परिश्रमी पुस्ता 

कोरोना महामारीले कतारबाट फर्किएर कृषिकर्ममा

ममता भट्ट

डडेल्धुरा

इच्छा शक्ति भए न रोजगारीका लागि विदेश जानुपर्छ, न त धेरै पढ्नु नै पर्छ। परिश्रमको बलमा फल प्राप्त गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन्– डडेल्धुराको अजयमेरु गाउँपालिका –२ चमडाका रोजेन्द्र ओझा।

आफ्नो खेतबारी बाँझै राखेर पैसा कमाउने आशमा विदेश गएकोमा उनलाई अहिले पश्चात्ताप हुन थालेको छ।

डडेल्धुराको अजयमेरु गाउँपालिका–२, चमडाका युवक हुन्– रोजेन्द्र ओझा। कोरोना भाइरस संक्रमणको जोखिम निम्तिएपछि कतारमा एक कम्पनीमा कार्यरत ओझालाई दुई महिना कामबिहीन भएर बस्नुप-यो।

कोरोना महामारीबीच नेपाल फर्किन पनि उनले हवाईजहाजको चर्को भाडा तिर्नुपरेको थियो। उनी जसोतसो ज्यान जोगाएर घर फर्किएका थिए।

विदेशमा पाएको दुःखलाई सम्झेर अहिले आफ्नै ‘माटोमा सुन फलाउँछु’ भन्ने दृढ अठोट साथ उनी तरकारी खेतीमा जुटेका छन्।

‘विदेश जानुको साटो त्यति बेलादेखि आफ्नै बारीमा पसिना बगाएको भए अहिले करोडपति हुन्थेँ’, विदेश गएकोमा पश्चात्ताप मानिरहेका उनले कतारमा भोगेको कष्ट सुनाए, ‘जब कयाैँ दिन भोकै बस्नुप-यो, कसरी आफ्नो ठाउँ पुग्ने भन्दै रातदिन रुनुप-यो।’

महामारीले आफूलाई कर्म गर्ने बाटो देखाएको बताउँदै उनले भने, ‘जीवन नै परिवर्तन ग-यो। अहिले आफ्नै गाउँघरमा परिवारसँगै बसेर खेती गरिरहेको छु। विदेशको भन्दा बढी आम्दानी गरिरहेको छु। उनले भने, ‘विदेशमा गर्ने परिश्रम आफ्नै गाउँघरमा गरे सुन बर्सिन्छ।’

कोरोना भाइरसको महामारीले गर्दा आफ्नो मातृभूमि फर्केका युवा अहिले आफ्नै गाउँमै रोजगारीको वातावरण सिर्जना गर्न मात्रै नभई कृषि पेसाबाट गाउँलाई अर्थतन्त्रमा अब्बल बनाउन जागरुक बन्न थालेका छन्।

विभिन्न ठक्कर खाएर बाहिरी मुलुकबाट फर्केपछि कृषिबाटै समृद्धिको सपना देखेर युवाहरु कृषि पेशामा आकर्षित बनेको अहिले धेरै ठाउँमा देख्न सकिन्छ।

रोजेन्द्र कतारमा रहँदा मासिक १२–१३ सय ‘कतारी दिराम’ मा काम गर्थे। त्यहाँसम्म जाँदा पनि यहाँ भनिएजस्तो काम पाएका थिएनन्।

रोजेन्द्रले सुनाए, ‘विदेशमा काम गर्ने कामदारका कथा–व्यथाहरु सबैका पक्कै आ–आफ्नै हुन्छन, सजिलो यात्रा त कमैको होला। ‘यसैमा मेरा पनि केही तिता अनि केही मीठा पनि थिए।’

कोरोना भाइरसले संसारलाई नै आक्रान्त पारिरहेको बेलामा कतार पनि अछुतो रहने कुरा नै भएन। कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने भन्दै कतार सरकारले लकडाउन सुरु गरेको थियो।

कामबाट एकाएक निकालिएपछि रोगबाट भन्दा पनि भोकबाट आगामी दिन पराइको भूमिमा कसरी दिन कटाउन सकिएला भन्ने चिन्ताले पिरोल्न थाल्यो।

‘हामी जस्तो मजदुरी गरीखाने मान्छेलाई पराईको भूमिमा अब कसले हेर्ने, कसरी दिन कटाउने र कसरी नेपाल फर्किने भन्ने चिन्ताले रात दिन सताउन थाल्यो,’ उनी सम्झन्छन्।

कयौँ दिन भोकै बितेपछि अब जसरी पनि नेपाल फर्किनुपर्छ भनेर निधो गरे। १२ कक्षा पास गरेका ओझा एक वर्ष जति वाह्य मुलुक बसेर बल्लतल्ल ज्यान जोगाएर स्वदेश फर्किए।

उनी अहिले भने कृषि कर्ममा रमाइरहेका छन्। आर्थिक अवस्था कमजोर भएकै कारणले उनी विदेश पलायन भएको सुनाउँछन्। विदेशमा राम्रो कमाइ गरेर बाल–बच्चालाई पढाउने सपना बोकेका उनी झन् समस्यामा परेर स्वदेश फर्किए।

पराईको भूमिभन्दा आफ्नै ठाउन्मा केही गर्ने निधो गरेर उनले अहिले आफ्नो बारीमा टमाटर, काँक्रा, करेला, सिम्लालगायत लहरेबालीहरू लगाइरहेका छन्। मासिक १५–२० हजार आम्दानी गरिरहेका छन्। ६ जनाको परिवार उनको यहि पेशाबाट धानिएको छ।

बाली लगाउन भदौ–असोजदेखि सुरु गरेको बताउँछन्। अहिलेसम्म उनले १८÷२० क्विन्टल गोलभेंडा बिक्री गरिसकेका छन्। आगामी दिनमा पनि कृषिलाई नै अँगाल्ने सुनाउँछन्।

अहिले विदेशबाट फर्किएकाहरुलाई स्थानीय सरकारले पनि व्यावसायिक रुपमा बाख्रापालन, कुखुरापालन, तरकारी खेती, च्याउ खेती लगायत उद्यमहरु गर्नतर्फ उत्प्रेरित गरिरहेको पनि आफूजस्ता अन्य युवाहरुलाई व्यवसायिक बन्न सहज भएको उनको भनाइ छ। 

प्रकाशित मिति: : 2021-03-22 18:54:00

प्रतिकृया दिनुहोस्

ट्रेन्डिङ