इन्द्रवज्रा छन्द
कोरी जगतको अनमोल चित्र
राखिस् त्यहाँ काल अहो विचित्र
पीडा अनेकौं सुख अल्प गाँथी
संसारको सृष्टि भएन जाती
भूगोल गोलो रचना गरेर
लालित्य, माधुर्य सुधा छरेर
मान्छे बनाइस् अतिचार बाङ्गा
थोरै धनाधीश असङ्ख्य नाङ्गा
आनन्दको शाश्वत मार्ग तोक्ने
भूजालको बन्धनबाट रोक्ने
धेरै रचिस् शास्त्र पुराण, वेद
जिज्ञासु किञ्चित् अति लाग्छ खेद
स्वादिष्ठको संगम नै भएको
माधुर्यको धेर नदी बहेको
राखिस् धरामा दिवतुल्य भोग
लाग्छन् छुँदा साथ हजार रोग
सौन्दर्यले यो मन सम्म हर्ने
योगी महात्मा पनि मख्ख पर्ने
राम्रो बनाइस् खुब बाह्य अङ्ग
ठ्याम्मै नराम्रो किन अन्तरङ्ग ?
हे देव! तिम्रो छ कि या सुसृष्टि?
मेरो पऱ्यो वा यसमा कुदृष्टि?
देखेँ यहाँ जे जसरी बुझेँ त्यै
भन्दैछु तेरो छ सुमर्म के ख्वै !