई यस्तो अवस्थामा सिकाईबाट बन्चित गराउनु त भएन नी? यस्तो अवस्थामा विद्यालयले विद्यार्थीका लागि सिकाईको प्याकेज बनाएर इन्टरनेटको सुबिधा भएका आफ्ना विद्यार्थीलाई ज्ञान दिन सक्छन् ।

दूरदराजका ठाउँका विद्यार्थीलाई सरकारले श्रब्यदृश्य तथा दूरशिक्षाबाट शिक्षा दिन सक्छ । विद्यार्थीलाई विद्यालय नआइकन पढन पढाउन सकिन्छ । अहिले बाहिरका धेरै देशका विद्यालयले अनलाइनमार्फत कक्षा सन्चालन गरिरहेका छन् । त्यसैले नेपालका विद्यालयले अनलाइन सिकाई पद्धती अवलम्बन गर्नुपर्ने हुन्छ।

अनि अविभावकले आफ्ना बालबालिकालाई यो समय नैतिक शिक्षा सिकाउनुका साथै इन्टरनेट र युट्वमा भएका पाठ्यसामाग्रीको प्रयोग गरी सिकाउनु आवश्यक छ। कोरना भाईरसका कारण विद्यालय बन्द रहेकाले शिक्षा तथा मानव स्रोत बिकास केन्द्रको बालबालिकाका लागि उपयोगी पाठ्यसामाग्री रहेका वेबसाइट  उपलब्ध गराएको छ। त्यसबाट पनि विद्यार्थी भाईबहिनीलाई पढाउन सकिन्छ । शिक्षण सिकाईबाट विद्यार्थी भाईबहिनीलाई बन्चित नगराई इन्टरनेटमा भएका पाठ्यसामाग्री उपयोग गरी सिकाउनु आवश्यक छ । 

अहिले नेपालमा ई–गवर्नेन्समा दखल राख्ने  र पेशेवरको समूहले स्थापना गरेको गैरनाफामुलक,गैरसरकारी, गैरराजनीतिक सामाजिक संस्था नेपाल ई–गभर्नेन्स सोसाइटी नामक संस्था छ। जसले ई–गभर्नेन्सको क्षेत्रमा बहस तथा पैरबी गर्दै आइरहेछ। यसले अनलाइन पद्द्तीमा जानचाहने शिक्षण संस्थालाई प्रोत्साहन गर्दछ। यदी कुनै शिक्षण संस्था ई–लर्निङमा जान चाहन छन् भने हामी हाम्रो क्षमता अनुसार आफ्नो अनुभव, ज्ञान, सल्लाह सुझाव र आवश्यक परामर्श सेवा दिन तथा सहकार्य  गर्न तयार छौं।

(लेखक नेपाल खुला विश्वविद्यालयका मास्टर्स इन ई–गभर्नेन्सको चौथो सेमेस्टमा अध्ययनरत छन्। उनी नेपाल ई–गभर्नेन्स सोसाइटीका महासचिव पनि हुन।) 
 

प्रकाशित मिति: : 2020-04-04 06:05:00

प्रतिकृया दिनुहोस्