प्रदेश १ लाई खेलकुदको राजधानी बनाउने संकल्प लिएका छाैं: मुख्यमन्त्री राई 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई खेलकुदको राजधानी बनाउने संकल्प लिएको बताएका छन् । 

विराटनगरमा १३ औं सागका विजयी खेलाडीलाई सम्मान गर्ने क्रममा उनले खेलकुद क्षेत्रले मुलुकको इज्जत प्रतिष्ठा, नामलाई शिखरको उचाईमा पुर्‍याउने भएकाले यसलाई सरकारले प्राथमिकतामा राखेको बताए।

सागमा प्रदेश १ बाट स्वर्ण, रजत र कास्य पदक हात पार्ने ८८ जना खेलाडीलाई ८० लाख रुपैयाँ पुरस्कार र प्रसंसा पत्र प्रदान गर्दै मुख्यमन्त्री राईले खेलकुद क्षेत्र अब छायाँमा नपर्ने जानकारी दिए । उनले भने, 'खेलकुद क्षेत्र अब छायाँमा पर्ने छैन । कुनै कसैको राजनीतिकको विभाजनमा पर्ने छैन।' 

प्रदेश सरकारले पुरस्कृत गर्ने क्रममा खेल, इभेन्ट र सहभागिताका अनुसार पुरस्कार वितरण गरेको थियो । सोही क्रममा भुटानलाई १ काविरुद्ध २ गोलले पराजित गरेर स्वर्णपदक हात पारेको फुटबल टोलीका सदस्यले ७५ हजार ५ सय रुपैयाँँ पाएका थिए । प्रदेशबाट फुटबलमा ८ जना खेलाडी रहेका छन् । 

प्रदेश सरकारले स्वर्णपदक हात पार्ने एकलतर्फ भने ३ लाख रुपैयाँ, रजतलाई २ लाख र कास्यलाई १ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको थियो । त्यसैगरि महिला फुटबलतर्फ रजत पदक हात पारेका ८ जना खेलाडीले जनही ६० हजार रुपैयाँ प्राप्त गरेकाछन् । 

प्रदेश सरकारले पुरस्कृत ८८ जना खेलाडीका लागि ८० लाख रुपैयाँले पुरस्कार प्रदान गरेको हो । यसमा एकतर्फ स्वर्ण हात पार्ने ६, रजत पदकमा ४ र कास्यमा १० जनाले पदक हात पारेका छन् । त्यसैगरि, टोलीतर्फ स्वर्ण १५, रजत २२ र कास्य ४१ जनाले हात पारेका थिए । 

प्रदेश १ बाट सागमा खेलाडीले १० स्वर्ण, १० रजत र २९ कास्य गरी ४९ पदक दिलाएका थिए । सागमा नेपाल कुल २ सय ७ पदकसहित दोस्रो भएको थियो ।  
 

प्रकाशित मिति: : 2020-07-15 18:37:53

प्रतिकृया दिनुहोस्