पाटनमै बिलायो ‘हिमाली हीरा’, करोडौं राजस्व गुम्यो

ललितबहादुर बुढा/  टेकबादुर शाही/  जीवन सेजुवाल/  राजेन्द्र कार्की

कर्णालीका बासिन्दा विगत वर्ष दुई महिनासम्म पाटनमै बसेर यार्सागुम्बा संकलन गर्थे। उनीहरूका घरमा ताल्चा लागेको हुन्थ्यो। शिक्षक र विद्यार्थीसमेत स्कुल बन्द गरेर पाटनमै हुन्थे। यसपटक भने असार तेस्रो साता लाग्दा पनि स्थानीय प्रशासनले यार्सा संकलन गर्न इजाजत दिएको छैन। यो जडीबुटी वैशाख तेस्रो सातादेखि असार तेस्रो सातासम्म पाइन्छ।

विगतमा यार्सा बेचेर घरखर्च चलाउने स्थानीय यसपटक कसरी छाक टार्ने भन्ने चिन्तामा छन्। ‘यार्सा संकलन गरेरै घरखर्च टार्ने गरेको थिएँ’, जाजरकोटको बारेकोट गाउँपालिका– ३ का मुनबहादुर नेपालीले भने, ‘घरमा अरू खेती छैन, अब कसरी जहान केटाकेटी पालौं ? ’

डोल्पा, मुगु, जाजरकोट, जुम्ला, हुम्ला र रुकुमका बासिन्दाले बर्सेनि यार्सा संकलन गरी मनग्ये आम्दानी गर्छन्। हिमाली हीरासमेत भनिने बहुमूल्य जडीबुटी यार्सा संकलन गर्न कोरोनाका कारण रोक लगाइएपछि पाटनमै खेर गएको छ। महँगोमा बिक्री हुने र जमिनबाट निकालिने भएकाले स्थानीयले यसलाई हिमाली हीरा भन्ने गरेका हुन्।

प्रकाशित मिति: : 2020-06-30 07:57:29

प्रतिकृया दिनुहोस्