क्यानडामा एकजना नेपालीलाई पनि कोरोनाको संक्रमण देखिएको छैनः राजदूत भृगु ढुंगाना (अडियो अन्तर्वार्ता)

मनीषा अवस्थी

काठमाडाैं

कोरोना भाइरस (कोभिड–१९) का कारण यति बेला संसारभरिका मानिस त्रसित छन्। अधिकांश देश भाइरसबाट संक्रमित बनिरहेका छन्। यसबीच ९२ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने लाखौं संक्रमित छन्। दिनानुदिन संक्रमण बढिरहेको छ। आफ्नो देश छाडेर परदेशिएका मानिसहरु कोरोनाको संक्रमणका कारण यति बेला झनै बढी त्रासमा बाँचिरहेका छन्। पढाई र रोजगारीका सिलसिलामा नेपालबाट पनि थुप्रै युवाहरु विभिन्न देश पुगेका छन्। अहिले यी अधिकांश नेपाली विभिन्न देशमा ‘लकडाउन’मा परेका छन्। 

यस्तै क्यानडामा बसोबास गर्ने नेपालीको अवस्था, सम्भावित जोखिमबाट बचाउन भइरहेका प्रयासबारे नेपाली राजदूत भृगु ढुंगानासँग बिएल नेपाली सेवाका लागि मनीषा अवस्थीले गरेको कुराकानीः 

कोरोना भाइरसका कारण क्यानडाको समग्र अवस्था के छ?

विश्वभरि फैलिरहेको महामारी कोरोनाको असर क्यानडामा पनि बढ्दो क्रममा छ।  भाइरस संक्रमितको अवस्था दिनप्रति दिन बृद्धि हुँदै गएको देखिन्छ। बिहीबारसम्मको आँकडा हेर्ने हो भने १९ हजार ४ सय व्यक्तिमा भाइरस संक्रमणको पुष्ट भएको छ। यसमा ४ सय ३५ जनाको मृत्यु भइसकेको छ । तथापि भाइरस नियन्त्रणका लागि यहाँको सरकारले हरसम्भव प्रयास गरिरहेको छ।  क्यानडा सरकारले नियन्त्रणका लागि भन्दै विभिन्न प्रकारका ठोस कदमहरु चाल्दै आएको छ।

यहाँको सरकारले गत मार्च १८ तारिखदेखि अमेरिका र क्यानडाको सीमा अत्यावश्यक भ्रमणबाहेक अन्य भ्रमणका लागि बन्द गरेको छ।  विदेशबाट आउने सबै उडानलाई चार प्रमुख विमानस्थलमा मात्रै सिमित गरेको छ। अन्त देशबाट फर्केर आउनेलाई १४ दिनको अनिवार्य ‘सेल्फ क्वारेन्टाइन’ मा राख्ने व्यवस्था गरेको छ । 

यसैगरी यहाँका संघीय र प्रान्तीय सरकारले नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेको छ भने कतिपय प्रान्तमा संकटकाल घोषणा गरिएको छ। सरकारले गरेको अनुरोधलाई यहाँ अनुशासित ढंगले पालना गरेको देखिन्छ।  
त्यहाँ रहेका नेपाली समुदायमा कस्तो प्रभाव देखिन्छ?

अहिले यहाँ ४० हजारको हाराहारीमा नेपाली छन्। हालसम्म कुनै नेपालीमा भाइरस देखिएको छैन। उहाँहरु सुरक्षित नै हुनुहुन्छ। योबाहेक एक दुई जना भिजिटमा आएर फर्किन नपाएको कुरा जानकारीमा आएको छ। उहाँहरुलाई अहिले जहाँ हुनुहुन्छ त्यही सुरक्षित रहनुस् भनेको छौं । उहाँहरु पनि सुरक्षित हुनुहुन्छ ।

यो संसारभरिको त्रास बनेकाले नेपालीमा पनि हुनु स्वभाविक हो। तर, सरकारले देशभित्र र बाहिरका सबैलाई बिना भेदभाव स्वास्थ्यमा पहुँचको कुरा गरिरहेको हुँदा आत्तिहाल्नु पर्ने अवस्था छैन। नेपाली दुतावासले पनि सबै यहाँ रहेका नेपालीलाई समस्या परेमा तत्काल सम्पर्क गर्न आग्रह गरेका छौं । हाम्रो वेभसाइट र फेसबुक पेजमा दुतावासको नम्बर छ। समस्या पर्ने वित्तिकै सम्पर्क गर्न आग्रह गरिरहेका छौं। 

त्यहाँ पढ्न गएका नयाँ विद्यार्थीमा आर्थिक संकट देखिएको छ कि छैन। केही बुझ्नुभएको छ?

यहाँ विश्व विद्यालयले अनलाईन पढाई शुरु गरिसकेका छन्। अहिले विद्यार्थीलाई अनलाईन परीक्षा दिनसक्ने व्यवस्था पनि गरिएको छ। यद्यपि नयाँ विद्यार्थीलाई केही आर्थिक समस्या पर्न सक्ने कुरालाई विचार गर्दै हामीले समन्वय गरिरहेका छौं। नेपाली पढ्ने गरेका विश्वविद्यालसँग कुराकानी गरिरहेका छौं।

उहाँहरुले नेपालीलगायत अन्तर्राष्ट्रिय विद्यार्थीका समस्यालाई सहजिकरण गरिने र समस्या आउन नदिने आश्वासन दिएका छन्। विद्यार्थी भिसा जुनसुकै बेला पनि अप्लाइ गर्न सकिने, अध्ययन र काम सुचारु राख्न सक्ने जानकारी पनि आएको छ, हामीलाई। यसैगरी अहिले दुतावासले ‘इमर्जेन्सी रजिष्ट्रेसन’ भर्न र दुतावासलाई आफ्नो समस्या जानकारी गराउन भनेका छौं। 

इमर्जेन्सी रजिष्ट्रेसन र फोन कलका आधारमा कस्ता खाले समस्या आइरहेका छन् ?

अहिलेसम्मको स्थितिमा त्यस्तो भयावह स्थिति छैन। केही सशंय पक्कै छन् । यो अवस्थामा दुतावासमा आउने गुनासो भनेको ‘लकडाउन’ कति लामो समय जाने भन्ने अन्योल छ। यसैगरी बन्दका कारण आर्थिक समस्या हुन्छ कि भन्ने पनि उहाँहरुमा आशंका पैदा भएको हामीले पाएका छौं। आवासमा आउन सक्ने समस्याबाट पनि नेपाली डराएका देखिन्छन् ।  
त्यसका लागि सबै विवरण हामीलाई उपलब्ध गराइराख्नुस्, केही परिहाल्यो भने हामी समन्वय गर्छौ भन्ने आश्वासन दिइरहेका छौं । हामी उहाँहरुका व्यक्तिगत तथा सामूहिक सबै खाले समस्या समाधानका लागि तम्तयार भएका बसेका छौं। 

समस्या लामो समयसम्म भयो, संकट बढ्न थाल्यो भने त्यसको तयारीका लागि नेपाल सरकारसँग के कस्तो समन्वय भइरहेको छ?

नेपाल सरकारलाई हामीले यहाँका नेपालीको अवस्थाबारे निरन्तर जानकारी गराइरहेका छौं। यसैगरी दुतावासले गरिरहेका काम, सममस्या समाधानको प्रयास क्यानडा सरकारसँग गरिरहेको समन्वय र उहाँले गरिरहेको ‘रेस्पोन्स’बारे सरकारलाई जानकारी गराइरहेका छौं। 

अन्त्यमा, क्यानडामा रहेका नेपाली समुदायलाई के भन्नुहुन्छ?

यो संसारभरीकै चुनौतीको रुपमा देखिएको महासंकट हो। यस्तो अवस्थामा सबैजस्तो देशले मानिसलाई आवतजावतमा रोक लगाएको सन्दर्भमा हामीले पनि यो अवस्थालाई स्वीकार गर्नैपर्छ। त्यसकारण क्यानडा सरकारले जारी गरेका सूचनालाई स–सम्मान पालना गरौं। यस बिषम परिस्थतिमा आफू र आफूसँग रहेका परिवारको स्वास्थ्यको विशेष ख्याल गरौं। सकेसम्म हामीले सामाजिक दुरी कायम गरौं।  

यस संकटलाई हामी आफैले जित्नु पर्नेछ। त्यसैले आफ्नो मनोबल उच्च राखौं। आफ्नो जिम्मेवारी लिएर संयमित बनौं । कुनै समस्या परे तत्काल क्यानडा दुतावासमा सम्पर्क गरौं।  
 

प्रकाशित मिति: : 2020-04-11 07:44:00

प्रतिकृया दिनुहोस्