स्थानीय तह निर्वाचन

अध्यक्षका आकांक्षी थपिँदै जाँदा उम्मेदवार छान्न सकस

Breaknlinks
Breaknlinks

नेपाली कांग्रेसले जित्ने बलियो सम्भावना रहेको रून्टीगढी गाउँपालिकामा पार्टीभित्र अध्यक्षका आकांक्षीहरू थपिँदै जाँदा उम्मेदवारी छनौटमा समस्या भएको छ।

अध्यक्ष पदका लागि पार्टीबाट ११ जनाले आकांक्षा राखेपछि उम्मेदवार छनौटमै अलमल भएको हो। पार्टीबाट जनक पुन, टेकबहादुर बस्नेत, देबेन्द्र बोहोरा, बेगम कवँर, नारायण खड्का, तेजविक्रम रावत, तिलक बुढाथोकी, बिना श्रेष्ठ, धनबहादुर रसाइली, सुवास चन्द र नन्दराम खड्काले गाउँपालिका अध्यक्ष पदको उम्मेदवारमा दाबी गरेका छन्।

पार्टीभित्रकै अन्तरघातका कारण २०७४ सालको निर्वाचनमा एमालेसँग १२३ मतले पछि परेको कांग्रेसमा अहिले पनि धेरैले आकांक्षा राखेपछि सहमति जुटाउन कठिन भएको छ। पार्टीमा लागिसके पछि उम्मेदवार बन्न आकांक्षा राख्नु स्वभाविक भएको सभापति जनक पुन बताउँछन्।

‘जिल्लाका १० वटै तह मध्ये सबैभन्दा धेरै जनाधार भएको तह नै रून्टीगढी हो,’ सभापति पुनले भने ‘धेरै नेता हुँदा धेरै उम्मेदवारमा आकांक्षी पनि धेरै हुनु स्वभाविक छ।’ तर पार्टीमा कसको भूमिका के रह्यो भन्ने मूल्यांकनका आधारमा पार्टीले एक जनालाई टिकट दिनेमा सभापति पुन विश्वस्त छन्।

कार्यकर्ताको रोजाईमा पुन

गाउँपालिका अध्यक्षको उम्मेदवार बन्न धेरैले रूची राखेको भएपनि कार्यकर्ताको रोजाईमा भने सभापति पुन नै परेका छन्।

गाउँपालिकाको ९ वटा वडा कार्यसमिति मध्ये ८ वडा समितिले पुनको नाम सिफारिस गरेका छन् भने ९ वटै वडा इकाइ सभापतिहरूले पुनलाई समर्थन गरेका छन्। यस्तै, गाउँपालिकाभित्रका अधिकांश कार्यकर्ताहरूले पनि सभापति पुनलाई नै अध्यक्षको उम्मेदवार बनाउनुपर्ने माग गर्दै आएका छन्।

गाउँपालिकाभित्रका हरेक कार्यकर्ताहरूको सुखदुखमा साथ दिने र टोल टोलमा खटिने गरेकै कारण पुनको लोकप्रियता बढेको कार्यकर्ता पंक्तीहरूको भनाई छ।

पुन बाहेक अरू भए फेरि हार्न सक्ने

पार्टीको सभापति पुन भएसँगै गाउँपालिकाभित्रका करिब ७ सय बढी कार्यकर्ताहरू अन्य पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका छन्। सभापति पुनकै नेतृत्वमा देखिएको सक्रियता र आशाले अन्य पार्टी परित्याग गरेका ति कार्यकर्ताहरूको पनि एक मात्र रोजाई पुन नै भएकाले यदि पुनले अध्यक्षमा टिकट नपाए ति कार्यकर्ताहरू फेरि पुरानै पार्टीमा फर्किन सक्ने कतिपयको भनाई छ। जुन व्यक्ति कार्यकर्तासँग नजिक छ त्यो व्यक्ति रोजाईमा पर्नु र कार्यकताले पनि सोहि अनुसार आशा गर्नुपर्ने भएकाले पुनको विकल्प अरू कोहि बन्न नसक्ने वडा सभापतिहरूको भनाई छ।

गठबन्धन भए परिणाम फरक आउन सक्छ

माओवादीसँग गठबन्धनको बारेमा छलफल भइरहदा रून्टीगढीमा पनि गठबन्धन हुन सक्ने सम्भावना कायमै छ। तर गठबन्धन भए फरक परिणाम आउन सक्ने सभापति पुनको भनाई छ।

‘माओवादीबाटै कुटिएका, पिटिएका साथीहरूले माओवादीलाई भोट हाल्न सक्दैनन्’ पुनले भने ‘बरू हारेपनि हामी एक्लै लड्न तयार छौं तर गठबन्धनमा जान कार्यकर्ता तयार छैनन्।’ यदि पार्टीले जबरजस्ती निर्णय गरेमा फरक परिणाम आउन सक्ने सभापति पुनको भनाई छ।

उपाध्यक्षमा ४ जनाको दाबी

यस्तै नेपाली कांग्रेस रून्टीगढीबाट गाउँपालिकाको उपाध्यक्षमा ४ जनाले दाबी प्रस्तुत गरेका छन्। उपाध्यक्षमा हुमादेवी भण्डारी, सरिता केसी, देवि कामी र अञ्जु घर्तीमगर दाबी गरेका छन् भने उनीहरू सबैको नाम क्षेत्र हुदै जिल्ला कार्यसमितिमा सिफारिस गरिएको छ।

प्रकाशित मिति: : 2022-04-15 07:09:00

प्रतिकृया दिनुहोस्