७ वर्षपछि विदेशी बुहारीलाई नागरिकता दिने निर्णयविरुद्ध कांग्रेस र समाजवादीले गरे प्रदर्शन

विदेशी बुहारीलाई ७ वर्षपछि मात्र नागरिकता दिने निर्णय गरेसँगै पर्सा,बारा र रौतहटमा विरोध सुरु भएको छ। नागरिकता ऐन संशोधन विधेयकको विरुद्धमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ता विरोध प्रदर्शनमा उत्रिएका हुन्।

वीरगञ्जमा कांग्रेस निकट नेपाल महिला संघको अगुवाईमा भएको विरोध महिलाहरुले ‘जसले आमाको सम्मान गर्न जान्दैन उसले मातृभुमिको रक्षा गर्न सक्दैन, महिलालाई हेप्न पाइदैन हत्यारा सरकार चाहिदैन, महिलाको अधिकार खोस्न पाइदैन कम्युनिष्ट सरकार चाहिदैन’ जस्ता नारा र प्लेकार्डसहित प्रदर्शन गरेका थिए।  

वीरगञ्जको घण्टाघर चोकमा गरिएको प्रदर्शनमा कांग्रेसका केन्द्रिय सदस्य अजय चौरसियाले नेपाल भारत बन्नुभन्दा पहिलादेखि नै दुई देशबीच रहेको बहुआयामिक सम्बन्ध कम्युनिष्ट  सरकारले भत्काउन नसक्ने चेतावनी दिए।

‘अन्तरिम संविधानमा गरिएको व्यवस्थालाई उल्टयाएर कम्युनिष्ट सरकारले विवाह भई नेपाल आउने  विदेशी महिलाको अधिकार खोस्न खोजेको छ,‘ उनले भने, ‘सडकदेखि संसदसम्म चर्को विरोध गर्ने छौं, पार्टिले यदि साथ नदिए आवस्यक परे पार्टिको विरोधमा पनि प्रदर्शन गर्नेछौं,’ उनले भने।

 कांग्रेस पर्साका सभापति अजय द्विवेदीले विरोध कार्यक्रममा वैवाहिक अंगिकृत नागरिकताका लागि सात वर्ष कुर्नुपर्ने प्रावधान गलत भएको र तत्काल खारेज गर्नु पर्ने बताए।

वीरगञ्जमा भएको  विरोध सभामा कांग्रेसका नेता एवं पूर्वसांसद अनिल रुगटा, प्रदेश सभा सदस्य ओम प्रकाश शर्मा, रामनारायण कुर्मी, वीरगंज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की, सुस्मा दुवेद्धि ,अशोक गुप्ता लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति थियो।

यता  नेकपाको निर्णयको विरोधमा जनता समाजवादी पार्टीका युवाहरुले पनि विरोध प्रर्दशन गरेका छन्।


 
विरोध कार्यक्रममा जनता समाजबादी पार्टीका नगर  अध्यक्ष ईश्वर यादव,  घनश्याम कुमार,निखिल बर्णवाल लगायतका युवाहरुले रोटिबेटिको सम्बन्ध बिगार्न पाईदैन, महिलाहरु माथिको अत्यचार बन्द गर, नागरिकता विधेयक खारेज गर जस्ता प्लेकार्ड सहित प्रदर्शन गरेका थिए।

यसैगरी अंगिकृत नागरिकता सम्बन्धि ऐनको विरोध बारामा समेत विरोध प्रदर्शन भएको छ। बाराको कलैयामा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नकांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद राधेचन्द्र यादवले नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन विधेयक विदेशी बुहारीलाई दुःख दिने नियतले ल्याएको बताए।

कलैयाका भरत चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले विवाहको ७ पछि ल्याइएको विधेयकले विदेशी बुहारीका छोराछोरीलाई पढनपाउनु पर्ने नैसर्गिक अधिकारमाथि दमन गर्न खोजेको आरोप लगाए।

विरोध सभामा पूर्वमन्त्री कलावती पासवान क्षेत्रीय सभापति सुनिल गुप्ता, रामप्रवेश यादव, उपसभापति सुरेन्द्र गुप्ता, सचिव हरेन्द्र यादव, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव नेपाल तरूणदल बाराका अध्यक्ष लुकेश सिंहको सहभागिता थियो। 

उता कांग्रेस रौतहटद्बारा नारा जुलुससहित गौरमा प्रदर्शन भएको छ। नागरिकता विधेयक खारिजको माग राख्दै प्रदर्शन भएको हाे।

प्रकाशित मिति: : 2020-06-21 20:11:35

प्रतिकृया दिनुहोस्