सेयर खरिदबिक्री रकममा वृद्धि , नेप्से सूचक २२ अंकले उकालो

सेयर बजारमा खरिदबिक्री रकमसँगै नेप्से सूचक पनि उकालो लागेको छ । नेप्से सूचक २२.४० विन्दुले बढेर १४६५.१० अंकमा आइपुगेको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलताको कारण बैंक ब्याजदर घटेको छ । यसको सकारात्मक प्रभाव सेयर बजारमा परेको हो । परिसूचक माथि जाँदा लगानीकर्ता थप उत्साहित देखिएका छन् ।

गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने क्रम सुरु भएको छ । यद्दपि, अहिलेसम्म सूचीकृत ठूला कम्पनीहरुको वित्तीय विवरण आइसकेको छैन । गत आर्थिक वर्षको चोथो त्रैमासको वित्तीय विवरणको समग्र अवस्थाले पनि बजारको आगामी गति निर्धारण गर्न सहयोग पुर्याउने विश्वास गर्न सकिन्छ । 


लगानीकर्ताको मनोबलले पनि सेयर बजारमा थप सकारात्मक प्रभाव पार्ने गर्छ । बजार सुधार हुनु आम लगानीकर्ताका लागि खुशीको विषय हो । तर यही बेला लगानीकर्ता सचेत भने हुन जरुरी छ । सम्बद्ध कम्पनीको समग्र वित्तीय अवस्था, प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी अनुपात लगायतका पक्षमा पनि विशेष ध्यान दिनुपर्छ । 
 

 १९० कम्पनीको १ अर्ब ९४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो । ४५ लाख भन्दा बढी कित्ता कारोबार भएको छ । कारोबार भएका १२ उपसमूहमध्ये ३ वटा घटेका छन् भने बाँकी सबै उपसमूह माथि लागेका छन् । जीवन बिमा समूह सबैभन्दा धेरै ३३८.८ अंकले बढेको छ ।


वाणिज्य बैंक समूह पनि १६.५ अंकले माथि लागेको छ । मिर्मिरे माइक्रोफाइनान्स लघुवित्त र तारागाउँ रिजेन्सी होटेलको भाउ १०% ले बढेर सर्किट लागेको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसको २५ करोड ८४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, दोस्रोमा नेपाल पुनर्बिमा कम्पनी र तेस्रोमा एनआइसी एसिया लघुवित्त परेका छन् ।

प्रकाशित मिति: : 2020-07-26 16:30:39

प्रतिकृया दिनुहोस्