प्रधानमन्त्रीले भगवान् रामको जन्मभूमि ठाेरी भनेसँगै स्थानिय हर्षित, गरियाे पुजाअर्चना

पर्साको ठोरी गाउँपालिका २ मा रहेको सीता गुफा परिसरमा धुमधामसँग पुजाअर्चना गरिएको छ।

केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् रामको जन्मभूमि ठोरी क्षेत्र भएको अभिव्यक्ति दिएपछि हर्षित स्थानीयले शनिबार सीता गुफा, वनशक्ति मन्दिर लगायतका शक्तिपीठहरुमा विशेष पुजाअर्चना गरेका हुन् ।

ठोरी गाउँपालिकाको आह्वानमा सीता गुफा परिसरमा भेला भएका स्थानीयले सो ठाउँबाट अमृत धाराबाट घडामा जल भरेर ऐतिहासिक वनशक्ति मन्दिर परिक्रमा गर्दै सीता गुफासम्म जलयात्रा गरेका थिए।

कलश यात्रामा सहभागीहरुले राम र सीताको जयजयकार गर्दै भजन किर्तन समेत गरेका थिए।

कलशयात्रा पश्चात् सीता गुफामा भेला भएका ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठ सहितको श्रद्धालु भक्तजनहरुले भगवान् राम, सीता र हनुमान लगायतको वैदिक मन्त्रोच्चारणसहित विशेष पुजाअर्चना गरेका थिए।

‘सीता गुफा भएको ठाउँकै वरपर भगवान् रामको पनि बसोबास हुने भएको र ठोरीमा रहेको सीता गुफा, अमृत धारा, सीता कुण्ड लगायतका ठाउँहरु   यसअघिदेखि नै पुजापाठ हुँदै आइरहेको थियो,’ उनले भने, ‘प्रधानमन्त्रीले भन्नुभएको विषयसँग मेल खाने अवस्था रहेकोले सीता गुफा परिसरमा विशेष पुजाअर्चना आयोजना गरेका हौँ।’

उनले सीता गुफा वरपरका क्षेत्रको धार्मिक विकासका लागि गाउँपालिका स्तरबाट हुने सबै प्रकारको काम गरिने समेत बताए। उनले वृहत् विकासका लागि संघ र प्रदेशमा अनुरोध र समन्वय गरिने बताए।

अध्यक्ष श्रेष्ठले सीता गुफाको विकासको लागि प्रारम्भिक विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न गाउँपालिकाले तत्काल थाल्ने र गुफा अगाडि धनुषसहितको भगवान् रामको आकर्षक मूर्ति पनि यसैर्षव निर्माण गरिने घोषणा गरे।

प्रधानमन्त्रीको अभिव्यक्तीले आफुहरुले भन्दै आएको विषयलाई उजागर गर्न पहल गरेकोले अब ठोरीलाई धार्मिक पर्यटनको क्षेत्रका रुपमा विकास गर्न सरकारले पुर्वाधार निर्माण गर्नुपर्ने स्थानीय सामाजिक अभियन्ता प्रकाश खनालले बताए ।

बर्षौदेखि सो क्षेत्रमा स्थानीयले पुजापाठ गर्दै आइरहेको भएपनि प्रधानमन्त्रीको अभिव्यक्तीले आफूहरुले भन्दै आएको राम जन्मभुमिको विषयलाई सम्बोधन गरेको भन्दै त्यसैको खुसियालीमा विशेष पुजाअर्चना गरिएको उनले बताए। 

ठोरीमा रहेको शक्ति पीठ र भौगोलिक अवस्थाले गर्दा पनि ठोरीमा भौतिक पुर्वाधार निर्माण अपरिहार्य रहेकोले तीनै तहको सरकारले यसको लागि काम थाल्नुपर्ने अर्की सामाजिक अभियन्ता गोकुली रेग्मीले बताएका छिन्।

प्रकाशित मिति: : 2020-07-18 21:37:59

प्रतिकृया दिनुहोस्