स्थानीय तह निर्वाचन

ऐतिहासिक सहर नेपालगञ्ज उपमहानगरको मेयर को ? 

Breaknlinks
Breaknlinks

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका पश्चिम नेपालकै एक ऐतिहासिक तथा व्यापारिक सहर हो। साविकको मध्य र सुदुरपश्चिम क्षेत्रकै व्यापारिक सहरका रुपमा नेपालगञ्ज बजार छ।

देशकै पूरानो मध्यको सहरका रुपमा नेपालगञ्जलाई मानिन्छ। पहिले मध्य र सुदुरपश्चिमका नागरिक नुनदेखि सुनससम्म पाउन नेपालगञ्ज बजारमा भर पर्नु पर्ने अवस्था थियो।

नेपालगञ्ज यस अर्थमा पनि ऐतिहासिक सहर हो। जुन पर्यटक प्रवेशद्वारको रुपमा पनि रहेको छ। मानसरोवर जाने भारतीय पर्यटक नेपालगञ्ज हुँदै प्रवेश गर्दछन्। 

०७४ सालमा निर्वाचित जनप्रतिनिधिको समयावधि सकिनै लाग्दा यस ऐतिहासिक नगरको अबको मेयर को भन्ने विषयले निकै चर्चा पाइरहेको छ। बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा कसको उम्मेदवारी पर्छ होला भन्ने चर्चा चुलिदै गइरहेको छ। 

विशेष त ०७४ सालको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर बनेका डा. धवल शम्सेर राणाले अब मेयरका रुपमा नउठ्ने घोषणा गरिसकेपछि अझ विशेष चासोका साथ मेयर को हुने भन्ने चर्चा राजनीतिक वृत्तमा छ। 

डा. राणाको नेपालगञ्जमा प्रभाव राम्रो रहेको छ। ०७४ अघि ०५४ सालमा पनि उनी एमालेबाट मेयर बनेका थिए। 

०७४ सालको निर्वाचनमा डा. राणा १२ हजार ५ सय १५ मत प्राप्त गर्दै मेयरमा विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डा. सुरेशकुमार कनोडियालाई  ३ हजार ७ सय ८५ मतले पछाडि पार्दै विजयी भएका थिए। कनोडियाले ८ हजार ७ सय ३० मत प्राप्त गरेका थिए।

अघिल्लो निर्वाचनमा भारी मतका साथ मेयरमा विजयी भएका डा. राणा प्रतिनिधि सभा सदस्यका रुपमा उठ्न सक्ने आँकल गरिएको छ। जसअनुसार उनको भेटघाट पनि भइरहेको बताइन्छ। 

यी हुन् नेपालगञ्जको मेयर बन्न सक्ने सम्भावित व्यक्ति 

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरका रुपमा उम्मेदवारी दिने घोषणा कसैले नगरे पनि आकांक्षिहरु भने धेरै रहेका छन्। विशेष गरेर काँग्रेसबाट मेयरका आकांक्षि धेरै देखिन्छन्। हाल उप–मेयर रहेकी उमा थापा मगरले मेयरमा आफ्नो दाबी गर्दै आएकी छिन्। 

त्यस्तै काँग्रेसबाटै ०७४ को निर्वाचनमा डा. राणासँग पराजित भएका डा. कनोडियो र नेपालगञ्जका नगरसभापतिसमेत रहेका प्रशान्त विष्ट पनि मेयरका रुपमा आकांक्षि रहेका छन्। उनीहरुले आ–आफ्नै ढंगले मेयरको उम्मेदवार बन्न लविङ गरिरहेको बताइन्छ। 

काँग्रेसबाट मेयर रुपमा विशेष गरेर तीन जनाको नाम अहिले चर्चा रहेको भन्दै बाँके काँग्रेसकी सचिव सञ्जु चौधरीले तीनै जना टप ५ मा पर्ने व्यक्ति रहेको बताइन। ‘तीन जनाको नाम चर्चा छ। उहाँहरु मध्ये कसले मेयरका रुपमा टिकट पाउने भन्ने पार्टीको विधि, विधानअनुसार होला।’ सचिव चौधरीले भनिन्। 

दाबी सबैले गर्न पाउने भन्दै उनले पार्टीले उम्मेदवारको टुंगो लगाउने बताइन। चौधरीले  पाँच दलीय गठबन्धन अनुसार पार्टीको निर्देशन जे हुन्छ सोही अनुसार उम्मेदवारको नाम टुंगाउने पनि बताइन। 

उनले पाँच दलीय गठबन्धन नभएपनि बाँके काँग्रेस जिल्लामा आफ्नो जित निकाल्न सक्षम रहेको उल्लेख गरिन। उनले बाँकेका जनता अन्य पार्टीबाट निरास भइसकेको भन्दै काँग्रेसलाई भोट हाल्न आतुर रहेको पनि जिकिर गरिन। 

यस्तै नेपालगञ्जको मेयरको रुपमा एमालेबाट पशुपतिदयाल मिश्रको नाम मेयरमा रुपमा चर्चामा छ। उनी गएको मंसिर १ गते स्वतन्त्र समूहबाट ४ हजार बढी नेताकार्यक्रतासहित एमालेमा प्रवेश गरेका थिए। 

मिश्र मेयरको उम्मेदवार बन्ने निश्चित नै रहेको एमाले बाँकेका उपाध्यक्ष डिल्ली विसीले बताए। उनले भने, ‘अध्यक्ष केपी शर्मा ओलीसँग मेयरको उम्मेदवार बन्ने सहमतिसहित उनी एमालेमा प्रवेश गरेका हुन। उनी नै अब नेपालगञ्जको मेयरका उम्मेदवार हुन।’

उपाध्यक्ष विसीले बाँकेको ८ वटा स्थानीय तहमध्ये गठबन्धन नै भएपनि ६ पालिकामा आफूहरुले जित्ने दाबी गरे। उनले गठबन्धन भएन भने सबैपालिकामा जित्ने बताउँदै बाँकेवासीले जिल्लाको विकास गर्ने एमाले पार्टीले मात्र गर्न सक्ने थाहा पाइसकेको उल्लेख गरे। त्यसले गर्दा पनि बाँकेको विकासका लागि एमालेले जित्नुपर्ने उपाध्यक्ष विसीको भनाई छ। 

विसीले मिश्र स्वयम बाँकेको प्रभावशाली व्यक्ति रहेको र एमालेमा प्रवेश गरिसकेपछि थप बलियो उम्मेदवार रहेको दाबी गरे। एमाले केन्द्रीय सदस्यसमेत रहेका मिश्रले उम्मेदवार बन्ने गरी चुनावी अभियानका कार्यक्रमहरु पनि गरिरहेका छन्। 

यस्तै नेकपा माओवादी केन्द्रबाट नेपागञ्जको मेयर बन्न विभिन्न व्यक्ति आकांक्षि रहेको राजनीतिक वृत्तमा चर्चा छ। जसअनुसार माओवादीका प्रदेश सदस्य नविन शर्मा, नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल वैश्य र जिल्ला सदस्य आदेश अग्रवालको नाम मेयरका रुपमा चर्चामा छ। 

यसअघि ०७४ को स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित भएका माओवादी केन्द्रका नेता दामोदर आचार्यको हालैमात्र निधन भएको थियो। अहिले यी तीन जनाले मेयरका रुपमा आफ्नो आकांक्षा व्यक्त गरिरहेको माओवादी केन्द्र बाँकेका संयोगक आइपी खरेलले बताए। 

उनले नाम चर्चामा भएपनि कसले टिकट पाउने कुनै तयारी नभएको बताए। गठबन्धनको अवस्था हेरेर तयारी गरिने बताउँदै संयोगक खरेलले अहिले चुनावी गतिविधि भने तिब्र पारिएको बताए  ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा मोहम्मद सफिक बेहनाको नाम चर्चामा रहेको छ। उनी नेपालगन्ज वडा नम्बर ४ का वडाअध्यक्ष समेत हुन्। त्यस्तै नेकपा (एकिकृत समाजवादी)बाट मेयरका रुपमा कमरुद्धिन राईको नाम चर्चामा रहेको छ।  

राष्ट्रिय जनमोर्चाबाट भने कृष्णाराज पाण्डेको मेयरका रुपमा चर्चामा रहेको राजनीतिक वृत्तमा सुनिन्छ। 

हाम्रो मेयरका रुपमा दाबी रहन्छ : थापा मगर

हाल नेपालगञ्ज उमपहानगरपालिकाको उप–मेयरसमेत रहकी नेपाली काँग्रेसकी नेतृ उमा थापा मगरले नेपालगञ्जको मेयरका रुपमा आफ्नो पार्टीको दाबी रहेको बताइन। गठबन्धन भएपनि नेपालगञ्जमा काँग्रेसको पक्षमा मेयर पदको भाग पर्नु पर्ने उनले धारणा राखिन। 

आफ्नो पनि मेयरमा दाबी रहेको भन्दै उनले नेपालगञ्जमा काँग्रेसका प्रभाव रहेको सोही अनुसार पार्टीले निर्णय गर्नुपर्ने बताइन। उनले सधै महिलालाई उपमेयर मात्र दिन नहुने बताउँदै नेतृत्व गर्न सक्ने महिलालाई मेयरमा पनि जिम्मेवारी सुम्पन्न पार्टी नेतृत्व तयार हुनु पर्ने धारणा राखिन। 

विएल मिडियासँग कुरा गर्दै उनले स्थानीय तहमा गठबन्धनको माग नरहेको बताइन। उनले भनिन्,  ‘गठबन्धन भनिएको छ। तर स्थानीय तहमा गठबन्धनको माग छैन। यहाँ पार्टी कार्यक्रताले भन्दा नेताले चलाएकाले गठबन्धन गर्नु परेको छ।’

परिस्थिति अनुसार गठबन्धन गर्नुपरेको भन्दै उनले गठबन्धन भएपनि नेपालगञ्जको मेयरमा काँग्रेले दाबी नछाड्ने बताइन। साथै उनले सबै पार्टीलाई महिलालाई नेतृत्व दिन कञ्जुस्याई नगर्न पनि आग्रह गरिन। उनले महिला कुनै पनि क्षेत्रमा नेतृत्व गर्न सक्षम रहेको जिकिर गरिन।

प्रकाशित मिति: : 2022-04-01 06:31:00

प्रतिकृया दिनुहोस्