माधव नेपालका घाँटीमा अझै झुण्डिएकैछ 'कोरोना जन्तर'.. लज्जाशरणम् !

नेपालमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक जारी छ। पार्टी विधानमा हरेक तीन महिनामा बस्नुपर्ने व्यवस्था गरिएको म्यान्डेटरी बैठक २० स्थायी समिति सदस्यले माग गरेपछि लामो समयपछि बसेको हो।

पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीको ईच्छाविपरित डाकिएको बैठक जे जस्ता विषयमा गम्भीर हुनुपर्ने हो, तीभन्दा इतर विषयमै चर्चामा तानिएर विषयान्तर भएको छ। बैठकका एजेण्डाभन्दा भिन्न विषयमा बनेका समाचार शीर्षकले त्यही कुराको संकेत गर्छन्। 

बैठकले पार्टीका एक अध्यक्ष ओली बैठकमै उपस्थित नभएको, ओलीले बैठक छलेको, अध्यक्षद्वयलाई सोफा र अरूलाई कुर्सी राखिएको, माधव नेपालले कुर्सी अगाडि सारेर बसेको, अध्यक्षका सोफा हटाइएको, सरकारी साधनस्रोतको दुरूपयोग गरिएको, कोरोना जन्तर लगाइएको आदि-इत्यादि यस्तै खाले समाचारका शीर्षक उत्पादन गरिरहेको छ। 

त्यसमा पनि सबैभन्दा ठूलो चर्चा ‘भाइरस रिमुभिङ कार्ड’ को छ, जसले कोरोना जन्तरका रूपमा चर्चा कमाएको छ। कोरोना जन्तरको जे जसरी प्रयोग र चर्चा भएको छ, त्यसले नेकपालाई एक जन्तर मन्तरमा विश्वास गर्ने बुर्जुवा पार्टी हो कि भन्ने आशंका बढाएको छ। पार्टीका तर्फबाट ६० थान जन्तर किनेर नेतालाई बाँडिएको र उनीहरू तिनै जन्तर घाँटीमा झुण्याएर कम्युनिष्ट पार्टीको स्थायी समिति बैठकमा बसिरहेको दृश्य सार्वजनिक भएको छ। हिजो अरूले गर्दा उनीहरूलाई ब्रुजुवा भन्दै सत्तोसराप गर्ने विज्ञानमा आधारित 'मार्क्सवादी' कम्युनिष्ट पार्टीको बैठकको यो दृश्य सामान्य दृश्य हुन सक्दैन। नेकपा सामान्यबाट असामान्य दृश्यतिर गैरहेको यो एक गरीव तस्बिर हो।

नेकपाको शीर्ष नेतृत्व केही समययता सैद्धान्तिक एवं वैचारिक रूपमा स्खलित हुँदै गएको छ। पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले वालुवाटारमै ओली वंशको सम्मेलन गरे, एक विरामी वालकलाई गुगल व्याय बनाएर भविष्यवाणी गर्न लगाए, हाछ्यु गरेर कोरोना भगाउने गुड्डी हाँके।ओली कति ब्रुजुवा सोच राख्छन् र सैद्धान्तिक रूपमा स्खलित भैसके भन्ने यी केही दृष्टान्त मात्र हुन्। अर्का अध्यक्ष प्रचण्डले त भैसी पूजा गरेको धेरै भएको छैन। नेकपामा अर्का गुटका नेता माधव नेपाल पनि होली वाइनका कारण वदनाम छन्। 

अर्थात् नेकपाको शीर्ष नेतृत्व को बढी सैद्धान्तिक एवं वैचारिक रूपमा स्खलित हुने भनेर प्रतिस्पर्धा गरिरहेको छ। मार्क्सवादको दात देखाएर ब्रुजुवा दातले चपाउने काम भैरहेको छ। यस्तो शैली शीर्ष नेतृत्वदेखि कार्यकर्ता पंक्तिसम्मै पुगेको छ। सिंगो पार्टीमै सैद्धान्तिक विचलन र सांस्कृतिक अपचलन आएपछि त्यसको असर भर्टिकल रूपमा पर्नु स्वभाविक हो।

अहिलेको कोरोना जन्तर प्रकरण पनि त्यसैको नाङ्गो प्रदर्शनी हो। यसमा होली वाइनका कारण बदनाम भएका पार्टीका वरिष्ठ नेता माधव नेपालको प्रत्यक्ष/परोक्ष हात रहेको देखिन्छ। नेकपामा एउटा गुट चलाइरहेका नेपालका खास कोटामा पर्छिन् कल्याणी खड्का। नेपालले उनलाई 'पुल र पुस' गर्दै अनेक पद र अवसर दिलाएका छन्। अब त अरू गुटका मान्छेलाई पनि नेपाललाई खुशी पार्न या उनको मुखमा बुजो लगाउन कल्याणी खड्कालाई कुनै पद दिए पुगिहाल्छ भन्ने परिसकेको जस्तो देखिन्छ। धेरैपटक कल्याणीलाई केही दिएर माधव नेपाललाई चुप लगाइएका दृष्टान्त जगजाहेर छन्। अहिले कल्याणी खड्का नेपालकै भागबण्डामा समानुपातिक प्रतिनिधिसभा सदस्य मात्र हैन, प्रतिनिधि सभाको विकास तथा प्रविधि समिति सभापति छिन्।  

यो कोरोना जन्तर नेपाल ल्याउने उनै कल्याणीका छोरा विप्लव केसी हुन् । उनको  ‘बियोन्ड द वाल ट्रेडिङ कम्पनी’ ले चीनबाट पैठारी गरेको यो जन्तर कल्याणीकै सिफारिसमा माधव नेपालले पार्टी सचिव इश्वरी रिजाललाई किन्न लगाएको एक नेकपा नेताले बताएका छन्। नेता नेपाल कल्याणीका लागि जे पनि गर्छन् भन्ने यो अर्को एक ज्वलन्त उदाहरण हो। 

यही प्रकरणका क्रममा यो जन्तर सरकारी अनुमति बिनै झिकाइएको रहस्य पनि खुलेको छ। यसले के देखाउँछ भने कल्याणीका छोरासमेत नेपालको आशीर्वादमा अनुमति नै नलिएका सामानको व्यापार गरिरहेका छन्। यो जन्तर कुनै पनि किसिमको भन्सार नतिरी ल्याइएको हुनसक्ने आशंका बढेको छ। 

कोरोना भगाउने भनिएको यो जन्तर चिकित्सा विज्ञानको कोणबाट कतै प्रमाणित नभएको चिकित्सक एवं वैज्ञानिकहरूले बताएका छन्। यसका पृष्ठपोषकहरूले यसलाई अमेरिकाको  फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले मान्यता दिएको भनेर गरेको दाबी पनि झुटो प्रमाणित भएको छ। ‘भाइरस ब्लकर डिस्इन्फेक्सन कार्ड’ एफडीएमा आधिकारिक रूपमा कतै दर्ता भएको देखिदैन। उल्टै वैज्ञानिकहरूले यसमा राखिएको ‘क्लोरिन डाइअक्साइड’ भुइँ पुछ्न प्रयोग गरिने विषादी भएको बताएका छन्।

आफूलाई मार्क्सवादजस्तो वैज्ञानिक विचारधाराबाट सुसज्जित ठान्ने नेपालको सत्तारूढ कम्युनिष्ट पार्टी  नेकपाका नेताहरू घाँटीमा भुईं पुछ्ने विषादीको जन्तर झुण्याएर कोरोना भगाउने भ्रम बाँडिरहेको दृश्य सार्वजनिक भएको छ। यो कुरूप दृश्यले पार्टी सैद्धान्तिक एवं वैचारिक रूपमा स्खलित र सांस्कृतिक रूपमा अपचलित भैसकेको प्रमाण दिन्छ। भनाइ नै छ, कम्युनिष्ट सैद्धान्तिक रूपमा स्खलित भएर आफैं सकिने हो। यो दृश्यले त्यो दिन टाढा छैन भन्ने संकेत त गरिरहेको छैन ?

यसले के देखाउँछ भने नेकपा नेताहरू घाँटीमा भुईं पुछ्ने विषादीको जन्तर झुण्याएर कोरोना भगाउने भ्रम बाँडिरहेका छन्। आठ लाख सदस्य रहेको भनिएको देशको सत्तारूढ कम्युनिष्ट पार्टीले पार्टीकै पैसाबाट यस्ता भ्रमका जन्तर खरिद गर्छ भने त्यस्तो पार्टी कसरी कम्युनिष्ट पार्टी हुन सक्छ ? यदि यसैगर्दा पनि कम्युनिष्ट पार्टी हुन्छ भने यो सांस्कृतिक अपचलन र सैद्धान्तिक- वैचारिक स्खलनको चरम रूप बाहेक केही हुन सक्दैन।

पहिलो दिनको नेकपा स्थायी समिति बैठकमा धेरैको गलामा कोरोना जन्तर झुण्डिएको थियो। तर, मूलधारका मिडिया तथा सामाजिक सञ्जालमा यसको चौतर्फि आलोचना भएपछि अर्को दिन एकजना नेताबाहेक सबै नेताको घाँटीबाट कोरोना जन्तर गायब भयो। ती एक्लो नेता अरू कोही नभएर माधव नेपाल नै थिए। उनको जन्तरप्रेम देखेर अरू नेता पनि छक्क परे। आखिर यति धेरै आलोचना हुँदा पनि नेपालले कोरोना जन्तर लगाउन नछोड्नुको कारण के होला ? 

नेपाललाई नजिकबाट चिनेका एक जन्तरविरोधी नेकपा नेता भन्छन्, 'माधव नेपाल  जब्बर नेता हुन् । यसअघि होली वाइनको पनि उनले लाज पचाएरै समर्थन गरेका थिए।' उनले अगाडि थपे, लाग्नेको मन गधीमा लागेपछि कस्को के लाग्छ र ?'

यो एउटा पृथक घटना हैन, नेकपामा सैद्धान्तिक वैचारिक विचलनको पहिरो जाने यस्ता अनेक घटना भैसकेका छन्। तर, त्यस्ता घटना र व्यवहारको आलोचना गर्ने आलोचनात्मक चेत भएका नेता/कार्यकर्तालाई पार्टीमा अराजक या यस्तै केही विशेषण दिएर किनारा लगाउने गरिएको छ। यो क्रम बढ्दै जाने हो भने यो पार्टी सैद्धान्तिक/वैचारिक विचलन र सांस्कृतिक अपचलन भएको एक ब्रुजुवा पार्टीमा परिणत हुने दिन धेरै टाढा छैन। त्यो दिन नाममा कम्युनिष्ट पार्टी भनिए पनि व्यवहारमा कम्युनिष्ट पार्टीको पतन हुने निश्चित छ। त्यसका लागि अरू कोही हैन प्रचण्ड, नेपाल, ओलीजस्ता पेटीब्रुजुवा नेता नै भष्मासुर सावित हुनेछन्। 

आगे उनीहरूकै मर्जी ।
(यो लेखकको निजी विचार हो, यसमा ब्रेक एन लिंक्सको सम्पादकीय नीति प्रतिविम्वित नहुन पनि सक्छ : सम्पादक)

प्रकाशित मिति: : 2020-06-28 06:06:46

प्रतिकृया दिनुहोस्