दार्चुलाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट तत्काल स्थापना हुने

श्याम भट्ट

दार्चुला

दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजीकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) तत्काल स्थापना हुने भएको छ।

व्यास गाउँपालिका‐१ मा पर्ने गागा क्षेत्रमा पर्ने छाङरुमा बिओपी स्थापना गरिन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेडक्वाटर दार्चुलाका गुल्मपति डम्बरबहादुर बिष्टले पुष्टि गरे।

विगतदेखि नै ६ महिना पुरै सुरक्षा विहिन हुने सो क्षेत्रमा बाह्रै महिना सुरक्षा दिन पहिलो पल्ट सशस्त्र प्रहरीको बिओपी स्थापना हुन लागेको उनले बिएल नेपाली सेवालाई बताए।

 ‘विगतदेखि नै ६ महिना मात्रै राज्यको उपस्थिति रहदै आएको उत्तरी सिमा क्षेत्रमा बाह्रै महिना उपस्थिति हुने गरी बिओपी स्थापना हुन्छ’, उनले भने, ‘यसै हप्ताको आउने बुधबार गागामा बिओपी स्थापनाका लागि गृह मन्त्रालयमा लेखापढी भैइरहेको भन्ने जानकारी प्राप्त भएको छ।’

गागाको बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० देखि २५ जना जना परिचालन हुने बताइएको छ। प्रधान कार्यालयका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो क्षेत्रमा बिओपी स्थापनाका लागि आवश्यक पर्ने सबै कुराहरु तयारी हालतमा राख्न निर्देशन गरेअनुसार तयारी पुरा गरेको समेत उनले बताए।          

बिओपी स्थापनाका लागि आवश्यक पर्ने बन्दोबस्तीका सामाग्री, खाद्यान्न, भौतिक संरचनालगायतको व्यवस्थापन गरि सकिएको उनले जानकारी दिए।

‘सशस्त्र प्रहरीलाई ६ महिना पुग्ने खाद्यान्न लगायत अन्य सबै कुराहरु तयारी अवस्थामा राखेको छ,’उनले भने,‘छाङरु गाउँभन्दा केही तल पर्ने गाँगा क्षेत्रमा स्थायी संरचना निर्माण नहुँदासम्म सशस्त्र प्रहरीको बिओपी छाङरुका एक स्थानियको घरमा भाडामा बस्ने छ।’

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध गतिविधि, सिमा रक्षा, ओखेटो पहार ओसार पसार, मानव वेचविखन लगायतका गतिविधिलाई पूर्णरुपमा नियन्त्रण एवं न्यूनिकरण गर्ने उनको विश्वास छ।

यसैगरी लेकम गाउँपालिकाको लाली र मालिकार्जुन गाउँपालिकाको जोलजिवीमा समेत छिट्टै बिओपी स्थापना गरिने गुल्मपति बिष्टले जानकारी दिए। भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिक तिर्थस्थल कैलाश मानसरोवसम्म जाने सडक निर्माण गरी उद्घाटन गरेपछि अहिले सीमा रक्षा गर्नुपर्ने आवाजहरु उठिरहेका छन् ।

यसकै लागि सरकारले सीमा सुरक्षाको लागि विभिन्न निकायहरुसँग छलफल गरिरहेको छ।

प्रकाशित मिति: : 2020-05-11 11:52:06

प्रतिकृया दिनुहोस्