नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २२ प्रतिशतले घट्यो

नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा २२.६४ प्रतिशतले घटेको छ। बैंकले गत आर्थिक वर्ष २०७६/७७ मा दुई अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्षमा बैंकको नाफा तीन अर्ब ३२ करोड रुपैयाँ थियो। बैंकले बिग्रिएको एउटा ठूलो कर्जा सल्टाउँदा पनि बैंकको नाफामा सुधार देखिएन। सेयरधनीलाई वितरण योग्य मुनाफा भने ६५ करोड २३ लाख रुपैयाँ मात्रै छ।

कोभिड १९ को कारणले कर्जा उठ्न नसक्दा बैंकको खराब कर्जा थप ०.१३ प्रतिशतले बढेको छ। बैंकको खराब कर्जा २.९१ प्रतिशत छ। खुद ब्याज आम्दानी ६.६९ प्रतिशतले घटेको छ। गत वर्ष बैंकले ५ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।

बैंकले ११ प्रतिशतले निक्षेप बढाउदा कर्जा विस्तार भने १० प्रतिशत मात्रै छ। बैंकले एक खर्ब ६६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर एक खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। 

सञ्चालन खर्च ७.७२ प्रतिशतले घटाएको छ। यस्तो खर्च एक अर्ब ४२ करोड रुपैयाँ छ। शुल्क तथा कमिसन आम्दानी ४ प्रतिशतले बढेर एक अर्ब ५१ करोड रुपैयाँ छ।

प्रकाशित मिति: : 2020-08-14 12:10:01

प्रतिकृया दिनुहोस्