नयाँ प्रविधिको उपयोग गरी गाईबाच्छा बचाइँदै

रासस

काठमाडौँ 

दुर्घटनामा परेका, विविध रोगव्याधि लागेका र तागत नभएका कारण बसेका ठाउँबाट उठ्न नसक्ने असहाय गाईबाच्छा बचाउन विशेष उपकरणको प्रयोग हुन थालेको छ। विभिन्न समस्याका कारण जीवन जोखिममा परेका गाईबाच्छा सामान्य तरिकाबाट जोगाउन असम्भव हुन थालेपछि उपकरण प्रयोगमा ल्याइएको छाडा गाईबाच्छ संरक्षण अभियानका अभियानकर्मी उत्तम पुडासैनीले राससलाई जानकारी दिए।
 
आफ्नै शरीर भारी भइसकेका अवस्थामा त्यस्ता अधिकांश गौप्राणी मर्न थालेपछि  अभियानकर्मी भगवान् पुडासैनीको विशेष निगरानी र पहलमा अशक्त गाईबाच्छालाई उभ्याउन सक्ने एवं उठाउन मिल्ने विशेष उपकरण तयार गरिएको उनले बताए। संविधानले राष्ट्रिय जनावरको मान्यता दिए पनि उपकरणका अभावमा गाईबाच्छा बचाउन कसैले पहल गरेको थिएन।
 
घिर्नीको सहयोगबाट ६०० किलोसम्मको गाईबाच्छालाई उठाएर राख्न सकिने उपकरण गोठाटारमा सञ्चालित असहाय गाईबाच्छा संरक्षण अभियानमा नौलो प्रयोगका रुपमा प्रस्तुत गर्न थालिएको छ।
 
यसको सफल प्रयोगपछि काठमाडौँ उपत्यकाभित्र दुर्घटनामा परेका एवं अशक्त धेरै बाच्छाबाच्छीले जीवन पाउने विश्वास गरिएको छ। करीब रु ३५ हजारमा निर्मित उपकरण बनाउन कागेश्वरी मनोहरा नगरपालिका–४ डाँछी निवासी सुन्दरराज पुडासैनीले रु पाँच हजार सहयोग गरेका थिए। 
 
यसैगरी असहाय गाईबाच्छा संरक्षणका लागि एक व्यक्ति एक दिन अभियानअन्तर्गत वर्षमा एक दिन विशेष अवसरमा औषधोपचार र भोजन व्यवस्थापनमा आउनेको पनि भीड लाग्न थालेको छ। केदार सञ्जेल आफ्नी छोरीको पुण्यतिथिका अवसरमा गाईबाच्छालाई सहयोग गर्न आज संरक्षणस्थल पुगे।
 
बहिनीको पुण्यतिथिका अवसरमा यानप्रसाद अधिकारीले असहाय गाईबाच्छाका लागि योगदान गर्ने प्रतिबद्धता जनाएका छन्। यसैगरी धेरै व्यक्तिले सहयोगको वाचा गरेको अभियानले जनाएको छ। 
 
असहाय बाच्छाबाच्छी संरक्षण अभियानका लागि बौद्धस्थित भेटरान क्लबका तर्फबाट खाद्यान्न उपलब्ध भएको छ। यस्तै अभियानकर्मीका सहयोगमा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको उत्तरी भेगस्थित वाग्मती किनार र गोठाटारमा रहेको पशुपति क्षेत्र विकास कोषको जग्गामा करीब २०० असहाय गाईबाच्छा संरक्षण गरिएको छ।
 
राजधानीमा गाईपालकले बाच्छा जन्मिए केही महिनामै सडक, मन्दिर वा नदी किनारमा छाडिदिने गरेका छन्। गौपालकले गर्ने यस्ता कुकृत्य रोक्न कुनै पनि स्थानीय तहले पहल गरेका छैनन्।
 

प्रकाशित मिति: : 2020-08-15 15:18:50

प्रतिकृया दिनुहोस्