सन्दीप क्वारेन्टाइनमा

क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी२० क्रिकेट प्रतियाेगिता खेल्न ट्रिनिडाड एन्ड टोबागो पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेलाई १४ दिनकाे लागि क्वारेन्टाइनमा राखिएको छ । सीपीएल खेल्ने सन्दीपलगायत सम्पूर्ण खेलाडीलाई आइतबारदेखि क्वारेन्टाइनमा राखिएको हो । 

सीपीएल आगामी भदौ २ गतेदेखि शुरु हुँदैछ । 'प्रतियोगिताअघि सबै खेलाडीले अनिवार्य १४ दिन क्वारेन्टिन बस्नुपर्ने आयोजकले नियम बनाएको छ, त्यसैअनुसार अन्य खेलाडीले जस्तै सन्दीप पनि क्वारेन्टाइनमा बस्नु परेको हो', उनका व्यवस्थापक रमन शिवाकोटीले भने । 

अन्तर्राष्ट्रिय हवाई उडान रद्द रहेको स्थितिमा सन्दीपले त्यो प्रतियोगिता खेल्ने अनिश्चित भएको थियो। तर नेपाल सरकारले सहजीकरण गरेपछि उनी बिहीबार कोरियन एअरको चार्टर्ड फ्लाइटबाट कोरिया गएका थिए। त्यहाँबाउ उनी अमेरिका हुँदै ट्रिनिडाड एण्ड टोबागोको हवाई यात्रा तय गरेका थिए।

 सीपीएल खेल्न जानुअघि उनले मंगलबार ललितपुरको स्टार हस्पिटलमा कोरोना परीक्षण गराएका थिए। उनले परीक्षणको रिपोर्ट बुधबार प्राप्त गरेका थिए। तर सन्दीपले आफ्नो पीसीआर परीक्षण पुन: गराउनु पर्ने छ। 
 
सन्दीप सीपीएलका लागि यस पटक जमैका तल्लावाहजबाट अनुबन्धित भएका छन्। उनलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको हो । सन्दीपले सीपीएल खेल्न लागेको यो तेस्रो पटक हो । उनले यसअघि सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सीपीएल खेलेका थिए। 

यस्तै दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेलेका थिए।  

यसपटक सन्दीपको टोलीमा विश्व क्रिकेटका प्रख्यात खेलाडी आन्द्रे रसेल, कार्लोस ब्रेथवेट, तरबेज शाम्सी, ओशन थोमसलगायत छन् । उहाँ आबद्ध जमैका तलावाजले आगामी भदौ ३ गते सेन्ट लुसिया जौक्ससित खेल्नेछ । 

सीपीएलमा जमैकासँगै बार्बाडोस ट्रिडेन्ट्स, ट्रिनबागो नाइट राइडर्स, गुएना अमेजन वारियर्स, सेन्ट लुसिया जौउक्स र सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्सले प्रतिस्पर्धा गर्नेछन् । 

सीपीएलमा कुल ३३ खेल हुने छन् भने कारोना भाइरसका कारण ती सबै खेल बिना दर्शक खेलाइने आयोजकले जनाएको छ । सीपीएल आगामी भदौ २५ गतेसम्म चल्ने छ । 

प्रकाशित मिति: : 2020-08-03 17:07:24

प्रतिकृया दिनुहोस्