'नदी सप्तक' कविता शृङ्खला- ७

काली

कविता भावनाको कलात्मक अभिव्यक्ति मात्र होइन, होइन फगत कोरा शब्दहरूको सङ्गालो मात्रै। यो त आफैँमा जागरण पनि हो। चेत पहिल्याउने बाटो पनि हो। कविता आफैँमा नदी हो, निरन्तर चेतना प्रवाहित हुने नदी। अर्को नदी अर्थात् कालीगण्डकी। यी दुई नदीलाई जोड्ने प्रयत्न गरेका छौं हामीले।

नेपालका मात्रै होइन, विश्वकै नदीहरूमाझ छुट्टै विरासत बोकेको नदी हो कालीगण्डकी। ऋषिहरूले सिद्धि र मुक्ति प्राप्तिका लागि र विज्ञहरुले पर्यावरणका लागि कालीगण्डकी बहाव क्षेत्रलाई अति उत्तम मानेका छन्। पारिस्थितिक प्रणालीको उपयोगिताले पनि कालीगण्डकी आफैंमा विशिष्ट नदी हो। यससँग लाखौं मानिसहरुको जीवन जोडिएको छ। स्थानीयका निम्ति जीवन मात्र होइन, जन्मदेखि मृत्युसम्मको जीविका र संस्कार जोडिएको छ।

दुर्भाग्य, अहिले कालीगण्डकीमाथि विभत्स अवैध दोहन चलिरहेको छ। कालीगण्डकीको पवित्र जल प्रतिदिन प्रदुषित बन्दै गएको छ भने नदीमा जलमात्रा पनि पनि घट्दो छ। नदीको सभ्यता, पर्यावरण र जिविकामाथि गम्भीर संकट पैदा हुने गरि गरिने दोहनका कारण घाटहरू विस्थापित बनेका छन्।

दामोदरकुण्ड–मुक्तिनाथदेखि कालीगण्डकीसँगै बगी आउने प्रशिद्ध शालिग्राम शिला डोजरले उत्खनन गरी गिट्टीमा परिणत हुँदैछ। नदीलाई नदीकै बाटो हिँड्न नदिँदाको परिणाम हामीले भोगिरहेका छौँ। यस्तै हस्तक्षेप कालीमाथि भइरहने हो भने त्यसले निम्त्याउने सङ्कट कल्पना बाहिरको छ।

त्यसैले, कालीगण्डकी नदीको वैविध्य (धार्मिक, साँस्कृतिक, भौगर्भिक, जैविक, प्राकृतिक, जनजिविका) लाई आममानिसका बीच परिचित गराउन र यसले बेहोर्दै आएको भयावह सङ्कटलाई विभिन्न विधामार्फत चेतना फैल्याउने अभियान आरम्भ भएको छ।

त्यसलाई कवितामार्फत मुखरित गर्न ’कालीगण्डकी बचाऔँ अभियान’ले 'नदी सप्तक श्रृङखला' (आन्दोलन कविता) सुरू गरेकाे छ।

यस अन्तर्गत साताैँ श्रृंखलामा कवि हेमन्त गिरीकाे कविताः

काली

छोड्लान कि सन्तानले भन्दै 
डराइडराई आमा-बाबुले आँसु बगाए जस्तै !
निमोठिएला कि गर्भ भन्दै 
डराइडराई बहिनी-संगिनीले मासिक स्राव बगाए जस्तै !

जहाजमा फर्कूंला कि बाकसमा भन्दै 
डराइडराई परदेशीले मरुभूमिमा पसिना बगाए जस्तै !
आफू मरेर बँचाएको देश बाँच्ला कि नबाँच्ला भन्दै 
डराइडराई सिपाहीले युद्धभूमिमा रगत बगाए जस्तै !

डराइडराई बग्नु परिरहेछ अचेल मलाई !
डराइडराई बाँच्नु परिरहेछ बडो नमज्जासँग !
सोच्न सक्नुहुन्छ-
स्वयं नदी नै बग्न डराउने भूगोल कस्तो हुन्छ ?!

प्रकृतिले प्राथमिकतामा पारेको स्वर्गभूमिमा 
नहुनुपर्ने हो ईमानको ईश्वर दुर्गन्धित, 
तर 
मेरै छातीमाथि 
कौडीमा बेचिइरहन्छन् शालिग्रामहरु !
देवताहरु खेल्ने देवभूमिमा 
नहुनुपर्ने हो देवीहरु बलात्कृत,
तर 
मेरै किनार साक्षी राखेर 
बलात्कृत भइदिन्छ आस्थाको बगर दिनहुँ  !!

त्यसैले त अचेल डर लाग्छ 
हिउँदमासमा सुसाउन मलाई !
झनै डर लाग्छ बर्खामासमा बहुलाउन पनि !!

काली हुँ म,
यस्तो देशमा बगिरहेकी छु डराइडराई !
देख्दै, सम्झिँदै, झस्किँदै- 
भोलि मेरो नियति पनि महाकाली नबनोस् !!

म सुकेँ भने कुनै दिन 
सोध्लान् कि नसोध्लान् कसैले
देवीहरु बेचिने भूमि 
कसरी आजसम्म देवभूमि कहलियो ?!

यसलाई पाेस्टरमा पनि पढ्न सकिन्छः

प्रकाशित मिति: : 2021-09-25 11:06:00

प्रतिकृया दिनुहोस्