सामाजिक भत्ता पाउने खबरले मायादेवी गाउँपालिकावासी दंग

जीवन बनिया

रुपन्देही
फाइल फाेटाे।

नेपाल सरकारले उपलब्ध गराउँदै आएको दोस्रो कित्ताको सामाजिक सुरक्षा भत्ता बैशाख २९ बाट वितरण गर्ने भएकाे छ।

भत्ता वितरण गर्ने खबरले मायादेवी गाउँपालिकाका बृद्धबृद्धा, एकल महिला तथा अपाङ्ग खुसी देखिएका छन्। औषधिमुलाेका लागि भत्ता कुरेर बसेका कोइली कोहार जस्ताको मुखमा याे खबरले कान्ति फर्किएकाे छ।

मायादेवी गाउँपालिका वडा नम्बर–४ काे रमवापुरमा छोरासँगै बस्दै आएकी काेइलीकाे श्रीमान बिरामीको कारण दस वर्षअघि बितेका थिए। बन्दाबन्दी भएपछि घर चलाउन समस्या भएको बताउने उनी भत्ता पाइसकेपछि घर चलाउन केहि सहज हुने बताउँछिन्।

यस्तै ७० वर्षीय बृद्ध टिमल चमार पनि खुसी देखिएका छन्। लकडाउन भएपछि आफूसँग भएको पैसा सकिएको कारण उनले चामल, नुन र तरकारी किन्न पाएका थिएनन्। अब पैसा पाएपछि महिना दिनकाे सामान जाेहाे गर्ने उनी बताउँछन्।

मायादेवी गाउँपालिकामा सोमबारबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने प्रदेश नम्बर ५ रुपन्देही जिल्ला मायादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद ढुङ्गानाले बताए। फागुन महिनामा सुरक्षा भत्ता गाउँपालिकामा आएको र आफूहरुले बैंकमा पठाइदिएको र कोरोनाको सन्त्रासले गर्दा बैंकले उपलब्ध गराउन नसकेको ढुङ्गानाकाे भनाई थियाे। 

मायादेवी गाउँपालिकाका अन्य वडामा यसअघि नै भत्ता वितरण गरिसकिएको र वडा १, ४, ५, ६ मा भने वितरण गर्न बाँकी रहेको मायादेवि गाउँपालिका अध्यक्ष ध्रुवनारायण चाैधरीको भनाई छ। भत्ता सहज रुपमा कसरी वितरण गर्ने भन्ने विषयमा २६ गते मायादेवी गाउँपालिकामा छलफल भएको थियो। छलफलमा महालक्ष्मी बैंक, मेघा बैक, प्राइम बैंकका पदाधिकारीले भाग लिएको अध्यक्ष चाैधरीले जानकारि दिए। एक दिनमा २०–३० जनालाई मात्र सामाजिक सुरक्षा भत्ता वितरण गरिने मायादेवी गाउँपालिका ४ गुन्डीका वडा अध्यक्ष धनपाल मल्लाहले बताए।

सामाजिक दूरी कायम गरेर टोकनको विधि अपनाउँदै भत्ता वितरण गरिने मल्लाहकाे भनाइ छ। कोरोनाको सन्त्रासले बन्दाबन्दी केही खुकुलो भए पनि सार्वजनिक यातायात नचल्दा जेष्ठ नागरिक,एकल महिला, बृद्धबृद्धा र अपाङ्ग भने पैदल यात्रा तय गरेर सामाजिक सुरक्षा भत्ता लिन बैंक पुग्नुपर्ने बाध्यता आफ्नै ठाउँमा छदैछ। 

‘हामीले मिटिङमा बैंकसम्म हिडेर आउन गाह्राे पर्ने व्यक्तिलाई घरघरमै पैसा पुर्याउने प्रस्ताव राखेका थियाैं। तर, धेरै साथीहरुले मान्नु भएन,’मल्लाहले बिएल नेपाली सेवासँग भने। 

 

प्रकाशित मिति: : 2020-05-10 19:16:00

प्रतिकृया दिनुहोस्