लकडाउन भित्र कामको चटारोमा स्थानीय

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण नेपालमा फैलिन नदिन सरकारले विगत २१ दिनदेखि मुलुकलाई लकडाउनमा  राखेको छ।

यो समाचार तयार पार्दासम्म विश्वमा १८ लाख ६५ हजार मानिस कोरोनाबाट संक्रमित भएका छन्। यसमध्ये करिब १ लाख १५ हजार मानिसको ज्यान गइसकेको छ।

नेपालमा पनि १४ जनामा संक्रमित देखिएको छ। यसैले थप संक्रमण फैलिन नदिने एक मात्र उपचार घरभित्रै रहनू हो।

सहर बजारका सबै मानिसहरू यतिखेर लकडाउनमा परेर घर भित्रै बसेका छन्। देशैभरका मुख्य बजार र सडक लकडाउनका कारण सुनसान छन्। तर ग्रामिण भेगका मानिसहरु भने आ-आफ्नै खेत बारीमा व्यस्त छन्।

चैत-वैशाखको महिना। कर्णालीवासीका लागि खेतीपातीको उत्तम समय हो। यस्तैमा हिमाली जिल्ला डोल्पाका ग्रामीणबस्तीका बासिन्दा लकडाउनको समयमा खेतीपातीमा ब्यस्त देखिन्छन्।

उनीहरुलाई खेतीपातीको कामले भ्याईनभ्याई छ। त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोटका रूपबहादुर खत्रीलगायत त्रिपुराकोटका बासिन्दा यतिबेला धानको ब्याड राख्न व्यस्त छन्।

‘बजारमा हिँड्डुल गर्न दिँदैनन्। घरमा बसेर पनि सदाको लागि खान पुग्दैन क्यार। घरको खेतीपातीको काम त गर्नै पर्‍यो। अहिले खेती गर्ने समयमा नगरे पछि के खाएर बस्ने?’, खत्रीले बिएल नेपाली सेवासँग भने।

उनी मात्र होइनन् गाउँमा बस्ने अधिकांश मानिसहरू हरेक काममा व्यस्त छन्। कोही घर निर्माणको काममा त कोही खेतीपाती र विकास निर्माणको काममा ब्यस्त भइरहेको त्रिपुरासुन्दरी १ का लवचन्द्र रोकायले बताए।

कोरोना संक्रमण रोकथामको लागि सरकारले नागरिकलाई घरबाहिर ननिस्कन र हुलजमात गरेर नबस्न मास्क लगाएर बस्न र साबुनपानीले नियमित रूपमा सफासँग हात धुन जनचेतनामुलक सन्देश सार्वजनिक सूचना मार्फत आह्रवान गरिरहेको छ।

अन्य जिल्लामा कोरोनाविरूद्धको लडाईमा जनप्रतिनिधिदेखि नागरिकस्तरसम्मले प्रतिबद्दता जनाइरहे पनि डोल्पाका जनप्रतिनिधि भने बेखवर जस्तै बनेको स्थानीयको आरोप छ।

कोरोना संक्रमणको जोखिम र यसको रोकथाम प्रयासको बारेमा जनचेतनामुलक काम नगरिएकाले पनि ग्रामीण क्षेत्रका बासिन्दाले लकडाउन भनेकै बुझ्न नसकेकोले समूह बनाएर खेतीपातीको काममा लागिपरेको नेपाल रेडक्रस सोसाइटी नगर संयोजक तुलबहादुर विष्टले बताए।

गाउँपालिका र नगरपालिकाले कोरोना संक्रमणको पूर्वसर्तकता अनुरुप सामान्य औषधिसहित हेल्थडेक्स र क्वारेन्टाइन स्थापना गरिए पनि मापदण्ड विपरित भएकाले उनीहरुको सक्रियता औपचारिकता निभाउन मात्र भएको स्थानीय मोतीप्रसाद उपाध्यायले आरोप लगाए।

लकडाउनको समयमा पनि जिल्ला बाहिरबाट उद्दारको नाममा मानिसहरुको जिल्ला प्रवेश गर्ने संख्या बढ्दै जानु र नेपालमा कोरोना संक्रमित पनि बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय डोल्पाले लकडाउनलाई थप कडाई गरेको छ।

डोल्पा जिल्ला कोभिड १९ ले पारेको प्रभावबाट उच्च जोखिममा रहेकोले २०७६ चैत २६ गते बिहान ६ बजेवाट २०७७ बैशाख ३ गते मध्यरातसम्म घरबाट बाहिर ननिस्कन, सवारी साधन नचलाउन, तोकेकिएका उडान बाहेक सबै उडान बन्द गर्न औषधि पसल, खाद्य, अस्पतालबाहेक सबै सेवा बन्द गरिएको बताउदै उल्लंघन गरेमा कडा कारवाही हुने गरि निषेधाज्ञ जारि गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-14 12:28:00

प्रतिकृया दिनुहोस्