प्रसुती गृहमा बच्चा जन्माउनेको संख्यामा कमी, गर्भवती घरमै सुरक्षित: डा.गौतम (अडियाे)

मनीषा अवस्थी

काठमाडाैं

कोरोना भाइरस संक्रमणका कारण अस्पताल गएर बच्चा जन्माउने महिलाकाे संख्यामा कमी आएकाे छ। भाइरसको जोखिम न्युनीकरणका लागि नेपाल बन्द अवस्थामा रहँदा बच्चा जन्माउने समय पुगिसकेका महिलाहरु समयमा अस्पताल पुग्न सकिरहेका छैनन्। 

नेपालकै पुरानो परोपकार प्रसुती तथा स्त्री रोग अस्पताल (प्रसुती गृह) थापथलीमा ‘लकडाउन’ पछि दैनिक १० देखि १५ महिला अस्पताल आउन नसकेको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक तथा प्रसुती रोग विशेषज्ञ डा.जागेश्वर गौतमले ‘लकडाउन’भन्दा पहिला दैनिक ७० जनासम्म अस्पताल पुग्ने गरेकाेमा हाल दैनिक ५० देखि ६० जना महिला मात्र आइरहेकाे जानकारी दिए। 

उनले बिएल नेपाली सेवासँग भने, ‘डेलिभरी हुने महिलाहरु अस्पताल आउनै पर्यो। अहिले पनि ५० देखि ६० महिलाको डेलिभरी हुने गरेको छ। पहिला ६० देखि ७० जति हुन्थ्यो। अहिले १० जति महिला घटेको हो।’ गौतमले बाँकी १० जति महिलाहरु अस्पताल पुग्न नसकेर घरमै बच्चा जन्माउन थालेको बताए। उनले भने, ‘बाँकी महिलाहरु अन्य अस्पताल के जान्थे। अस्पताल पुग्न नसकेर घरमै डेलिभरी हुन्छन्।’

अस्पतालमा निरन्तर बहिरंग (ओपिडी) सेवा बन्द भए पनि अत्यावश्यक बहिरंग सेवा सञ्चालनमा छ। निर्देशक गौतमका अनुसार अत्यावश्यक ओपिडीमा दैनिक बढीमा एक जना जति आउने गरेका छन्। सामान्य समयमा भने अस्पतालमा ८ सय जना जति महिलाहरु विभिन्न समस्या लिएर पुग्ने गरेका थिए। 

गर्भवतीले डराउनु पर्दैन

उनले संकटको समयमा गर्भवती महिलाले अत्यावश्यक बाहेक अरु सामान्य समस्या घरमै बसेर ख्याल गर्न आग्रह गरेका छन्। उनले भने, ‘गर्भवती हुनु कुनै रोग होइन। यो अवस्थामा सामान्य समस्या आउनु स्वभाविक नै हो। त्यसकारण सानातिना समस्यासँग नआत्तिनु राम्राे हुन्छ। बरु यस्तो बेलामा रोग प्रतिरोधात्मक क्षमता बढाउनेतर्फ ख्याल गर्न जरुरी हुन्छ।’ 

उनले गर्भवती महिलाले विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले भनेका कुरा पालना गर्न आवश्यक रहेको बताउँदै भने, ‘गर्भवती महिलालाई कोरोना भाइरसको जोखिम बढी हुँदैन नआत्तिनुस्। बरु अरु मानिसजस्तै सुरक्षित रहन अपनाउनुपर्ने उपाय अपनाउनुस्। अहिले जे औषधि खाइरहनुभएको छ। त्यही औषधी थपेर खानुहोस्। एकदमै अर्जेन्ट परे मात्रै अस्पताल आउनुहोस्।’

प्रकाशित मिति: : 2020-04-16 15:11:00

प्रतिकृया दिनुहोस्