पर्सामा ११ महिनामा ३३ जना बलात्कृत, लकडाउनमा समेत  रोकिएन बलात्कार

पर्सामा पछिल्लो समय बलत्कारका घटनामा उल्लेख्य वृद्धि भएको छ। कोरोनाको सम्भावित संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनमासमेत बलत्कारको घटनाले पर्सामा निरन्तरता पाएको हो।

हरेक महिना बलत्कारको घटना दर्ता हुने जिल्ला प्रहरी कार्यालयमा लकडाउनको समयमा पनि बलत्कार घटनामा कुनै कमी नआएको तथ्याकंले देखाएको छ।

यहाँ हरेक महिनामा १ देखि आधा दर्जनसम्म बलत्कारका घटना दर्ता हुने गरेको जिल्ला प्रहरी कार्यालय पर्साकी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।

कोरोना भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले लकडाउनको निर्णय गरेसँगै जनता आ–आफ्ना घरमा छन्। अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन सरकारले कडाई गरेको छ । यस्तो बेला पनि बलात्कारका घट्नामा कुनै कमि नआएको पन्तले बताइन्।

‘गत चैत ११ गतेदेखि देशमा लकडाउन सुरू भएपछि  यो अवधिमा ६ वटा बलात्कारका घटना प्रहरीमा दर्ता भएका छन्’, एसपी पन्तले भनिन्, ‘दर्ता भएकामध्ये जबर्जस्ती करणीका घटना ४, अप्राकृतिक मैथुन १ र बाल यौन दुर्व्यवहारको एउटा घटना प्रहरीमा दर्ता भएको छ।’

लकडाउन शुरू भएपछि तुलनात्मक रुपमा बलात्कार घट्ने अपेक्षा गरिएको थियो। तर, बलात्कार पुरानै ग्राफमा देखिएको छ।

महिला तथा बालबालिकाको अपराधमा संलग्न १४ जना अभियुक्तलाई यसबिचमा पर्सा प्रहरीले नियन्त्रणमा लिइएको र अनुसन्धान अगाडि बढाइएको छ भने बाँकीको खोजी भइरहेको उनले जानकारी दिइन्।

चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा पर्सामा बलात्कारका ३३ र जर्बजस्ती करणी उद्योगका ४ वटा घटना प्रहरीमा दर्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय पर्साको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/७७ को भदौं, असोज र फागुन महिनामा सबैभन्दा बढी बलत्कारका घटना भएका छन्।

चालु आर्थिक वर्षको साउनमा २, भदौंमा ५, असोजमा ५, कात्तिकमा ४ , मंसिरमा २, पुसमा ३, माघमा १, फागुनमा ६ , चैतमा २ वैशाखमा २ र जेठमा १ जना गरी कुल ३३ जना महिला तथा बालिका बलात्कृत भएका छन् ।

३ वर्ष यताको तथ्याकं हेर्ने हो भने पहिलेको भन्दा अहिले बलत्कारको घटना बढ्दो क्रममा छ। आर्थिक वर्ष २०७४/७५ मा जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार १६ वटा बलात्कार र ९ वटा  जर्बजस्ती करणी उद्योगका घटना दर्ता भएका थिए।

त्यसै गरी आर्थिक वर्ष २०७५/७६ मा चालु वर्ष झै बलात्कारका ३३ र जर्बजस्ती करणी उद्योगका ४ घटना प्रहरीमा दर्ता भएका छन्।

बलत्कारको घटनामा अधिकांश बालिका पीडित भएको एसपी पन्तले बिएल नेपाली सेवालाई जानकारी दिइन्। लकडाउनको समयमा पनि बलत्कारको घटना नरोकिनुको कारण बालबालिकाले आफूलाई जोगाउन नसक्नु, गरिबी, विकृत मानसिकता भएका मानीसहरू आफूलाई नियन्त्रण गर्न नसक्नु, असहमतिमा यौन सम्बन्ध राख्नु र कानुन नजानेर पनि यस्ता घटनाले निरन्तरता पाइरहेको एसपी पन्तको दाबी छ।

‘यस्तो घटना रोक्न प्रहरी प्रशासनसँगै अभिभावकको अहम् भूमिका हुन्छ, अभिभावकत्वको जिम्मेवारी सही तरिकाले निर्वाह नगरे बालिकाहरू यस्तो घटनाको सिकार हुने गर्छन्’, उनले भनिन्, ‘गरिब परिवारमा यस्तो समस्या बढि हुने गरेको पाइएको छ, अभिभावकहरू बाहिर काममा जाने र गलत नियत भएका मानिस त्यस्तो बेला मौकाको फाइदा उठाइरहेका हुन्छन्।’

पर्सा जिल्ला भारतको खुला सीमासँग जोडिएकाले कतिपय अवस्थामा अपराधीहरू सीमापार भागेर गएका हुन्छन्। ‘महिला र बालबालिकाको कुरा आउने वित्तिकै प्रहरी संवेदनशील हुन्छ। अपराधिले बच्न विभिन्न उपाय अपनाइ रहेका हुन्छन्। तर प्रहरीले यस्तो अवस्थामा पनि दोषिलाई पक्राउ गर्न सफल भएका छन्’, उनले भनिन्, ‘यस्तो अवस्थामा पीडित तथा उनका अभिभावक पनि दोषीको बारेमा प्रहरीलाई समयमै जानकारी गराए यस्तो घटनामा दोषिमाथि तत्काल कारवाही प्रकृया अगाडि बढाउन सहज हुनेछ।’ 

आफूमाथि यौन दुर्व्यवहार हुँदा कहाँ जानुपर्छ भन्नेसमेत थाहा नहुनु तथा उल्टै बेइज्जत हुने डरले कतिपय घटना सहने र लुकाउने प्रवृत्ति बढेकाले तराइ-मधेशमा यस्ता कतिपय घटना लुकिरहेका छन्।

प्रकाशित मिति: : 2020-06-08 21:35:41

प्रतिकृया दिनुहोस्