किट अभावका बेला आफैं खरिद गरी कोरोना परीक्षण गर्दै गन्यापधुरा गाउँपालिका

श्याम भट्ट

डडेल्धुरा
गन्यापधुरा गाउँपालिका क्वारेन्टाईनमा रहेका स्थानीयको आरडीटी जाँच गर्दै स्वास्थ्यकर्मी। तस्बिरः श्याम भट्ट

कोरोना भाईरस संक्रमण परीक्षण गर्ने किट नेपालभरि अभाव भईरहँदा डडेल्धुराको गन्यापधुरा गाउँपाकिलाले आफैं खरिद गरी परीक्षण सुरू गरेको छ।

किट अभाव भएपछि कोरोना परीक्षण प्रभावित भएको डडेल्धुरामा  गाउँपालिकाले आफैं किट खरिद गरि स्वाव संकलन गरिरहेको छ।

किट अभावमा क्वारेन्टाइन बसेकाको कोरोना भाईरस संक्रमण परीक्षण हुन नसकेका बेला गाउँपालिकाले आफैं किट खरिद गरि स्वाव संकलन गरि परीक्षणका लागि पठाएको छ भने आरडीटी जाँच गरिरहेको छ।

गाउँपालिकाले कोरोना परीक्षण गर्न भिटिएम र आरडीटी किट खरिद गरेको हो। अहिलेसम्म ६३ जनाको थ्रोट स्वाव संकलन गरि परीक्षणका लागि पठाईएको गाउँपालिकाले जानकारी दिएको छ।

गन्यापधुरा गाउँपालिकाले आफैं भिटिएम खरिद गरी पीसीआर बिधिबाट कोरोना भाईरस कोभिड–१९ परीक्षणका लागि स्वाव संकलन गरि सेती प्रादेशिक अस्पताल धनगढी पठाएको छ ।

भारतबाट आएर क्वारेन्टाइन बसेका १४ दिनभन्दा बढी भईसकेका ६३ जना स्थानीयको कोरोना परीक्षणका लागि शनिबार नमुना संकलन गरि पठाईएको गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले बताए। उनीहरूको रिपोर्ट आउन बाँकी छ। जिल्लाका अरू स्थानीय तहमा किट अभाव भएपछि मंगलबार देखि मात्रै परिक्षण सुरू भएको छ ।

गाउँपालिकाले एक सय वटा भिटिएम र एक सय वटा आरडीटी किट खरिद गरी परीक्षण सुरु गरेको उनले बिएल नेपाली सेवालाई जानकारी दिए। अहिले गाउँपालिकामा स्वास्थ्य कार्यालयबाट थप एक/एक सय भिटिएम र आरडीटी किट पठाईएको उनले बताए।

सात वटा स्थानीय तह रहेको डडेल्धुरामा स्थानीय स्तरबाटै भिटिएम खरिद गरी स्थानीयको स्वाब सकंलन गर्ने गन्यापधुरा गाउँपालिका पहिलो हो।

गन्यापधुरा गाउँपालिकामा मंगलबार दिउँसो सम्म भारतबाट आउने स्थानीयको संख्या सात सय ५४ छ। बेलुकीसम्म आठ सय बढी हुने गाउँपालिका प्रवक्ता एवं वडा नं. २ का अध्यक्ष ईन्द्र बहादुर कार्कीले बताए।

गन्यापधुराबाट तीन हजारको संख्यामा स्थानीय भारत गएको तथ्यांक छ। अहिले दिनहुँ भारतबाट स्थानीय घर फर्किरहेका छन्।

गाउँपालिकामा जिल्ला स्वास्थ्य कार्यालयको प्राविधिक सहयोगमा शनिबारदेखि नमुना संकलन भईरहेको छ ।

आरडीटी नेगेटिभ देखिए पछि ९५ जना घर गए

क्वारेन्टाईनमा बसेका ९५ जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएपछि मंगलबार ९५ जना घर गएका छन्। भारतबाट आई क्वारेन्टाईनमा बसेका १० दिन बढी भएकाको आरडीटी जाँच गर्दा कोरोना भाईरस संक्रमणको रिपोर्ट नेगेटिभ आएपछि घर पठाईएको गाउँपालिका प्रवक्ता कार्कीले बिएल नेपाली सेवालाई बताए।

वडा नं. ४ कैलपालमाण्डौंमा बनाईएको क्वारेन्टाईनमा बसेका ९५ जनाको आरडीटी जाँच गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए।

घरमा पनि अलग्गै बस्ने गरी स्थानीयको आरडीटी गरि घर पठाईएको उनले बताए। एक साता जति होम क्वारेन्टाईनमा अलग्गै कोठामा बस्ने र समाजमा घुलमिल नहुने गरी आरडीटी रिपोर्ट नेगेटिभ आएकालाई घर पठाईएको उनले बताए।

प्रकाशित मिति: : 2020-06-03 07:45:16

प्रतिकृया दिनुहोस्