कोरोना त्रास, लकडाउन र म्यान्मारको दैनिकी

रितु थापा

म्यान्मार

मलाई याद छ,‘मेरो जन्मभूमि म्यान्मार र मेरो पुर्खाको भूमि नेपालमा संयोगले एकै दिन कोरोनाका बिरामीहरू भेटिएका थिए।

कोरोना भाइरसको डर संसारभर फैलियो। नयाँ महामारी, त्रासै–त्रास, घरभित्रै थुनिनुपर्ने। सबै तरिकाले नौलो अनुभव भयो। सुरु–सुरुमा वास्ता गरिएन। चीन, अमेरिका, युरोपतिर कोरोनाले आतंकित बनाइरहेको थियो। मेरो छिमेकी देश अर्थात् थ्रुपै गोर्खालीहरु रोजगारी गर्न जाने थाइल्यान्डसम्म कोरोनाका कारण लकडाउन सुरू भइसकेको थियो।

थाइल्यान्डबाट म्यान्मार फर्किने क्रम समेत सुरू भइसकेको थियो। त्यो बेलासम्म म्यान्मारमा कोरोना भाइरसको नाम सुन्दा खासै केही लाग्दैन्थ्यो। म नियमित ‘जब’ मा जान्थेँ। कहिलेकाहीँ साथी–साथी मिलेर घुमिरहेका थियौं। कोरोना भाइरस अर्थात् कोभिड–१९ को हल्ला जारी नै थियो।

एक्कासी म्यान्मारमा पनि कोरोना संक्रमित भेटिएको खबर सुनियो। मलाई याद छ – मेरो जन्मभूमि म्यान्मार र मेरो पुर्खाको भूमि नेपालमा संयोगले एकैदिन कोरोनाका बिरामीहरु भेटिएका थिए। नेपालमा सायद लकडाउन सुरु भइसकेको थियो तर, म्यान्मारमा भने चहल–पहल उस्तै थियो। म ‘जब’ मा गइरहेकी थिएँ। जहाँ मेरा थरी–थरीका साथीहरु हुन्छन्। मेरा साथीहरु रमाइला छन्। हामीहरु नयाँ–नयाँ ठाउँ डुल्न, नयाँ–नयाँ परिकार खाना र गाउन, बजाउन रूचाउँछौं। ‘जब’ एकातिर हुन्छ, फुर्सदमा रमाइलो पनि गरिन्छ।

कोरोना संख्या थपिन थालेसँगै मेरो सिटी लकडाउन गरियो। घरभित्रै बस्ने बाध्यता आइलाग्यो। ‘जब’ पनि बन्द भयो। सुरु-सुरुका दिनहरु रमाइलो लाग्यो। नयाँ–नयाँ फिल्म हेर्ने अवसर पनि मिल्यो। लकडाउन बीचमा नेपाली फिल्म बीरबिक्रम–२, सुनपानी, साँइली लगायत हेरियो। नयाँ तथा पुराना अंग्रेजी, बर्मिज, नेपाली गीतहरू सुन्दा रमाइलो लागेको थियो। आँगन र आफन्तको घरभन्दा बाहिर कहाँ जानु, ठाउँ नै भएन। आखिर घरभित्रै बस्न कत्ति गाह्रो हुँदो रहेछ, बल्ल था भो। लकडाउनकै बीचमा मेरो घरमा दिदी र छोरी आइन्। छोरी आएपछि उनीसँग रमाउँदा रमाइलो लाग्थ्यो। यो  बीचमा भान्सासम्म पुग्ने र इन्टरनेट हेर्दै नयाँ–नयाँ परिकार बनाउन सिक्ने अबसर पनि मिल्यो।

बस्दा–बस्दा वाक्क लागेको सायदै, यो पहिलो क्षण होला। मैले महसुस गरे कि लकडाउनबीच दिनहरु काट्न निकै अप्ठेरो हुँदोरहेछ। लकडाउनमा पुस्तक पढ्ने, दैनिकी लेख्ने कोशिस गरे पनि अरूबेला झैं मनबाट अक्षरहरु खुल्दैन्थे। साथीहरुसँग फोन, फेसबुकमा जोडिए पनि पहिले जस्तो रमाइलो लाग्दैनथ्यो। लगभग सबैजना कुनै न कुनै कोणबाट त्रासमा गुज्रिरहेका थिए। जीवनशैलीमा अचानक आएको परिवर्तनलाई म जस्तै सबैले सामना गरिरहेका थिए। म्यान्मार र नेपालमा कोरोना बिरामीहरुको संख्या बढ्दो थियो। नेपाल त कोरोना बिरामीहरुको संख्या १२ हजार नाघिसक्यो। म्यान्मारमा अहिलेसम्म २ सय ९३ जना संक्रमित छन्। कोरोनाबाट ६ जनाले ज्यान गुमाएका छन् भने २ सय ८ जना निको भएर फर्किएका छन्।

लकडाउन प्रभावकारी देखिएको छ। मेरो सिटीमा सबैभन्दा पहिले सामाजिक दुरीको पालना गरेको तस्बिर विश्वभर फैलियो। म्यान्मारको लकडाउन तरिका र यस्तो बेलामा पालना गर्नुपर्ने निमयहरुले हामीहरुलाई छोटो घरभित्रैको बसाइँ टुंग्याउने अवसर थियो। करिब २ महिनाको लकडाउनको बसाइपछि स्वतन्त्र र सृजनात्मक कुराहरु मनमा खेल्न थालेको महसुस गरें। अहिले बजारहरु खुलेका छन्। ध्यानपूर्बक यात्रा गर्ने गरेका छौं। लकडाउनको समयमा म्यान्माली गोर्खाली समाजमा सचेत बनाउँनेदेखि राहत बाड्नेसम्मका राम्रा काम भएका छन्।

अहिले म ‘जब’ जान थालेकी छु। मेरो शहर पर्यटकीय स्थल भएका कारण पनि फाटफुट आन्तरिक पाहुनाहरु देखिन थालेका छन्। गाडीहरु केही मात्रामा सडकमा देखिन्छन्। धेरै दिनपछि साथीहरुसँग मिलेर संगीतमा रमाउने अवसर पाइएको छ। अहिले लकडाउन बीचको समय स्मरण गरेर रमाइरहेका छौं। कोरोना त्रास हुन्जेल घरमै बसौं। सुरक्षित रहौं। त्यो २ महिनाको लकडाउन बसाइँ कस्टकर भए पनि पछिसम्म यादगर हुनेछ।

जय बर्मा, जय गोर्खा, जय नेपाल...

प्रकाशित मिति: : 2020-06-28 08:31:00

प्रतिकृया दिनुहोस्