राखेपको सदस्यसचिवमा पुन: रमेश सिलवाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्यसचिवमा पुनः रमेशकुमार सिलवाल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले राखेप सदस्यसचिवको जिम्मेवारी पुनः सिलवाललाई सुम्पेको हो।

सिलवालले अब चार वर्ष राखेपको जिम्मेवारी सम्हाल्नेछन्।

यसअघि गत असारमा राखेपको सदस्यसचिवमा नियुक्त भएका सिलवाल नयाँ खेलकुद ऐन २०७७ आएपछि पदमुक्त भएका थिए।

सिलवालले छोटो समयमा नै सफलतापूर्वक १३ औं दक्षिण एशियाली खेलकुद (साग) आयोजना गरेका थिए।

राखेपको सदस्यसचिवका लागि यसपटक पहिलो पटक खुला आह्वान गरिएको होे। जसमा ३ महिलासहित २७ जनाले आवेदन दिएका थिए।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रिम रानाभाट र ईन्दिरा निरौला सदस्य रहेको सिफारिस समितीले बुधबार अन्जु श्रेष्ठ, लिल बहादुर थापा र रमेश कुमार सिलवालको नाम युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्मालाइ बुझाएको थियो।

ती नामहरु मन्त्रीपरिषदमा पठाइएकोमा सिलवाललाई सदस्यसचिवमा नियुक्त गरिएको हो।

यस्तै राखेपको उपाध्यक्षमा शिव कोइराला नियुक्त भएका छन्। १३ औं सागमा प्रचारप्रसार समितिको जिम्मेवारी सम्हालेका कोईरालालाई मन्त्री परिषद बैठकले उपाध्यक्षको जिम्मेवारी दिएको हो।

प्रकाशित मिति: : 2020-07-27 20:14:06

प्रतिकृया दिनुहोस्