लकडाउन : कुपन वडा कार्यालमा , राहत नजिकको पसलबाट

रासस

काठमाडौँ

काठमाडौँ महानगरपालिकाले लकडाउनमा भीडभाड हुन नदिन राहत वितरणलाई कुपन मार्फत शुरु गरेको छ। 

कामपा वडा नं ४ ले दैनिक ज्यालादारीमा गुजार चलाउने मजदुरलाई राहत सामग्री लिन नाम दर्ता भएकालाई कुपन दिई नजिकको खाद्य पसल मार्फत सामग्री खरिद प्रक्रिया शुरु गरेको हो।  

यसका लागि वडा कार्यालयले  खाद्य पसलसँग समन्वय गरिसकेको छ। ती पसलधनिलाई वडा कार्यालयले विलका आधारमा भुक्तानी गर्ने कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। 

उनका अनुसार अहिले वडा नं ४ ले यसको शुरुवात् गरेको छ। यो राम्रो हो यसको अनुशरण अन्यले पनि गर्न आवश्यक रहेको देखिन्छ। सो वडामा मात्रै दुई हजारजनाले राहत सामग्रीका लिन निवेदन दिएका छन्। 

कामपाले विपन्न, असहाय र दैनिक ज्यालादारीमा काम गर्ने व्यक्तिलाई परिवार सङ्ख्याका आधारमा राहत उपलब्ध गराउन शुरु गरेको हो।

 अहिले कामपाको सबै वडाकार्यालयमार्फत राहत वितरणको कार्य भइरहेको छ। गत मङ्गलबार कार्यपालिकाको ४३औँ विशेष बैठकले ‘कोरोना भाइरससम्बन्धी राहत वितरण मापदण्ड–२०७६’ जारी गर्दै गरेको व्यवस्थाअनुरुप महानगरले राहत सामग्री वितरण गरेको हो।  

कोरोना भाइरसको जोखिम हुन नदिन सरकारले जारी गरेको लकडाउनले अत्यावश्यक सेवाबाहेक सबै सेवा बन्द रहेका छन्।  मानिस घरभित्र बसेका छन्।  दैनिक ज्यालादारीको रकम आर्जन गरेर छाक टार्ने वर्गका परिवारलाई समस्या पर्ने भएकाले  समान प्रकारको राहत र सहयोग उपलब्ध गराउन मापदण्ड बनाइएको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए।

मापदण्डले अभिभावक नभएका, आफ्नो आयस्रोत तथा जायजेथा नभएका, अरुको सहयोग तथा सहारामा बस्दै आएका व्यक्तिलाई असहाय भनेको छ। महानगर क्षेत्रमा सञ्चालनमा रहेका अनाथ आश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिद आदिमा आश्रित व्यक्तिलाई पनि राखिएको छ। त्यस्तै आम्दानीको कुनै स्थायी स्रोत नभएका, दैनिक जीवन गुजारा गर्न धौधौ पर्ने सम्बन्धित वडाले अति विपन्न हो भनेर प्रमाणित गरेका व्यक्ति र परिवारलाई अतिविपन्न मानिएको छ। 

प्रवक्ता डङ्गोलका अनुसार त्यस्ता परिवारको विवरण राख्ने काम र वितरणको कामसँगै भइरहेको छ त्यसैले अहिले कतिको सङ्ख्यामा रहेका छन् भनी यकिन जानकारी छैन। राहत दिन परिवार सङ्ख्याका आधारमा खाद्य सामग्रीको प्याकेट बनाउनु पर्नेछ। यदि एकजना मात्र व्यक्ति बस्ने रहेछ भने यसका लागि तयार पारिएको प्याकेटमा चार किलो चामल, एक किलो दाल, एक किलो नुन, आधा लिटर तेल, आधा किलो चिउरा र एक किलो तरकारी हुनेछ। 

दोस्रो प्याकेटमा १२ किलो चामल, दुई किलो दाल, एक किलो नुन, आधा लिटर तेल, दुई किलो चिउरा र तीन किलो तरकारी हुनेछ। यो दुईजनादेखि चारसम्मको परिवारका लागि हो। यदि कुनै परिवारमा पाँचजनाभन्दा धेरै रहेछन् भने उनीहरुका लागि १६ किलो चामल, तीन किलो दाल, एक किलो नुन, एक लिटर तेल, तीन किलो चिउरा र चार किलो तरकारीको प्याकेट हुनेछ। यसका अतिरिक्त वडाले आवश्यक ठानेमा असहाय र अति विपन्न व्यक्तिलाई तयारी खाना, खाजा वितरणको व्यवस्थासमेत गर्न सक्नेछ। 

प्रकाशित मिति: : 2020-04-03 18:08:59

प्रतिकृया दिनुहोस्