भारतीय प्रधानमन्त्री मोदीलाई नारायणकाजीको आग्रह- नेपालको एक इन्च भूमि पनि लिन्नँ भनेर पशुपतिनाथ, मुक्तिनाथबाट शक्ति लिनुहोस् (भिडियो)

नेपाल कम्युनिष्ट पार्टी नेकपाका राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पशुपतिनाथ, मुक्तिनाथको आराधाना गरी शक्ति लिन आग्रह गरेका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेता श्रेष्ठले नेपाल तपोभूमि, पवित्रभूमि रहेको उल्लेख गर्दै श्रेष्ठले पशुपतिनाथ, मुक्तिनाथबाट शक्ति र आशीर्वाद लिएर भारतीय प्रधानमन्त्री मोदीले तपोभूमि नेपालको एक इन्च पनि भूमि लिन हुँदैन भन्नुपर्ने बताएका हुन्।

श्रेष्ठले पशुपति, मुक्तिनाथको आराधाना गरी कब्जा गर्ने प्रवृत्ति सच्याउनसमेत मोदीलाई आग्रह गरेका छन्।

‘तपाईंले पशुपतिनाथ, मुक्तिनाथसँग आराधाना गर्नुस्। शक्ति लिनुस्। आशीर्वाद लिनुस्। यस्तो तपोभूमिको एक इन्च भूमि पनि हामीले लिन हुँदैन भनेर,’ सांसद श्रेष्ठले भने।

भारतले हिजोको कब्जा गर्ने प्रवृत्ति सच्याएर र सत्यका पक्षमा उभिन उनले मोदीलाई सुझाए। मोदीले यसो गरेमा बधाई र धन्यवादको पात्र मात्र होइन नेपाल-भारत सम्बन्ध थप उचाइमा उठाउने पात्र बन्ने श्रेष्ठको भनाइ छ।

सांसद श्रेष्ठले मोदी आध्यात्मिक प्रकृतिको व्यक्तित्व भएको पनि उल्लेख गरे। उनले मोदीलाई महाभारतको एक प्रसंग पनि स्मरण गर्न अपिल गरेका छन्।

‘तपाईंलाई सायद महाभारतको एक प्रसंगको स्मरण होला। धृतराष्ट्रको महारानी गान्धारीले जब आफ्नो छोरा दुर्योधनले कुरूक्षेत्र लडाइँमा जान विजयको निम्ति आशीर्वाद लिन आए त्यो बेलामा आशीर्वाद दिन अस्वीकार गरिन्। आशीर्वाद त दिइन्, आफैंमाथि विजय प्राप्त गर्न। असत्यको विरूद्ध आफूभित्रको महत्वकांक्षाको विरूद्ध विजय प्राप्त गर्न। आफैंलाई जित भनेर आशीर्वाद दिइन्,’ श्रेष्ठले भने।

उनले कुनै पनि छिमेकीसँग विशेष राजनीतिक सम्बन्ध राख्न नचाहेको पनि उल्लेख गरे।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्तासमेत रहेका श्रेष्ठले लिपुलेक प्रयोगबारे चीन र भारतबीच भएको सहमती सच्याउनु पर्ने माग गरेका छन् ।

‘चीन र भारतबीच लिपुलेकको बारेमा भएको सम्झौताले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दैन, बरु अतिक्रमित गर्ने प्रवृत्तिलाई नै बल पुर्याउँछ,’ मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले भने, ‘चीनलाई त्यो सहमतीको बारेमा आत्मसमीक्षा गर्न, त्यसबारे आफ्नोस्थिति स्पष्ट पार्न र सच्याउनका लागि विशेष अपिल गर्न चाहन्छु ।’

१ जेठ २०७२ मा चिनियाँ प्रधानमन्त्री ली खस्याङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लिपुलेक नाकालाई व्यापारिक तथा तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमती भएको थियो ।

सार्वभौम मुलुक नेपालको भूभाग प्रयोगबारे दुई छिमेकीले एकतर्फी सहमती गरेयता त्यसको व्यापक विरोध हुँदै आएको छ ।

‘छिमेकीसँग हामी कुनै कार्ड खेल्न चाहन्नौं’ उनले भने।

उनले अतिक्रमित भूमि फिर्ताका लागि राष्ट्रिय एकतासहित कूटनीतिक संवादका माध्यम नेपालले चाहेको पनि बताए।

‘हाम्रो भू-भाग एउटा छिमेकी मित्रराष्ट्रले किन अतिक्रमण गर्‍यो होला? त्यो अतिक्रमित भू-भाग हामीले प्राप्त गर्नुपर्छ, हामीलाई फिर्ता गरिनुपर्छ भन्दा उल्टो हामीमाथि किन आरोप लगाइयो होला?,’ श्रेष्ठले प्रश्न गरे, ‘आक्रोश, आवेग कतिपयबेला उत्पन्न हुन सक्छ। डिप्लोमेसी नै विश्वमा पहिलो लाइन हो।

कोही पनि आवेग आक्रोश र उत्तेजनामा नआऔं। कूटनीतिक संवादबाट समस्या समाधान गरौं।’

भारतलाई छिटो कूटनीतिक माध्यमबाट संवादमा आउन उनले अपिल गरेका छन्।

प्रकाशित मिति: : 2020-06-02 12:25:01

प्रतिकृया दिनुहोस्