चरित्रहिन र बोक्सीको आरोपमा कपाल काटी कालोमोसो दलेर एकल महिलालाई पेटिकोटमा पुरै गाउँ घुमाइयो 

‘दैलोबाट घिसार्दै आँगनमा ल्याए, कपाल काटेपछि अर्धनग्न पारेर कालो मोसो दल्दै पुरै गाउँ घुमाए,’ उनले बिएल नेपाली सेवासँग भनिन्,‘मलाई डाइन (बोक्सी) भन्दै केहीले कपाल समाए, कसैले मेरा हात समाए कसैले खुट्टा समाइ मुक्कै मुक्काले खुब पिटे।’

बिहीबार प्रहरी समक्ष आसुँसँगै पोख्दै ४८ वर्षीय एकल महिलाले पीडा पोखिन्। उनीमाथि चरित्रहिन र बोक्सीको आरोप लगाउँदै कालोमोसो दलेर बुधबार बिहान करीव ९ बजे पेटिकोटमै पुरै गाउँ घुमाइएको थियाे। 

यो घटना हो पर्साको छिपहरमाई गाउँपालिका ३ बस्ने छोटकी जयमंगलापुरको। जहाँ बोक्सी र परपुरुषसँग सम्बन्ध रोखेको आरोपमा गाउँकी एकल महिला उमादेवी ठाकुरलाई उनका देवर राजदेव शर्मा, सोही गाउँपालिकाका एक कार्यपालिका सदस्य सुवास साह कानु, संजय गिरी र स्थानीय गायक मुन्नीलाल परदेशी, राजदेव शर्मासहित ७ जना पुरूष र आफ्नी दुई देवरानीले मिलेर यस्तो सर्मनाक घटना घटाए।

७ पुरुषहरुले दुवै हात पछाडि बाँधेर उनीाथि बल प्रयोग गर्दै कालो मोसो दलेर कपाल काटेर गाउँ घुमाए। जसमा उनकी आफ्नी दुई देवरानीले यातनाको समयमा गालीगलौजसमेत गरिरहेको पीडितले प्रहरी समक्ष बयान दिएकी छिन्।

घटना भएको दिन पीडितलाई गाउँ घुमाइसकेपछि केही स्थानीयले प्रहरीलाई गोप्य रुपमा खबर गरेका थिए। त्यसपछि बुडगाइँ प्रहरी चौकिबाट आएका प्रहरीले महिलालाई बचाएको पीडितको भनाइ छ।

सो घटना सार्वजनिक भएपछि इलाका प्रहरी कार्यालय, पोखरीयाबाट खटिएका थप प्रहरीले आरोपित मुन्नीलाल परदेशी र राजदेव शर्मासहित उनकी देवरानीलाई बुधबार नै पक्राउ गरेकाे थियाे। गाउँपालिका सदस्य सुवास साह कानु लगायतका केही व्यक्तिहरु अझै फरार रहेको प्रहरीले जनाएको छ।

घटनामा संलग्नहरुले ७ महिना पहिले पनि पीडित महिलामाथि बोक्सीको आरोप लागएर यस्तै दुर्व्यवहार गरेका थिए। तर गरिव र एकल महिला भएर गाउँघरको मामला भन्दै उनको आवजलाई दबाइएको थियो। पीडित एकल महिलामाथि उनका देवरसँगै गाउँका राजनितिक दम्भ राख्ने पुरुषले असहनीय कुटपिट गरेका छन्।

पीडित महिलाले पर्सा प्रहरी समक्ष आफूमाथि भएको घटनाक्रम सुनाउदै आसुँ थाम्न सकेकी छैनन्। रूदारूँदै उनको ओठ सुकिसकेको छ। उनको लामो केश काटिसकेकाले उनी लज्जित भएर आफ्नो शीर साडीको आँचले छोपिरहन्छिन्। उनी प्रहरीसामू सानो बालक जस्तै रूँदै कहिल्यै आफ्नो खुट्टाको चोट देखाउँछिन् कहिले कुटाइले हात सुन्निएको देखाउँछिन्। उनको शरीरभरि निल डाम देखिन्थ्यो। 

पीडित महिलाका श्रीमान दुई वर्ष अगाडिनै बितिसकेका छन्। अहिले परीवारमा बुढी सासुसहित ४ जना छोरी र एक छोरा गरी ५ जना सन्तान छन्। जेठी छोरीको विवाह भइसकेको र अहिले उनी एक वर्षे काखे बालकसहित माइतमै एक वर्षदेखि आमासँगै बस्दै आइरहेकी छिन्।

बुधबारको घटनामा जेठी छोरीले समेत आमालाई बचाउन जाँदा उनीमाथि पनि कुटपिट भएको पीडित महिलाको भनाइ छ। ‘मलाई बचाउन जाँदा मेरी सुत्केरी छोरीलाई पनि कुटे, यो घटना भएको पहिलो चोटि होइन यो मिलाएर ३ पटक यसरी मलाई कुटपिट गरिसके’, उनले भनिन्, ‘पहिले पनि प्रहरीमा बोक्सीको आरोप लगाएपछि आएको थिएँ’, उनले न्याय माग्दै भनिन्। 

पीडित महिलाका १४ वर्षका एक छोरा छन्। उनी घरको आर्थिक अवस्था कमजोर भएकाले हेटौँडाको एक कारखानामा काम गर्छन्। पीडित महिलाले घरमा एउटा गाई पालेकी छिन्। सोहि गाईको दुध बेचेर उनी आफ्नो घर परिवारको जीविकोपार्जन गरिरहेकी छन्। 

यसैबीच पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले महिलामाथि भएको यो घटना एकदमै निन्दनीय भएको र घटनाको प्रकृति हेर्दा अमानवीय व्यवहारको मुद्दा दोषिमाथि लगाइने बताइन्। ‘घटना भएकै हो, पीडितको बयान अनुसार ठूलो समूह घटनामा संलग्न छ। जसमा केहि व्यक्ति नियन्त्रणमा छन्, अब यसमा कसको प्रत्यक्ष र कसको अप्रत्यक्ष संलग्नता छ यस बारेमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ,’ उनले भनिन्। 

एसपी पन्तका अनुसार मुलुकी ऐनको फौजदारी संहिताको १६८ मा अपमानजनक वा अमानवीय व्यवहार गर्न नहुने जनाउँदै यस अनुसारको कसुर गर्ने व्यक्तिलाई ५ वर्षको कैद र ५० हजारसम्मको जरिवाना हुने र यही कसुर अनुसार दोषिमाथि मुद्दा चल्ने उनले जानकारी दिइन्।

प्रकाशित मिति: : 2020-07-16 18:15:16

प्रतिकृया दिनुहोस्