उदितको बलिउडमा ४० वर्ष, २२ वर्ष धम्कीमा मात्र दिन बिताए

बलिउडका चर्चित गायक उदित नारायण झाको फिल्म इन्डस्ट्रीमा ४० वर्ष पुरा भएको छ। 

७ जुलाई १९८० मा उनको पहिलो फिल्म ‘उन्नीस बीस’ प्रदर्शन भएको थियो। उनको गीतलाई राजेश रोशनले संगीत दिएका थिए र गीतका लेखक थिए, अमित खन्ना। उक्त गीत उदितले बलिउडका चर्चित गायक मोहम्मद रफीसँग गाएका थिए। 

उदितले बलिउडमा पाइला टेकेको ४० वर्ष पुरा भएको अवसरमा आइतबार आफ्नो युट्युब च्यानल पनि सार्वजनिक गरेका छन्। 

४ दशक बलिउडमा एकछत्र राज गरेका उदित दुई पल्ट भारतको प्रतिष्ठित पद्म भूषण पुरस्कारबाट सम्मानित भइसकेका छन्। यस्तै, ५ पल्ट फिल्म फेयर अवार्डबाट उनलाई सम्मान गरिएको थियो। 

उदितले ४० भाषामा गीत गाएका छन्। यो उपलब्धी उनले त्यति कै प्राप्त गरेका होइनन्। यसका लागि ठूलो मिहिनेत र त्यागको आवश्यकता पर्ने गर्छ। सन् १९८० मा मुम्बईमा आफ्नो करिअर बनाउन संघर्ष गरेका उदित एउटै कोठामा ६–७ जनासँग सुत्ने गर्थे। 

उनको बुवा उनलाई डाक्टर वा इन्जिनियर बनाउन चाहन्थे। तर, उनी गायक बने। त्यो पनि चर्चित। उनले बलिउडमा स्थापित हुन धेरै निर्माता–निर्देशकको ढोका ढकढक्याउनु पर्‍यो। लामो सघर्षपछि उनले सन् १९८८ मा ‘कयामत से कयामत तक’ फिल्ममा काम गर्ने मौका पाए। यसपछि उनले फर्किएर हेर्नु परेको छैन। 
 
सन् १९९८ मा ‘कुछ कुछ होता हे’ को सफलतापछि उनी फेरि अर्को समस्यामा परेका थिए। उनलाई पैसाका लागि टेलिफोनबाट धम्क्याउन सुरु भएको थियो। यसमा उनलाई गीत नगाउन धम्की समेत आउने गथ्र्यो। 

उनलाई मार्नका लागि एउटा समूहले पैसा समेत लिएको थियो। मुम्बई क्राइम ब्रान्चको सहयोगले उनी त्यति बेला बाच्न सफल भएका थिए। दुई पुलिस अधिकारी उनकाे सुरक्षाका लागि उपलब्ध गराइएको थियो। 

अहिले पनि उनको निवेदन मुम्बई पुलिस चौकीमा रेकर्डको रुपमा सुरक्षित छ। 

गत वर्षसम्म उनलाई धम्की दिने फोन आउँथ्यो। प्रहरीले एकपल्ट उनको नाममा ‘सुपारी’ लिएको एउटा समूहलाई लखनऊमा पक्राउ गरेको थियो। 

उनले पहिले एउटा गीतको १५ देखि २० हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेको बताएका छन्। ‘लगातार २२ वर्षसम्म मलाई धम्की मात्र आयो,’ उनले भारतीय सञ्चार माध्यमहरुमा दुःखेसो पोखेका छन्।

उनले धम्कीका कारण आफू धेरै पल्ट डिप्रेसनमा पुगेको खुलासा पनि गरे। उनले १९९८ देखि २००२ सम्म मेशीन गन बोकेका पुलिस अफिसर आफ्नो सुरक्षामा खटिएको बताए। 

सन् २०११ मा सरस्वती पुजा गरेर मुम्बईको सहारा अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा आफूलाई फोन आएको र कसैले लखनऊबाट मार्न एउटा समूह हिडिसकेको खबर दिएको उनले खुलासा गरे।

‘मेरो भाग्य राम्रो थियो। राती टेलिभिजनबाट मलाई मार्न हिँडेको समूह पक्राउ परेको समाचार आयो,’ उनले पुरानो कुरा कोट्याउँदै भने। 
उनले बलिउडमा आफूले पाएको स्नेहका लागि सबैलाई धन्यबाद भनेका छन्।

प्रकाशित मिति: : 2020-07-05 15:11:49

प्रतिकृया दिनुहोस्