विश्वास दुर्घटित भएर अँखाबाट
यतिबेला मेरो देश
भुगोल रोइरहेछ
सुनामी चलेर शान्तिको सागरबाट
अखन्डित युद्व बगिरहेछ नदीहरूमा
देशको हाँसोमा सङ्गिन तेर्सिएर
छिर्का हानेको छ रगत सीमा स्तम्भहरूमा
शालिक रोएर ईतिहास
मुर्छा परेको छ चोक, गल्ली र गल्छेडाहरू
सहित भत्किएर मुटु
शिरा र धमनी सङ्क्रमण भएको छ
बन्दकी राखेर क्रुरता
हिट्लरको जिजिबिसा बाँचिरहेछ यहाँ
दाइ चलिरहेछ स्वतन्त्रताको
जहाँ निसंकोच बलात्कार भोगिरहेछ देश
लग्छ - समय नाङ्गिएर
उत्तानो परेको छ बिच सडकमा
जसलाई सबैले भोग्न छुटछ।
यहाँ प्रतिस्पर्धाको होड चलेको बेला
प्रत्येकले बहिरो विजयको घोषणा गरिरहेछन्
स्वनिर्णयको अल्कोहल पिएर
विश्वास मातिरहेछ यतिबेला
स्वतन्त्रताको बगैचामा उम्रिएका
पारिजात चाहनाहरूमा
सङ्क्रमणकालिन धमिरा लागेको छ
अहमता बिउँझिएर ज्वालामुखी दन्किएको बेला
संवेदना मरेर दुर्गन्धित भएको छ
मोतिबिन्दु भएको छ सार्वभौमिकताको आँखामा
यो अन्धकारको साम्राज्य फैलिएको बेला
ओ मेरो प्रिय मान्छे
मलाई एउटा यस्तो छुट्टै अवसर देउ
म आगोमा निर्भिक हिड्न सक्ने
एउटा कुशल सन्तान जन्माइदिन्छु।
(२०६७ मा प्रज्ञा प्रतिष्ठानको कविता महोत्सवमा प्रथम भएको कविता)