पहिरामा परी तीनको मृत्यु ः पुष्पलाल लोकमार्ग अवरुद्ध

रासस

बागलुङ

निसीखोला गाउँपालिकाका विभिन्न ठाउँमा गए राति गएको पहिरामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वडा नं ५ का १४ वर्षीय वीरेन्द्र विक, सोही ठाउँका ६ वर्षीय  प्रवेश विक र वडा नं ३ की ६० वर्षीया बली विक  छन्। 

घरमाथिबाट खसेको पहिरामा पुरिएका तीनै जनालाई मृतावस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले जानकारी दिए। 

मृतक वीरेन्द्र स्थानीयवासी हिरा विक र प्रवेश दिलसरा विकका छोरा हुन्। साठी वर्षीया  बली ठुच्चे विककी श्रीमती रहेको प्रहरीले जनाएको छ। त्रिपन्न वर्षीया दिलसरा सामान्य घाइते भएपछि स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। पहिरो गएको खबर पाउनासाथ प्रहरी र स्थानीयवासी उद्धारमा जुटेका थिए। अहिले इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट गएको प्रहरी टोली पनि घटनास्थल पुगेको छ। अविरल वर्षासँगै खसेको पहिराले निसीखोलामा पर्ने मध्यपहाडी पुष्पलाल लोकमार्ग पनि अवरुद्ध भएको जनाइएको छ। 
 

प्रकाशित मिति: : 2020-08-15 14:42:28

प्रतिकृया दिनुहोस्