हिरोको भूमिकामा ऋषि कपुरको पहिलो फिल्म ‘बबी’ थियो। बलिउडका ‘शोम्यान’ राज कपुरले आफ्नो छोराका लागि यो फिल्ममा ठूलो जोखिम उठाएका थिए। उनले फिल्ममा अनुभवी कलाकारलाई नछानेर १६ वर्षकी डिम्पल कापडियालाई अभिनेत्रीको रूपमा प्रस्तुत गरेका थिए।
सन् १९७० मा राज कपुरले आफ्नो ड्रिम प्रोजेक्ट ‘मेरा नाम जोकर’ फिल्ममा सबै पैसा लगानी गरेका थिए। तर, फिल्मले त्यति बेला राम्रो व्यापार गरेन। यसैले राज कपुरले ठूलो क्षति बेहोर्नु परेको थियो। ‘मेरा नाम जोकर’ फ्लप साबित भएपछि राज कपुरलाई ठूलो धक्का लागेको थियो। उनलाई यो फिल्म सम्पन्न गर्न ६–७ वर्ष लागेको थियो र फिल्म समाप्त गर्न आफ्नो श्रीमतीको गहनासमेत बेच्नु परेको थियो। फिल्मका कारण कपुर खानदान नै ऋणमा डुबेको थियो।
यस्तो अवस्थामा ‘बाबी’ मा उनी अर्को जोखिम मोल्दै थिए। तर, फिल्म सोचेभन्दा हिट भयो। छोराका कारण उनी छिट्टै ऋणमुक्त भए। ‘बाबी’ को सफलतापछि बाहिर हल्ला चलेको थियो, डिम्पल राजकपुर र नरगिसकी छोरी हुन्।
फिल्मको लोकप्रियता चुलीमा पुगेको थियो। भारतको हरेक सिनेमाघर, चोक र गल्लीमा यही फिल्मको विषयमा कुरा हुन्थ्यो।
बीबीसीको एक रिपोर्टअनुसार राज कपुरले ‘बाबी’ को निर्माण सुरु गर्नुअघि त्यति बेलाका स्टार कलाकार धर्मेन्द्र, प्राण, राजेन्द्र कुमारले ‘आरके ब्यानर’ लाई पुर्नजीवित गर्न आफूहरू निःशुल्क काम गर्न तयार भएको प्रस्ताव लगेका थिए।
यति बेला राज कपुरले सबैलाई धन्यबाद दिँदै भनेका थिए, ‘यति बेला मेरो फिल्म फ्लप भइसकेको छ। यसैले मेरो लेभल तल छ। तपाईहरूको माथि। हामी फेरि त्यति बेला सँगै काम गर्नेछौं जब हामीहरूको लेभल बराबर हुनेछ।’
‘बाबी’ लाई हिन्दी फिल्मको पहिलो ‘टिनएज लभ’ कथामा आधारित फिल्म मानिन्छ। ऋषि कपुरको बुवाको रोल प्राणले गरेका थिए। यस्तै डिम्पलको बुवाको रोलमा प्रेमनाथ र ‘मिसेज ब्रिगेन्जा’ को रोलमा दुर्गा खोटेले उत्कृष्ट अभिनय गरेका थिए।