खोकनामा शनिबार जे देखियो ! (भिडियो  र तस्बिरमा)

ललितपुरको खोकनामा आफ्नो जमिन खनजोत गर्न गएका किसान र प्रहरीबीच शनिबार झडप भएको छ। झडपका क्रममा केही प्रहरीसहित स्थानीय किसान घाइते भएका छन्। प्रहरीले अश्रुग्यास समेत हानेर भीड तितर वितर गर्ने प्रयास गर्‍यो।

विकासका नाममा जग्गाजमिन र पुर्ख्यौली थातथलो कब्जा गरेको भन्दै खोकनावासीले विरोध गर्दै आएका छन्। पछिल्लो समय अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेका थिए।

आफ्नो जमिन उपभोग गर्न पाउनुपर्ने भन्दै विहानै रोपाइँमा निस्केका स्थानीयलाई प्रहरीले रोकेपछि झडपको स्थिति सिर्जना भएको थियो ।

लामो समय त्यहाँका स्थानीयले उपयोग गर्दै आएको जमिन सरकारले अधिग्रहण गरेको थियो। खासगरी, काठमाडौं  तराई द्रूतमार्ग, बाहिरी चक्रपथ लगायतका विकास आयोजना निर्माणका लागि सरकारले त्यस क्षेत्रको जग्गा अधिग्रहणका लागि सूचना निकालेको थियो ।

तर, उक्त जमिनमा त्यहाँका स्थानीयले विगतदेखि नै विरोध गर्दै आएका थिए। रोपाई गर्न पुगेका स्थानीयलाई प्रहरीले रोक्न खोजेपछि बिहानैबाट तनाव बढेको थियो। केही स्थानीयवासीले प्रहरीलाई खेतमा पुग्नु अगाडि नै रोकेका थिए भने अरूले खानजोत सुरु गरेका थिए । रोपाइँमा ट्याक्टरको प्रयोग गरिएको थियो ।

थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भयो। स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइतेसमेत भए।

उनीहरूको आन्दोलनमा नेवा: सांस्कृतिक पुनर्जागरण अभियानसहित विभिन्न संघसंस्थाले पनि समर्थन गर्दै आएका छन्। खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरातात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर यहाँका किसानको जमिन हडप्ने सरकारी नीतिविरुद्ध स्थानीय आन्दोलित भएका हुन्।

खोकनाका किसान र बासिन्दामाथि अन्याय भएको भन्दै विकासका नाममा खोकनाको अस्तित्व मेट्ने गरी भइरहेका कामको विरोध जारी राखिने स्थानीयले बताएका छन्।

प्रकाशित मिति: : 2020-07-05 17:02:00

प्रतिकृया दिनुहोस्