भारतमा १७० ‘सेलिब्रिटी’ को सोशल मिडिया अकाउण्टको छानबिन हुँदै

भारतको महाराष्ट्र प्रहरीको क्राइम ब्राञ्चले फिल्मी उद्योगसँग जोडिएका १ सय ७० भन्दा बढी सेलिब्रिटीको सोशल मिडिया अकाउण्डको छानवीन सुरु गरेको छ।

नक्कली फलोअर्सको मुद्दामा शुक्रबार मुम्बई प्रहरीले चर्चित र्‍यापर बादशाहलाई बोलाएको थियो। उनको इन्स्टाग्राम अकाउण्ट ‘एट ब्याडब्वाइशाह’ माथि फर्जी तरिकाले फलोअर्स बढाएको आरोप लागेको थियो। उनलाई ३ अगस्टमै बोलाइएको थियो। तर, नीजि कारणले उनी जान सकेनन्। 

प्रहरी बलिउड हिरो–हिराइनलाई मात्र होइन, निर्माता, निर्देशक तथा कोरियोग्राफरलाई पनि बोलाएको छ। यसमा राजनेताको पनि नाम रहेको छ। फेक फलोअर्सलाई इन्स्टाग्रामको भाषामा ‘बुट्स’ भन्ने गरिन्छ। 

इन्डियन आइडलमा सहभागी भूमि त्रिवेदीले आफ्नो नाममा नक्कली अकाउण्ट निर्माण भएको उजुरी प्रहरीमा दर्ता गराएपछि मुम्बई पुलिस सक्रिय भएको हो। गृहमन्त्री अनिल देशमुखले पनि यो मुद्धामा छानवीनको आदेश दिइसकेका छन्। 

मुम्बई प्रहरीका ज्वाइन्ट कमिशनर विनय कुमार चौबेले छानवीनका क्रममा नक्कली फलोअर्स बढाउने खेलमा ५४ फर्महरू सक्रिय भएको बताएका छन्। उनले साइबर सेलको सहयोगले छानवीन भइरहेको बताए।

यस मुद्दामा अभिषेक नाम गरेका एक व्यक्ति पक्राउ परेको पनि बताइएको छ। छानवीनका लागि फ्रान्सबाट पनि यस्तो काम गर्नेको डिटेल माग गरिएको प्रहरीले बताएको छ। उनका अनुसार ‘फलोअर्सकार्ट डट कम’ बाट सेलिब्रिटीले नक्कली फलोअर्स खरिद गर्ने गरेका छन्। यसका लागि फ्रान्स सरकारसँग सहयोग माग गरिएको उनले बताए।

प्रकाशित मिति: : 2020-08-07 15:37:48

प्रतिकृया दिनुहोस्