‘व्यवस्थित वीरगन्ज बनाउने अभियानमा आम नागरिकको अहम् भूमिका’

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले व्यवस्थित वीरगञ्ज बनाउने अभियानमा आमनागरिकको अहम् भूमिका भएको बताएकी छिन्। समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय पर्साले आइतबार कोभिड–१९ संक्रमण नियन्त्रण तथा व्यवस्थित वीरगञ्जका लागि जनसरोकारवाला पक्षसँग गरेको अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएकी हुन्।

‘नगर प्रमुखलाई काम गर्न बाध्य बनाउने काम नगरवासीकै रहेको र सधै संघ संस्थालाई मात्र दोष दिनुभन्दा हरेक नागरिकले आ–आफ्नो क्षेत्रबाट असल नागरिकको भूमिका निर्वाह गरे कोभिड मात्र नभइ हरेक समस्यामा जित हासिल गर्न सकिन्छ,’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘बजार व्यवस्थापनदेखि ट्राफिक तथा फोहोर व्यवस्थापनमा आम नागरिकले सहयोग गरे सुन्दर शहर निर्माण हुन समय लाग्दैन।’   

कार्यक्रममा एसपी पन्तले सुन्दर व्यवस्थित वीरगञ्ज अभियानका लागि समुदाय प्रहरी साझेदारी कार्यक्रममा सबै सरोकारवाला निकाय एवं संघ संस्थासँग प्रहरी सधै समन्वय गरेर अगाडि बढ्न तयार रहेको बताइन्।

प्रहरीले स्वयम् कति धेरै समस्याबाट गुज्रिरहेको भएपनि प्रहरीको समस्या जनप्रतिनिधिदेखि आम नागरिकले नबुझिदिँदा काम गर्न कठिनाइ हुने गरेको उनले स्वीकार गरिन्।

एसपी पन्तले लकडाउन खुकुलो भएर बजार खुलेपछि कोरोनाको संक्रमण बढ्न सक्ने भन्दै सर्वसाधारणलाई बजारमा निस्कदाँ अनिवार्य सामाजिक दुरीको पालना गर्न, मास्क लगाउन तथा नगरको सरसफाइमा ध्यान दिन आग्रह गरिन्।

उनले ट्राफिक व्यवस्थापनमा समेत नागरिकले आफ्नो कर्तव्यको पालना नगरेकाले यसतर्फ गम्भीर भएर प्रहरी प्रशासनलाई सहयोग गर्न आग्रह गरिन्। 

यस्तो समयमा बजार व्यवस्थापनदेखि फुटपाथ, जनचेतनामुलक कार्यक्रम, एरिया विभाजन एवं स्वयमसेवक परिचालन र सरसफाइ कार्यक्रमको बारेमा महानगर, वीरगञ्ज उद्योग वाणिज्य संघ, आम नागरिक तथा संचारकर्मी एकतावद्ध भएर अगाडि बढ्नुपर्ने अवस्था आएको  उनले बताइन्।

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीले वीरगञ्जलाई व्यवस्थित बनाउन महानगरपालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए।

उनले बजार एवं ट्राफिक व्यवस्थापनका लागि लाग्ने खर्चदेखि पछि नहट्ने। तर नागरिक समाजले यसमा सहयोग गर्नुपर्ने धारणा राखे।

मेयर सरावगीले सबै नगरवासी सक्षम रहेको भन्दै प्रहरी तथा महानगरसँग मिलेर सुन्दर तथा कोरोनामुक्त नगरको स्थापनामा जुट्न आग्रह गरे।

उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडियाले कोभिड–१९ बाट नगरवासीको स्वास्थ्य सुरक्षा तथा वीरगञ्जलाई व्यवस्थित गर्न यहाँका उद्योगीहरु सधै लागिपरेको स्मरण गराए।

महानगरको कोभिड कोशमा पीसीआर खरिदका लागि ७० लाख सहयोग गरेर यहाँको जनताका लागि उद्योगी व्यवसायीले आफ्नो कर्तव्यको पालना गरेकोसमेत उनले दाबी गरे।

कार्यक्रममा पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले कोरोनाको संक्रमणकालदेखि विभिन्न जोखिमपूर्ण अवस्थामा यहाँका संचारकर्मीले निरन्तर आफ्नो दायित्वको पालना गरेको बताए।

कोभिड नियन्त्रणको जिम्मेवारी हामी सबैको भएको भन्दै विश्व स्वास्थ्य संगठनको अवधारण अपनाए माहामारीबाट जोगिन सक्ने उनले अवगत गराए।

प्रकाशित मिति: : 2020-06-21 15:42:59

प्रतिकृया दिनुहोस्