नवराज विकको प्रेमिकाको बयानः ‘बुवा, दाइ र गाउँलेले ६ जनालाई कुटीकुटी मारे’

२ रात नवराजकै घरमा सुतेकी हुँ

रूकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा ६ जनाको ज्यान जाने गरी भएको घटनाको मुख्य केन्द्रमा सोतीकै मल्ल थरकी एक किशोरी छन्।

यो हत्याको मुख्य कारण उनै किशोरी र जाजरकोटको भेरी नगरपालिकाका नवराज विकको प्रेम सम्बन्धका रहेको देखिएको छ।

यही केन्द्रमा रहेका दुई पात्रमध्ये एक नवराज विकको ज्यान गइसकेको छ भने अर्की पात्र उनकी प्रेमिका अहिले प्रहरी हिरासतमा छन्। ती किशोरीले घटनाका बारेमा प्रहरीमा दिएको बयान अनुसार उनी आफ्ना प्रेमी नवराज विकको घरमा २ पटकसम्म बास बसेको बताएकी छन्।

युवतिले दिएको बयानमा भनेकी छन्, ‘मृतक नवराजसँग मेरो भेट २०७५ साल फागुनमा सामाजिक सञ्जाल फेसबुकमा भएको हो। सुरूमा उनैले फ्रेण्ड रिक्वेष्ट पठाएका थिए मैलै एक्सेप्ट गरेकी हुँ। त्यसपछि हामी बिच कुरा हुँदै गयो।’

त्यसपछि २०७६ साल पुस १४ गते जाजारकोट खंलगामा लागेको रमाईलो मेला हेर्न गएको र त्यो रात नवराजकै घरमा बास बसेको उनले बयानमा भनेकी छन्। ‘मिति २०७६ साल पुस १४ गते जाजरकोट खंलगामा रमाईलो मेला लागेकाले मेला हेर्न गएको मौकामा मृतकसँग भेट भएकोले सो रातमा मृतककै घरमा बाँस बसी भोलिपल्ट घर गएकी हुँ, सो पश्वात पनि मिति २०७६ पुस महिना गते एकिन भएन, मृतक नवराजको बहिनी नाता पर्ने मेरो साथी पूजाको भाइको जन्मदिनमा गएको थिएँ, त्यतिबेला पनि मृतककै घरमा गई सुतेर भोलिपल्ट घर गएकी हुँ’, उनले बयानमा भनेकी छन्, ‘सो समयमा मृतकका घर परिवारले मलाई विवाह गरी आएकी भन्ने सोचेका रहेछन्, तर म विवाह गरी गएकी होईन, निजले फोनमा मलाई विवाह गरौं भन्ने कुरा गर्थ्यो, तर मैले मेरो उमेर सानै छ भन्दै आएकी थिएँ।’

यद्यपी नवराजको घर परिवारले आफूलाई विवाह गरेर ल्याएको सम्झेकोसमेत उनले वयानमा भनेकी छन्।

त्यसपछि नवराज नियमित रूपमा आफ्नो घरमा आउने जाने गरेको उनले बयानमा भनेकी छन्। ‘पहिला मेरो बुवा ममीले थाहा पाएपछि नवराजलाई प्रहरीको जिम्मा लगाउनु भएको थियो। तर पनि उसले मानेन।’

उनले अगाडि भनेकी छन्, ‘मलाई मिति एकिन भएन मृतक नवराज बिकले आफ्नो साथी चरी भन्नेलाई साथमा ल्याई मेरो घरमा आई म र बज्यै घरमा सुतिरहेको अवस्थामा झ्यालबाट ढुङ्गा र मकैको खोया समेतले हान्दै गरेको बज्यैले देख्नु भएको रहेछ।  भोलिपल्ट बिहान पनि निज नवराज बिक समेत मेरो घर नजिकै हिडिरहेको देखी मेरो बुवा आमा समेतले संम्झाई आफ्नो घर तर्फ पठाएकोमा २०७७ साल बैशाख महिनाको गते याद भएन, निजले आफ्नो साथी सन्जु बिकलाई ल्याई मेरो गाउँमा आएको रहेछ।

तर मैले देखिन गाउँलेले भनेको सुनेकी थिएं। मिति २०७७।०१।१७ गते राती ८/९ बजे समेत निजले अन्य २ जना साथीहरुलाई ल्याई मेरो घर नजिकै आएको मौकामा मेरो बुवा, आमाले थाहा पाई वडा अध्यक्ष प्रतिवादी डम्बर बहादुर मल्ल, विनोद मल्ल लाई समेत खबर गरी निजलाई गाउँलेहरु भेला जम्मा भई नियन्त्रणमा लिई राति नै प्रहरीलाई बुझाई छोडेका थिए।

उनले घटना भएको भोलीपल्ट आफुले साथी मार्फत उक्त कुरा थाहा पाएको बयानमा भनेकी छन्।

मेरो घरमा आई बस्ने गरेको थिएन, मैले मृतक नवराज बिकलाई फेसकुबमा ब्लक गरेदेखि निजसँग कुनै कुरा भएन। मेरो भाइको मोबाईलबाट म्यासेजमा कुराकानी भएको थियो।  

वारदातको दिन नवराज बिकले केटाहरू ल्याएर आउँदै छन् भन्ने कुरा मलाई थाहा थिएन।  मेरो बहिनी नाता पार्ने सुस्मा मल्लसँग निज नवराज बिकले लकडाउन खुलेपछि मलाई लिन केटाहरु लिएर आउँछु भनेर भनेको रहेछ। सो कुरा निज बहिनीले मेरो आमालाई भनेकी रहेछ सो कुरा आमाले मलाई मिति २०७७।०२। १ र २ गते तिर भनेपछि मात्र थाहा पाएकी थिएँ।

मिति २०७७।०२।१० गतेको दिन म घर कोठामा टिभी हेरी रहेकी थिए। मेरो घर नजिक नवराज बिक समेतका केटाहरु आएको अवस्थामा मेरो आमाले गाली पठाउनु भएको रहेछ।  सो कुरा आमाले मलाई भनेपछि थाहा पाई बाहिर आउँदा गाउँका महिलाहरु भेला जम्मा भएका थिए।

तर मैले केटाहरुलाई देखिनँ। म घटनास्थलमा गएकी छैन। सो दिनको दिउँसो के कसो भयो मलाई थाहा छैन। सोही दिनको साँझ डिल्ली मल्ल मेरो घरमा आई २ जना केटाहरु भेरी नदीमा बगे भन्ने कुरा आमासँग गरेपछि थाहा पाएकी हुँ।

भोलिपल्ट साथीहरुसँग फेसबुकमा कुराकानी हुँदा नवराज बिकको मृत्यु भएको सुनेँ। पछि बुझ्दा मेरो बुवा, दाई समेतले नवराज बिक समेतलाई लखेट्दै घेरा हाल्दै वारदात स्थानमा पुर्‍याई ६ जना केटाहरुलाई कुटपिट गरी मारेको पूर्ण विश्वास लाग्छ’, उनले बयानमा भनेकी छन्।

प्रकाशित मिति: : 2020-06-15 22:12:27

प्रतिकृया दिनुहोस्