हरेक रात 

यो कोलाहल निदाएपछि 

मलाई झस्काइरहन्छन् 

विपनामै सीमा स्तम्भ सारिएका 

तिता सपनिहरुले,

र त सधैजसो राित मलाई 

जुरुक्क उठेर देशको नक्सा खोज्न 

बाध्य बनाउँछ 

 

जलेको मनले जलाएर चुरोट, 

हरेक रात,

खिल्लिमा स्वतन्त्रता फुक्दा पनि 

धुवाँले खुम्चिएको,

देशकै नक्सा बनाएर जान्छ

 

रित्तो सडकमा 

एक भारी मन लम्पसार परेर 

आकाश नियाल्दा पनि,

सेतो बादलले रेखा कोर्दै 

च्यात्तिएको,

देशकै लालपूर्जा बनाएर जान्छ 

 

हिमालको निधारबाट 

सलक्क हिउँ पग्लिएको देख्छु 

आफ्नै स्वाभिमान पग्लिएको झल्किन्छ

 

बगरमा बसेर

बगेको कर्णाली नियाल्दा पनि

छछल्किएको पानीमा-

देशकै आँसु देख्न थालेको छु 

 

यो दिनले 

के दिन खोजेको हो?

यो रातले के लिन खोजेको हो?

आफूमा अचेल देश देख्न थालेको छु

खिया लागेको खुकुरी हुत्याउने 

जोस देख्न थालेको छु

प्रकाशित मिति: : 2020-07-04 08:42:32

प्रतिकृया दिनुहोस्