वीरगञ्जमा शंकास्पद संक्रमित युवतीको मृत्यु 

वीरगञ्जमा शंकास्पद कोरोना संक्रमित युवतीको मृत्यु भएको छ। 

मृत्यु हुनेमा बारा परवानीपुर गाउँपालिका–४ घर भएकी १७ बर्षिया सबनम खातुन रहेकी छन्। 

नारायणी अस्पतालमा उपचारको क्रममा अवस्था गम्भिर भएपछि उनलाई बुधबार वीरगञ्ज हेल्थ केयर अस्पताल ल्याइएको थियो। 

उक्त अस्पतालको ईमेरजेन्सी वार्डमा भर्ना भएपछि उनको आरडिटी परीक्षण गरिएको थियो। आरडिटि पोजेटिभ देखिएपछि कोरोनाको आशंकामा उपचार शुरु गरिएको थियो। 

बिहिबार गण्डक कोभिड अस्थायी अस्पतालमा भर्ना भएकी उनको शुक्रबार अपरान्हमा निधन भएको हो। खातुनको उपचारकै क्रममा मृत्यु भएको डा निरज सिंहले जानकारी दिए। 

‘पखाला र जिउ काम्ने भईरहेको थियो, सँगसँगै स्वास प्रश्वासमा पनि समस्या थियो' उनले भने, ‘उहाँलाई बचाउन सकेनौं, पीसीआर परीक्षणका लागि स्वाब गए पनि रिपोर्ट आईसकेको छैन।’

 वीरगञ्ज हेल्थ केयर अस्पतालले दिएको जानकारी अनुसार बुधबार साढे १० बजे राति उनलाई नारायणी अस्पतालबाट वीरगञ्ज हेल्थ केयर अस्पतालमा ल्याइएको थियो। 

आरडिटी पोजेटिभ देखिएपछि हेल्थ केयरमै स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको थियो। बिहिबार रिपोर्ट नआएपछि जनस्वास्थ्य कार्यालयसँग समन्वय गरेर गण्डक अस्पतालमा रिफर गरिएको अस्पतालका सञ्चालक डा अबुलहैस अन्सारीले बताए।

प्रकाशित मिति: : 2020-07-24 21:01:37

प्रतिकृया दिनुहोस्