लकडाउनलाई खुकुलो बनाउन विज्ञापन संघको माग

नेपाल विज्ञापन संघ (आन) ले लामो समयसम्मको लकडाउनले सर्वसाधारण जनता एवं उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रमा पर्न जाने असरलाई हृदयंगम गरी विस्तारै सुरक्षित तवरबाट जनजीवनलाई सहज हुने गरी केही खुकुलो पार्न आवश्यक भएको जनाएको छ ।

आम नागरिकको स्वास्थ्य एवं जनजीविकालाई पुनर्विचार गर्दै लकडाउनको तरिकालाई विश्लेषण गरी अन्य समाधानका उपायहरुको खोजी गर्न नेपाल सरकारसमक्ष संघले अनुरोध गरेको छ ।

संघका अध्यक्ष रविन्द्रकुमार रिजालले विज्ञप्ति जारी गर्दै उद्योग, व्यवसाय, कल कारखाना, सेवा उद्योग, आमसञ्चार क्षेत्रलाई निरन्तर बन्द गरी रहँदा आम जनसमुदाय, उपभोक्ता, कामदार, मजदुर, व्यवसायी, पेसाकर्मी सञ्चालक, उद्योगीलाई आर्थिक रुपमा क्षतिका अलावा अरबौंको लगानी समेत डुब्‍ने यर्थाथतालाई समेत सोचेर राज्यले एक अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने जनाएका छन् ।

रोगको माहामारी नियन्त्रण एवं व्यवसायको सञ्चालन दुवै पक्षलाई सँगसँगै अगाडि बढाउन सरोकारवालापक्ष तथा विशेषज्ञ समेतको परार्मश गरी मध्यम मार्ग निकाल्न अपरिहार्य देखिएको संघले जनाएको छ ।

राज्यको सामु अहिले आम सर्वसाधारणको बचाउ र आर्थिक कृयाकलापको सुचारु गर्ने दुई प्रमुख चुनौती रहेका छन् । जसका लागि उद्योग व्यवसायीले सुरक्षित तवरबाट व्यवसायको क्रमिक सञ्चालन गर्ने र सरकारबाट पनि त्यसको उचित वातावरण बनाउन सुरक्षाकर्मीको परिचालन र अधिकभन्दा अधिक संक्रमित व्यक्तिहरुको जाँच परीक्षण गर्न जरुरी रहेको संघले जनाएको छ ।

प्रकाशित मिति: : 2020-06-01 21:33:25

प्रतिकृया दिनुहोस्