पोखरामा विमान दुर्घटना

श्रीमानकाे सपना पूरा गर्ने अञ्जुकाे सपना अधुरै रह्यो

फाइल तस्विर
फाइल तस्विर

विराटनगर माइत रहेकी अञ्जु खतिवडाले श्रीमानको सपना पूरा गर्न पाइलट पढेकी थिइन्। उनका श्रीमान दिलीप पोखरेल यति एयरलाइन्सका काे– पाइलट थिए। सन २००६ मा जुम्लामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनामा पोखरेललेको निधन भएको थियो।

तर, आइतबार बिहान पोखराको सेती खोंचमा भएको जहाज दुर्घटनामा परी पर्दा अञ्जुको पनि निधन भयो। उनी यति एयरलाइन्सको को–पाइलट थिइन।

विराटनगरकी खतिवडा उक्त दुर्घटनाग्रस्त ९एन–एएनसी एटिआर ७२ विमानको को-पाइलट थिइन। उक्त जहाज पाइलट कमल केसीले उडाएका थिए।

विराटनगर ५ घर भएकी अञ्जुले जहाज दुर्घटनामा श्रीमानको निधन भएपछि पाइलट पढेकी थिइन्। भारतबाट प्लस टु गरेकी उनले अमेरिकाबाट पाइलट पढेकी थिइन।

छिमेकीसमेत रहेका विराटनगर महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सन्तोष न्यौपाने भन्छन्,‘बुवा गोविन्द खतिवडा र परिवार सदस्यको आग्रहलाई थाँती राखेर अञ्जुले श्रीमानकाे सपना साकार पार्न अमेरिका पुगेकी थिइन। केही वर्ष अमेरिकाको क्यालिफोर्नियामा उनले हवाईसम्बन्धी अध्ययन पूरा गरेपछि १३ वर्षदेखि नेपाली आकाशमा यात्रुलाई गन्तव्यमा पुर्‍याउने कार्यमा खटिन। यसलाई उनले आफ्नो श्रीमानकाे सपना साकार भएको मान्ने गर्थिन्।’

वडाध्यक्ष न्यौपानेकाअनुसार पोखरेलको निधनपछि नै अञ्जुले अमेरिका गएर पाइलट पढेकी थिइन्।

अञ्जुले हालसम्म करिब १०० घण्ट जहाज उडाइन्। जहाज उडाएका पाइलट केसी २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए।

यति एयरलाइन्सकाअनुसार अञ्जुले यसअघि भद्रपुर, विराटनगर, धनगढी लगायत ठूला जहाज उडान हुने विमानस्थलमा सफल उडान गरिसकेकी थिइन। आज प्रशिक्षक पाइलटको रुपमा रहेका केसीले अञ्जुलाई क्याप्टेनमा पास गराउने अन्तिम उडान गराइरहेका थिए। उनले क्याप्टेन क्लियरेन्सको प्रमाणपत्र पाउने उडान दुर्घटनामा परेको हो।

आइतबार बिहान पोखरामा भएको यति एयरलाइन्सको दुर्घटनामा अहिलेसम्म ६९ जनाको मृत्यु भएको छ।

प्रकाशित मिति: : 2023-01-16 08:47:00

प्रतिकृया दिनुहोस्