शेयरबजारमा सामान्य ‘करेक्सन’ नाफा सुरक्षित गर्ने हावी देखिँदा नेप्सेमा उतारचढाव

बिएल संवाददाता

काठमाडाै‌ं

माघ लागेपछि लगातार बढिरहेको सेयर बजारमा मंगलबार सामान्य 'करेक्सन' भएर बन्द भएको छ । नेप्से सूचक ५.५७ अंकले घटेर २३२६.९० विन्दुमा अडिएको हो ।

मंगलबार बजार केही अस्थिर देखिएको छ । कारोबार अवधिभर नेप्से सूचक पटकपटक तलमाथि गरिरह्यो । यसअघि लगातार बढेको बजारमा कतिपय नाफा बुक गर्नेहरु पनि सक्रिय हुँदा सूचक केही अस्थिर भएको अनुमान गरिएको छ । 

बजारमा अहिले बजारमा पर्याप्त क्रेता पनि आएका छन् । नाफा बूक गर्न चाहनेहरु बेच्न सक्रिय छन्, नयाँ क्रेताले किनिरहेका पनि छन् । सोही कारण सजिलै किनबेच भइरहेको छ ।

क्रेता र बिक्रेता दुवै पक्ष हावी हुँदा कारोबार रकम औसतमा निकै राम्रो रहेको छ । मंगलबार खरिदबिक्री रकममा निकै तेजी आएको छ । २०६ कम्पनीको ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ६३ लाखभन्दा बढी कित्ता कारोबार भएको छ । कारोबार भएकामध्ये ३ समूहको सूचक वृद्धि भएको छ भने बाँकी तल झरेका छन् ।

कारोबार रकममा देखिएको वृद्धिले भने लगानीकर्तालाई उत्साहित बनाएको छ । बजारमा अल्पकालीन लगानीकर्ता जतिबेला पनि सक्रिय रहेका हुन्छन् । उनीहरु आफ्नो योजनाअनुसार निश्चित प्रतिशत नाफा भएपछि बूक गर्छन् ।

फाइनान्स र जीवन बिमा समूह बढी वृद्धि भएको छ । ८ कम्पनीको भाउ ९% भन्दा धेरैले वृद्धि भएको छ । खरिदबिक्री रकममा नेपाल लाइफ इन्सुरेन्स अग्रस्थानमा रहेको छ । यसको ९१ करोड ९७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा प्रभु बैंक र तेस्रोमा पुनर्बिमा कम्पनी परेका छन् ।

प्रकाशित मिति: : 2021-01-19 16:24:00

प्रतिकृया दिनुहोस्