वर्षायाममा सडक निर्माणको काम सुरू हुँदा ग्रामीण भेगका सडकसँग सम्पर्क बिच्छेद

वर्षातको समयमा सडक निर्माण काम भइरहेका अहिले ग्रामीण सडकहरु सम्पर्क बिच्छेद भएको छ। ग्रामिण क्षेत्रमा निर्माणका क्रममा रहेका थरूहठ सडक, पोखरीया लंगडी सडकखण्ड, हुलाकी खडक लगायतका प्रमुख सडकहरू हिलाम्य भएका कारण सडक सम्पर्क बिच्छेद भएका छन्।

ग्रामीण सडकहरुको अवस्था जिर्ण भएका कारण अहिले जिल्लाको सदरमुकाम वीरगन्ज आवत जावत गर्न ठूलो चुनौती रहेको ठोरी गाउँपालिकाका वडा नं ५ का वीर बहादुर श्रेष्ठले बताए। ‘पक्की बाटो तथा पिच बाटोमा आवागमन सजिलो भए पनि अन्य बिग्रेका बाटोमा घण्टौंसम्म मोटरसाइकल डोर्‍याउन परेको,’ उनले भने।

सडक डिभिजन कार्यालयमार्फत ठेक्का पाएका ठेकेदार कम्पनीको लापारवाहीका कारण ग्रामीण सडकखण्ड पहिलेको तुलनामा झनै बिग्रेका स्थानीयले गुनासो गरेका छन्। थरूहट सडकखण्ड अन्तर्गतका जिराभवानी गाउँपालिकाको सडक, पोखरीया लंगडीहुँदै भिस्वा सडकखण्ड, हरिहरपुर भलुवाही सडक, जानकीटो भिस्वा खडक खण्ड पूर्णरूपले जिर्ण भएकाले साईकल मोटरसाइकल सवारीसमेत गुड्न कठिन भएको स्थानीयले गुनासो गरेका छन्।

पर्साकै जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली, सखुवाप्रसौनी, धोविनी, छिपहरमाईलगायतका गाउँपालिकामा एक टोलदेखि अर्को टोलसम्म जाने बाटो बिग्रिएका कारण एक टोलका बासिन्दा अर्को टोलमा जान नसक्ने अवस्थामा छन्। पर्साका ग्रामिण क्षेत्रलाई वीरगन्जसँग जोडने वैकल्पिक मार्गको रूपमा रहेको जनता सडकको अवस्था पनि उस्तै छ।

स्थानीयले गौरीशंकर चौधरीका अनुसार बाराको जितपुरहुँदै वीरगन्ज पुग्ने जनता सडक अन्तर्गतको पटेर्वासुगौली गाउँपालिकाको बडा नं ४ सुगौली तथा वडा नं ३ को देकुली र धर्मपुर लगायतको गाउँको बाटोको अवस्था जीर्ण हुँदा सवारी साधन चलाउन एकदमै कठिनाइ भइरहेको छ ।

निर्माणाधिन हुलाकी सडकको केही खण्ड पिच भएको कारण सवारीसाधन सञ्चालनमा आए पनि बिच बिचमा बाटो निर्माण अधुरै रहेको हुँदा आवत जावत ठप्प भएको छ। 

यसैबिच ग्रामिण क्षेत्रको बाटो बिग्रिएपछि बिरामीलाई ठोरीदेखि सदर मुकाम वीरगन्जसम्म पुर्‍याउन नसक्ने अवस्था सृजना भएको स्वर्णपुरमा सञ्चालित एम्बुलेन्स चालक गर्भे तामाङले बताए। ‘सुवर्णपुरमै बाटो बिग्रेका कारण एम्बुलेन्समा बिरामी लैजान नसक्ने अवस्था सृजना भएको हो।’

प्रकाशित मिति: : 2020-06-30 18:05:33

प्रतिकृया दिनुहोस्