गोर्खा शहीद 'रमेश' म्यान्मारको इतिहासमा युगनायक बनेर रहने छन् [अन्तर्वार्ता]

सुधा

रंगुन, म्यान्मार
Breaknlinks
Breaknlinks

म्यान्मारकाे माण्डलेस्थित चाउसेनगर प्राविधिक (क्यौक्से) विश्वविद्यालयका गाेर्खा (नेपालीभाषी) विद्यार्थी लिन्पाइ साे (रमेश सुवेदी)लाई म्यान्मारको सत्तारुढ ‘जुन्ता’ सैनिकले क्रूरतापूर्वक हत्या गरेको छ। सैनिकले हिरासतमा कुटपिट गर्दा चर्को यातनाका कारण उनकाे मृत्यु भयाे।

तीन साताअघि ३० सेप्टेम्बरमा पक्राउ परेका रमेशकाे हिरासतमै हत्या गरिएको भए पनि अहिलेसम्म आफन्तले शवसमेत पाएका छैनन्। सैन्य ‘कू’को विरोधमा उत्रिएका पाँच हजार राजनीतिक बन्दीहरू मुक्त हुँदा उनीसमेत घर फर्किने आशा परिवारकाे थियाे। हत्याको खबरले बर्मेली युवापुस्ता स्तब्ध छ।

रमेशलाई तानाशाही सैनिकले माण्डलेस्थित निवासबाट पक्राउ गरी लगेकाे थियो। उनी सैन्य ‘कू’ भएयता स्वतन्त्रताका लागि दिनहुँ सङ्घर्षकाे मैदानमा उत्रिए। अन्तिमसम्म प्रजातन्त्र पुनःस्थापनाकै लागि  लडे। 

रमेश विश्वविद्यालयका विद्यार्थीबीच लाेकप्रिय मानिन्थे। प्रायःजसाेले उनलाई गाेर्खाली नेताका रुपमा चिन्थे। उनी मिलनसार थिए तर सबैका प्रिय रमेश अब याे लाेकमा छैनन्।

सैन्य हिरासत अर्थात् मृत्युकाे मुखबाट फर्केकाहरू भन्छन्– रमेशलाई तड्पाईं–तड्पाई हत्या गरियाे। जुन्ताका  सैनिकहरू बारम्बार भन्थे, 'तँ नै होइनस् बर्मा विद्यार्थी संघकाे मान्छे? सरकारको विराेध किन गरिस्?' यातना दिँदा यस्तै भन्थे। खुब् कुट्थे। 

सेप्टेम्बर ३० मा पक्राउ परेका रमेशले चरम यातना पाएको एक दिनपछि १ अक्टाेबरमा प्राण त्यागेका हुन्। विश्वविद्यालयका चर्चित गाेर्खानेता, प्रजातान्त्रिक आन्दाेलनका शहीद उनै रमेशकाे जीवनी, राजनीतिक यात्रा र क्रूरतापूर्वक गरिएकाे हत्याबारे उनका सहकर्मीसँग बर्मेली भाषाकाे सञ्चारमाध्यम खित थिट मिडियाका प्रतिनिधिले कुराकानी गरेका थिए। ती नेताकाे नाम भने सुरक्षा संवेदनशीलताका कारण उक्त सञ्चारमाध्यमले नै गोप्य राखेको छ। 

म्‍यान्मारको राजधानी नेपिडाेस्थित विद्यार्थी सङ्घका कार्यवाहक अध्यक्षसँगको उक्त संवाद बिएल नेपाली सेवाका लागि सुधा अत्रिले भावानुवाद गरेकी हुन्। प्रस्तुत छ– उक्त अन्तर्वार्ता :


रमेशलाई हिरासतमा साेधपुछ गर्ने क्रममा सैनिकले कुटेर  हत्या गरेकाे भनिएकाे छ, सत्य हाे? 

– गत अक्टाेबर १ तारेखमा उनकाे मृत्यु भएकाे हाे। जुन्ता सैनिकले रमेशकाे  हत्या गरेको तीन साता बित्दा पनि परिवारलाई कुनै जानकारी दिएको छैन। उनी सेप्टेम्बर ३० मा पक्राउ परेका थिए। हिरासत पुगेकाे एक दिनपछि मृत्यु भएकाे हाे। सेप्टेम्बर ३० तारेखकाे राति सैनिकहरू मिलेर 'तँ गाेर्खा जाति, तैले गर्दा हाे' भन्दै निकै बेर कुटे। सबै मिलेर एउटा क्रान्तिकारी नायककाे हत्या गरे।

सैनिकले सामूहिक रूपमा कुटेपछि रमेशकाे चेतना गुमिसकेकाे थियाे। उसै राति साेधपुछ पनि गरियाे। उनी निकै कमजाेर भइसकेका थिए तर यातना दिन भने छाडिएन। उनकाे १ तारेखमा मृत्यु भयाे तर उनीकाे मृत्युबारे अक्टाेबर–१८ बल्ल थाहा भयाे।

माण्डलेबाट उनीसँगै पक्राउ परेकी नर्स माचिचिवीं गत अक्टाेबर १४ मा सैन्य हिरासतबाट रिहा भइन्। र, उनले त्यहाँकाे अवस्थाबारे केही कुरा मात्रै बताइन्।

रमेशकाे शव कहाँ राखिएको छ? के अझै परिवारका सदस्यहरूले उनकाे शव प्राप्त गर्न सक्छन्?

– उनकाे शव पाउने त धेरै परकाे कुरा हाे, मृत्युकाे खबरसम्म दिएन। परिवार र आफन्तलाई सुइँकाेसमेत नदिई उनकाे लाश नै बेपत्ता पारिदिए। सैनिक हिरासतबाट छुटेकाहरूले रमेशकाे अन्तिम अवस्थाबारे थप खुलाउँदै जाने छन्।

 उनी कहाँबाट कसरी पक्राउ परेका थिए?

– उनी अन्दाेलनबाट फर्किएपछि निवासबाटै पक्राउ परेका हुन्। आन्दाेलनबाट होइन। सैनिककाे एक समूहले घरबाटै गरेका थिए। 

उनकाे हत्यापछि परिवारका सदस्यहरूको प्रतिक्रिया कस्ताे छ? 

– परिवार चिन्तित छ। रमेशकाे मृत्युभएपछि साथी–भाइ, परिवार र आफन्तकाे मनमा असिम पीडा छ । सुरक्षा चिन्ता पनि थपिएकाे छ। 

रमेश माण्डलेस्थित चाउसे नगरकाे प्राविधिक विश्वविद्यालय विद्यार्थी सङ्घका सदस्य थिए। अन्तिम वर्षमा पढ्दै गरेका कुशल विद्यार्थीसमेत थिए। यति राम्राे युवानेताकाे हत्या भएपछि परिवार र आन्दोलनकारी समेत स्वभाविक रूपमा पीडाभित्रै छ।

उनकाे विषयमा केही खास कुरा जानकारी पाऊँ न? 

– सुरू–सुरूमा उनी राजधानी नेपिडाेमै बस्थे। हामीहरू एउटै विश्वविद्यालयका साथी हाैँ। एकताका विद्यार्थी सङ्घका सदस्य पनि थियाैँ।

क्रान्ति चल्दैगर्दा रमेशले नेपिडाे विद्यार्थी सङ्घसँग जाेडिएर आन्दाेलनलाई अग्रपङ्तिबाट नेतृत्व गर्न थाले। छोटो समयमै आन्दाेलनकाे नायक भनेर प्रख्यात भए। उनी नेपिडाेकै बासिन्दा हुन्। 

स्थानीय सैनिकहरूले उनीबारे खाेजी गरिरहेकाे सुनिन्थ्याे। जुन्ता समर्थकले रमेशकाे घर देखाएपछि सैनिकले  घरमै गएर 'अर्काेपटक आन्दाेलनमा देख्नु नपराेस्' भन्दै धम्क्याएर हिँडेका थिए। आन्दाेलनमा फेरि देखेमा सीधै 'शुट' गर्छु भन्थे रे ! 

परिवारलाई पनि सेनाले धम्काएपछि अन्ततः रमेश नेपिडाे छाडेर माण्डलेकाे चाउसे पुगे। उनी चाउसेकाे विद्यार्थी सङ्घसँग मिलेर आन्दाेलनमा अग्रसर हुन थाले। गत ३०–सेप्टेम्बरमा उनी पक्राउ परे। त्याे रात उनीलाई निकै पिटियाे। र, चाेट खप्नै नसकेपछि प्राण त्यागे।

रमेशकाे छाेटाे हिरासत बसाइबारे तपाईंसँग केही नयाँ जानकारी छ?

– सुन्नमा आएका शब्दहरू साह्रै दुःखित् बनाउने खालका छन्। सैनिकहरूले भन्थे रे– 'तँ नै हाेस्? ...जातिलाई गाली गर्दै ...तँ नै हाेस् विद्यार्थी सङ्घकाे मान्छे' भन्दै खूब पिटे रे ! शब्दमा कसरी भनाैं– एउटा साथीकाे क्रूरतापूर्वक गरिएकाे मनै रूवाउने हत्या। कहिल्यै बिर्सन नसक्ने सैनिक गुण्डाकाे अमानवीय दुष्कार्य।

म्यान्मार जुन्ता सरकारले राजनैतिक कैदीहरूलाई धमाधम छाडिरहेकाे छ। थ्रुपै नेता–कार्यकर्ताहरू हिरासतमा मारिएका छन्। अब उनीहरू त फिर्ता आउन सक्दैनन्। तर यसबारे तपाईकाे विचार के छ? 

– दक्षिण–पूर्व एसियाली राष्ट्रहरूको संगठन एसोसिएसन अफ साउथ–इस्ट एसिएन नेसन्स (आसियान) काे दबाबले राजनैतिक कैदीहरू छाडिएका हुन् भन्ने लाग्छ। हेर्नाेस् एकछिन छाेडिदिएर फेरि पक्राउ गरेकाे सूचीसमेत सञ्जालमा फैलिएकाे छ। 

अगाडिबाट छाडेर पछाडिबाट पुनः पक्राउ गर्ने तानाशाही सैनिकले आसियानलाई ढाँट्न मात्र छाडेको पक्का छ। छाडिएकै दिन माण्डलेमा पुनः थ्रुपै मानिस पक्राउ गरिए। अब यसबारे के बाेल्नु। तर सैनिकले जति दुःख दिएपनि हामीहरू अन्तसम्म लड्ने छाैं।

आन्दाेलनकाे क्रममा मारिएका सबै शहीदहरुप्रति सलाम ! उनीहरू युगका नायक हुन्। उनीहरू भौतिक रुपमा नभए पनि वैचारिक मार्गमा हिँड्ने छाैँ।


म्यान्मार सेनाको कुटाइबाट गोर्खाली युवकको मृत्यु

प्रकाशित मिति: : 2021-10-21 10:22:00

प्रतिकृया दिनुहोस्