समान संस्कृतिका म्यान्मा -नेपाल

छन्द- शार्दूलविक्रीडित

अशोक घिमिरे

याङ्गौँ,म्यान्मा (हाल बैंकक थाईल्याण्ड)

म्यान्माको इतिहास सँस्कृतिकला उत्थान बग्गान हो

पाली सँस्कृत मूल मिश्रित हुँदै उत्पत्ति भाषा छ यो 

मिङ्ग्लाबा शुभ मङ्गलम् कथन यो भेट्दा नमस्कारको

मिल्दो सँस्कृति शृङ्खला गजबको म्यामा र नेपालको॥१॥

 

म्यान्माराष्ट्र छ बुद्ध शासन सदा सम्बन्ध हो लुम्बिनी 

भाषा जाति थरीथरी बहुल छन् भूषाकला मोहिनी 

प्राची आर्ष महोत्सवादि दुइकै हो एउटै भावको 

मिल्दो सँस्कृति शृङ्खला गजबको म्यान्मा र नेपालको॥२॥

 

बल्दो चैत्य छ श्वेडगौँ त सुनको रंगूनको शान हो

लाखौं चैत्य विशाल देशभरमा त्यो बुद्धको मान हो

शाला मूर्तिकला विहार शिरको शैली छ नेपालको 

राम्रो सँस्कृति शृङ्खला गजबको म्यामा र नेपालको ॥३॥

 

विद्या दातृ सरस्वती भगवती लक्ष्मी गणेशै पनि 

होरा ज्योतिष वास्तु नौग्रहहरू दिक्पाल मान्ने अनि

पूर्वी दर्शन बुद्ध धम्मपद जो आचार सँस्कारको 

मिल्दो सँस्कृति शृङ्खला गजबको म्यान्मा र नेपालको॥४॥

 

बर्माराष्ट्र प्रसिद्ध नाम अहिले साम्राज्य म्यान्मा भयो

नेपाली जन शुद्ध बुद्धकुलका गोर्खा भनी मानियो

मैत्री सन्धि रहोस् समानहितको व्यापार सम्बन्धको 

साझा सँस्कृति विश्वमा अमर होस् म्यान्मा र नेपालको॥५॥

 

प्यारी जन्मथली सुवर्ण जननी म्यान्मा धरा उर्वरा

मैले भुल्न मिलेन पैत्रिकथलो, नेपाल आमा धरा 

म्यान्मा जीवन हो शरीर सुख हो यै भूमि सर्वस्व हो

म्यान्मा हो व्यवहार भौतिक सबै अध्यात्म नेपाल हो॥६॥

प्रकाशित मिति: : 2020-07-04 12:21:31

प्रतिकृया दिनुहोस्