नेपालको यूएसएमएलई परीक्षा रद्द प्रकरण- फलोअप

युएसएमएलईलाई नेपाल र नेपाली चिकित्सकको मानमर्दन गर्ने स्टेटमेन्ट सच्याउन आग्रह

प्रदीप भट्टराई

वासिङ्टन डीसी

नेपाली चिकित्सकहरूको यूएस्एमएलई परीक्षाको नतिजा रद्द भएको घटनालाई लिएर नेपाल र अमेरिकामा रहेका नेपाली चिकित्सकको चासो र चिन्ता बढेको छ। अधिकांश चिकित्सकले यस प्रकरणमा नेपाली परीक्षार्थीमाथि ज्यादति भएको भन्दै यसबाट नेपालको मानमर्दन भएको भन्दै आक्रोश पोखिरहेका छन्।

यसै क्रममा अमेरिकामा चेन्ज डट ओराजीमा युएसएमएलईको नेपालका आवेदकसम्बन्धी भनाइ परिमार्जन र परिबर्तन गर्न एक सार्वजनिक याचिका दायर गरिएको छ। दुई हजार पाँचसय हस्ताक्षरकर्ताको लक्ष्य राखेर रामु खरेलले शुक्रबार दायर गरेको याचिकामा शनिबार यो समाचार लेखिरहेको बेलासम्ममा एकहजार सात सय ४७ जनाले हस्ताक्षर गरिसकेका छन्।

याचिकामा नेपालमा सञ्चालित युएसएमएलई परीक्षाको सम्बन्धमा जनबरी ३१ मा जारी भएको स्टेटमेन्टप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै 'जारी अनुसन्धानको एक भागको रूपमा, युएसएमएलई कार्यक्रमले नेपालसँग सम्बन्धित असामान्य परीक्षा प्रदर्शनको ढाँचा पहिचान गरेको छ, जसले परीक्षार्थीहरूको समूहको लागि परीक्षा परिणामहरूको वैधतालाई चुनौती दिन्छ' भन्ने भनाइ परिमारेजन र परिवर्तन गर्न आग्रह गरिएको छ। युएसएमएलईले सम्बन्धित परीक्षार्थीका बारेमा यस्तो भन्न सके पनि समग्रमा देश र सम्पूर्ण परीक्षार्थीलाई त्यसो भन्न नपाउने भनिएको छ। 

यो भनाइप्रति अपवादलाई छोडेर सबै नेपाली चिकित्सकको समर्थन रहेको देखिन्छ। 

अेरिकाको नर्थ क्यारोलाइनामा रेसिडेन्सी गरिरहेका एक नेपाली चिकित्सकले युएसएमएलईको परीक्षा प्याट्रनमा भएको कमजोरीको फाइदा उठाउँदै केहीले त्यसो गरेका हुन सक्छन्। यसका लागि ती विद्यार्थी जति जिम्मेवार छन्, युएसएमएलईको परीक्षा प्याट्रन पनि त्यतिकै दोषी छ। त्यसैले विद्यार्थीलाई मात्र एकतर्फि दोषी ठानेर कारबाही गर्नु न्यायोचित हैन।'

चेन्ज डट ओआरजीमा दायर गरिएको सार्वजनिक याचिकाको पूर्ण पाठ का लागि यहाँ क्लिक गर्नुहोला। 

उनले विगतमा भएका कमी कमजोरीलाई सच्याउनतिर लाग्नुपर्नेमा सबै नेपाली चिकित्सकलाई एउटै बास्केटमा हालेर नेपालकै मानमर्दन गर्नु निन्दनीय भएको बताउँदै युएसएमएलईले आफ्नो स्टेटमेन्ट सच्याउनुपर्ने मात्र हैन, गरिएको कारबाही नै फिर्ता लिनुपर्ने बताए।

अपवादमा रहेका केही चिकित्सक भने केही नेपाली खराब चिकित्सकको अमेरिकामोहका कारण समग्र नेपाली चिकित्सकमाथि यो दुर्भाग्यपूर्ण परिस्थिति सिर्जना भएको बताउँछन्। न्युयोर्कमा रेसिडेन्सी गरिरहेका एक नेपाली चिकित्सक भन्छन्, 'नेपालको मेडिकल काउन्सिलको परीक्षा तीनपटक फेल हुनेले एकै वर्ष युएसएमएलईका तीन चरणका परीक्षा उत्कृष्ट अंकका साथ पास गरेका छन्। यो आफैंमा अस्वभाविक हो।' 

उनले अगाडि थपे, 'यो त सुरूवात मात्र हो। अमेरिकामा रहेका चिकित्सकका नालायक आफन्त र अनुचित फाइदा लिएर भित्राइएका नेपाली रेसिडेन्सी चिकित्सकको परिणाम आउन बाँकि नै छ। त्यो आएपछि अमेरिकामा नेपाली चिकित्सकलाई काम पाउँन थप समस्या पर्ने छ।'

यो पछिल्लो प्रकरणसँगै अमेरिकामा नेपाली चिकित्सकको रेसिडेन्सी प्रिम्याचिङ नै प्रभावित हुने सम्भावना बढेको  छ। केही भारतीय, पाकिस्तानी र बंगलादेशी प्रशिक्षार्थीहरूले त सबै नेपाली चिकित्सकको रेसिडेन्सीको आवेदन नै रद्द गर्नुपर्ने माग गरेका छन्। रद्द नै नभए पनि अमेरिकामा भारतीय, पाकिस्तानी र बंगलादेशी चिकित्सकहरूको राम्रै प्रभाव भएकाले त्यसको प्रभाव देखिन सक्छ। 

यो समाचार लिंक पनि हेर्नुहोला 
सयौँ नेपाली चिकित्सकको यूएसएमएलई परीक्षा रद्द, तुहिदैछ अमेरिकी सपना

तर, नेपाली चिकित्सकहरूले भने यो एक किसिमको जातिवादी सोच भएको भन्दै यस्तो सोचको भत्सर्ना गरेका छन्। उनीहरूले सबैलाई एउटै बास्केटमा हालेर व्यवहार नगर्न आग्रह गर्दै यस्तो सोच घृणा गर्न लायक भएको बताएका छन्। 

युएसएमएलई प्रकरण नेपाल र नेपालीका लागि मात्र हैन, अमेरिका र नेपालको सम्बन्धमै पनि असर पार्ने विषय भए पनि यसबारेमा दुबै सरकारको खासै ध्यानाकृष्ट भएको देखिदैन। तर, चिकित्सक र चिकित्सा क्षेत्रमा भने यो विषयलाई गम्भीर चासो र चिन्ताको विषयका रूपमा हेरिएको छ। 

प्रकाशित मिति: : 2024-02-05 00:52:00

प्रतिकृया दिनुहोस्